ताम्बा दर्शनमा ‘सा’ अर्थात् भूमिको महत्व – अमृत योन्जन तामाङ
तामाङ भाषामा “सा” शब्दको अर्थ भूँइ, जमिन, भूमि, धर्ती र पृथ्वी हुन्छ । तामाङहरुले भूमिलाई अत्यधिक महत्व दिएको पाइन्छ। सा शब्द जोडिएर केसा (जन्मस्थान वा जन्मभूमि), दिम्सा (घरबारी), खिम्सा (छरछिमेक), नाम्सा (गाउँ), ह्युल्सा (देश÷राष्ट्र), दुर्सा (शोकभूमि, चिहान) बनेको छ। यसरी ठुङ्सा (उत्पत्ति स्थान), बाबासा (पुर्खाको भूमि) जस्ता शब्द पनि प्रयोगमा छन्। धर्तीलाई साजाम्बुलिङ शब्दको पनि प्रयोग हुन्छ। तामाङको दृष्टिमा मानिस जन्मदेखि मुत्युपर्यन्त भूमिसँग सम्बन्धित हुन्छन् र मृत्युपछिको स्थायी बसोबास स्थल दुर्सा हो।
तामाङ चिन्तनमा दुर्सा (दुः- दुख, शोक र सा- भूमि) अर्थात चिहानलाई शोकभूमिको रुपमा हेर्दछ। ‘दु पुइबा’ शोक बोक्नु पनि राम्रो मानिदैन।
छुकछुके केटाकेटीलाई गाली गर्दा आइसे साप्रा चाबा ताजि? (तैले माटो खाने भइस् अर्थात् तँ मर्ने भइस्) जस्ता शब्दावलीको प्रयोग गरिन्छ। यसले मानिसको मृत्युपछि माटो (भूमि) बन्ने दृष्टिकोण बोक्दछ। यस्र्त यस जातिमा चित्तामा लासलाई साप्रा पिन्बा (माटो दिने) लोकपरम्परा छ। साप्राको अर्थ भूमिको धुलो अर्थात् माटो हुन्छ। यस अवसरमा लामा पुरेतद्वारा सा–क्युइ–मे–लुङ (भूमि, पानी, आगो र हावा)को प्रार्थना हुन्छ र मलामी सबैले लासलाई माटो दिनु पर्दछ। मानव शरीर यिनै चार तत्वले बनेको हुनाले र पुनः तिनै तत्वमा पुनर्मिलन होस् भनेर माटो दिने गरेको हो (भट्टराई, ई. १९९९ः६४५)।
यसै गरी कुनै धार्मिक कार्य सम्पन्न गर्न भूमिलाई शुद्ध पार्ने विधि हो सालाङ। कुनै धार्मिक कार्य प्रारम्भ गर्नु अगाडि यो कार्य गर्नु पर्दछ। यसपछि मात्र डाजाङ (मञ्च) बनाउने वा अन्य कार्य गरिन्छ।
यसरी तामाङ जीवन दर्शनमा सा सर्वव्यापक छ। जन्मदेखि मुत्युपर्यन्त साको परिछाँया सर्वत्र व्याप्त देखिन्छ । सा शब्दले तामाङ पहिचानको चिन्तनलाई उजागर गरे जस्तै ग्ला (ठाउँ, स्थान, स्थल) शब्दले जीवनयापनको पद्धति बोक्दछ। सा पहिचानसँग सम्बन्धित छ भने ग्ला दैनिक जीवनयापन अर्थात् उपभोगसँग सम्वन्धित छ। ग्लाको मुख्य स्रोत सा हो। सा सर्वव्यापक छ र ग्ला (स्थान) सा को अंश हो र सिमित छ। सा जाति वा सामुदायिक वा संसारिक हुन्छ, ग्ला व्यक्तिगत वा पारिवारिक हुन्छ। तामाङ जातिले सारा मानवको लागि सा र ग्ला अर्थात् भूमि र स्थानभन्दा बाहिरको जीवन कल्पना गरेको पाइँदैन। तामाङको लागि आगो, हावा, पानी जस्तै भूमि पनि चरम सत्य (Ultimate Truth) हो। ऊ भूमि बिनाको जीवन सम्भव देख्दैन। यसरी तामाङ दर्शनमा साको तत्वशास्त्रीय महत्व छ।
“सा” सँग यति धेरै गाँसिएको र चिन्तन अन्य गैरआदिवासी भाषामा पाइदैन। यसैको आधारमा तामाङ जाति “आदिवासी” समुदायको रुपमा देखा पर्दछ।