एमालेमा खुल्यो राजनीतिक नियुक्तिको अवसर
१७ कात्तिक, काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहकार टिमका साथै महत्वपूर्ण राजनीतिक नियुक्तिका बारेमा एमालेमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले महासचिव ईश्वर पोखरेलसँग यसबारे अलग्गै छलफल गरेका छन् । राष्ट्रपति विद्या भण्डारीको राजनीतिक, कानुनी र प्रेस सल्लाहकार नियुक्तिका लागि पनि पार्टीले नै व्यक्ति सिफारिस गर्ने एमालेको तयारी छ ।
‘राष्ट्रपतिले आफूलाई अनुकुल हुने व्यक्ति छनौट गर्ने हो, उहाँले आवश्यकता ठानेमा सिफारिस गर्न सकिन्छ’ एक नेताले भने । राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा मदन भण्डारी फाउन्डेशनका सचिव भेषराज अधिकारी नियुक्त भइसकेका छन् । उनी अनेरास्ववियुका पूर्वसचिव हुन् ।
विद्या भण्डारी सांसद हुँदादेखिकै स्वकीय सचिव शिव भट्टराई पनि राष्ट्रपतिको सचिवालयमा रहनेछन् । त्यस्तै प्रेस सल्लाहकारमा लामो समयदेखि विद्या भण्डारीको मिडिया सहयोगीका रुपमा कार्यरत सुवास देवकोटाको नाम पनि लिइएको छ । यद्यपि राष्ट्रपतिको प्रेस सल्लाहकार बन्न गोरखापत्रका पूर्वसम्पादक बिजय चालिसे र कुन्दन अर्यालले पनि लबिङ गरिरहेका छन् ।
प्रधानमन्त्रीका सल्लाहकारमा को-को ?
प्रधानमन्त्रीको सचिवालयमा प्रेस सल्लाहकार र स्वकीय सचिव बाहेक अरुको नियुक्ति भएको छैन । प्रेस सल्लाहकार प्रमोद दाहाल नियुक्त भइसकेका छन् भने प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी र स्वकीय सचिवमा रमेश आचार्य,राजेश बज्राचार्य नियुक्त भइसकेका छन् ।
प्रधानमन्त्री ओलीको विदेश मामिला सल्लाहकारमा संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमलाई नियुक्त गर्न लागिएको एमाले स्रोतले जनाएको छ । विदेश मामिला सल्लाहकार बन्न एमालेका युवा नेता युवराज बास्कोटाले पनि चाहेका छन् । उनी भारत प्रवासको राजनीतिमा संलग्न छन् ।
त्यस्तै प्रमुख राजनीतिक सल्लाहकारमा प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालको नाममा छलफल भएको छ ।
नेपाल राष्ट्र वैंकका पूर्वगभर्नर युवराज खतिवडाले पनि एमाले नेतृत्वको सरकारमा नयाँ जिम्मेवारी पाउने निश्चित छ । उनलाई आर्थिक सल्लाहकार वा पुननिर्माण प्राधिकरणको प्रमुखमध्ये एउटा जिम्मेवारी दिइने स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार पनि नियुक्त गरिने र उपयुक्त व्यक्ति छनौट हुन लागेको ओली निकट नेताले बताएका छन् । कतिपयले उनलाई सुरक्षा सल्लाहकार पनि राख्न सुझाएका छन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भने डा.पुष्प कँडेललाई नियुक्त गर्ने मनसाय ओलीले व्यक्त गरेका छन् । एमालेको केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष रहेका डा. कँडेल अर्थ विज्ञ हुन् ।
मन्त्रिपरिषद विस्तार सकिएपछि सल्लाहकार नियुक्ति हुने भएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकार टिममा काम गर्नका लागि एमालेका नेता कार्यकर्ता र एमाले निकटका विज्ञहरुले लबिङ तीब्र पारेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्रीसहित एमालेको नेतृत्वमा सरकार बनेकाले यसपटक एमालेले धेरै नियुक्तिहरुको अवसर पाएको छ । उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिलाई कामको जिम्मेवारी दिइने महासचिव पोखरेलले बताएका छन् । यो सरकारले करीव एक दर्जन मुलुकमा राजदूत समेत नियुक्त गर्नेछ ।