मलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु आवश्यक छैन -बाबुराम भट्टराई

काठमाडौं- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने बताएका छन्। आफ्नो रगतमै देशभक्ति भएको उल्लेख गर्दै उनले भने, ‘मलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु आवश्यक छैन।’
काठमाडौंमा शुक्रबार भएको ‘वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा संयोजक भट्टराईले पुर्खाहरुले देशको लागि लडेको स्मरण गर्दै आफ्नो रगतमै देशभक्ति र स्वाधीनता रहेको बताए।
उनले अहिलेका शासकहरुले पञ्चायती शैलीमा नै देशभक्तहरुलाई अराष्ट्रवादीको ट्याग लगाइदिने गरेको आरोप लगाए। पञ्चायतको समयमा तत्कालीन कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तत्व भन्ने गरेको र अहिले प्रगतिशील राष्ट्रवादको कुरा गर्दा आफूहरुमाथि वामपन्थको खोल ओडेकाहरुबाट नै अराष्ट्रवादीको आरोप लाग्ने गरेको उल्लेख गर्दै उनले आफूलाई कसैले राष्ट्रवादीको सर्टिफिकेट दिनु नपर्ने बताएका हुन्।
नक्कली राष्ट्रवाद भन्दा छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने र नेपाललाई दुई विशाल अर्थतन्त्रको बीचमा गतिशील पुल बनाउनुपर्ने संयोजक भट्टराईले बताए। उनले अन्तरनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए।
उनले वामपन्थी भनिएकाहरु व्यक्तिगत स्वार्थ, भ्रष्टाचार तथा बेथितीमा लिप्त भएकाले आफूले पुरानो पार्टी छोडेको स्पष्ट पारे। अब हिजोको मानसिकताबाट माथि उठेर नयाँ शक्ति नेपालले वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने उनले बताए।
संयोजक भट्टराईले भूकम्पपछिको पुन:निर्माण र नवनिर्माणको आशा वर्तमान सरकारबाट गर्न नसकिने बताए। भूकम्प गएको एक वर्ष बित्न पुग्न लागेको बेला भूकम्पपीडितहरु अहिले पनि च्यातिएको त्रिपालमुनी नै बस्नुपरेको लाजमर्दो स्थिति रहेकोले वर्तमान सरकारबाट पुन:निर्माण र नवनिर्माणको कार्यभार पूरा हुन नसक्ने बताए।
कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले संविधान लेखिए पनि त्यसको कार्यान्वयन नभएको बताए। राज्यविहिनताको अवस्था रहेको उल्लेख गर्दै उनले यो अवस्थालाई तत्काल अन्त्य गर्नुपर्ने बताए। बाबुराम भट्टराईले जनयुद्ध र संविधानसभा दुबैमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै नेता गिरीले समृद्धिको अभियानमा पनि नेतृत्व लिनुपर्ने बताए। तर एक्ला बाबुरामले मात्रै सम्भव नहुने भन्दै उनले सबैको साथ र सहयोग रहनुपर्ने बताए। त्यस्तै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले व्यंग्यात्मक शैलीमा घरघरमा ग्याँस भएको, मधेशमा आन्दोलन नभएको, महंगी र कालोबजारी नभएको बताउँदै सरकारको आलोचना गरे।