ताम्सालिङ स्वायत्त प्रदेश कसरी स्थापना गर्ने ?

सर्वहारावर्गको अग्रदस्ता एकीकृत नेकपा (माओवादी) ले सञ्चालन गरेको दसवर्षे महान् जनयुद्धको विकाससँगै स्थापना भएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दसवर्षे जनयुद्धमा सक्रिय सहभागिता भई शान्ति प्रक्रियाको दस वर्षको गम्भीर राजनीतिक संकटबाट गुज्रँदै आएको वर्तमान परिस्थितिमा मोर्चाले विभिन्न जातीय मुक्ति आन्दोलन र समानुपातिक समावेशी अधिकारको आन्दोलनभित्र देखापरेका अन्य जातिवादी, जातीय संकीर्ण अहंकारवादी सोच र चिन्तनको वैचारिक एवम् राजनीतिक रूपले प्रतिवाद गर्दै आएको कुरा सबैमा जगजाहेर भएको कुरा हो ।
जनयुद्ध र शान्तिपूर्ण आन्दोलनबाट स्थापित राजनीतिक मूल्य र मान्यताका संथागत गर्नुपर्ने चुनौती यतिखेर मोर्चासामु खडा भएको छ । यो जातीय समस्याजस्तो देखिए पनि वर्गीय राजनीतिक समस्या नै हो भन्ने कुरामा मोर्चाले सैद्धान्तिक रूपमा स्वीकार गर्दै अब तामाङ जातिको मुक्तिका लागि सर्र्वहारावर्गीय आन्दोलनसँग एकाकार गरेर लैजाने र त्यसको नेतृत्व गर्ने कार्यभार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको काँधमा आएको छ ।
वर्गसंघर्ष यतिबेला सम्झौता र विजयको शृंखला खडा गर्दै नयाँ रणनीति विकास गरी समाजवादी रणनीतिको चरणमा प्रवेश गरेको ऐतिहासिक रूपले पुष्टि भएको छ । यसको ज्वलन्त उदाहरण भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायमा समानुपातिक समावेशीसहितका महत्वपूर्ण उपलब्धि संस्थागत भएको छ । प्राप्त उपलब्धिको कार्यान्वयन र थप उपलब्धि हासिल गर्नका निम्ति मोर्चालाई अतिजातिवादी कोणबाट जोगाउँदै सर्वहारावर्गको अग्रदस्ता एकीकृत नेकपा (माओवादी)ले उठाएको समाजवादी क्रान्तिको रणनीति मुताविक संगठनलाई सशक्त, जुझारु बनाउनुबाहेक हाम्रोसामु अरू उपाय र आधार छैन । संविधान निर्माणसँगै देखापरेको पुरानो सामन्तवर्गको मनोगत प्रचार र अतिजातिवादीले दलाल, नोकरशाही पुँजीवादीको आडमा गरेको कथित जातीय आन्दोलनबाट तामाङ समुदायमा पर्न सक्ने भ्रम चिर्दै उत्पीडित जातिलाई राजनीतिक रूपले आफ्नो मुक्तिका लागि आफँै सचेत गराउनुको विकल्प छैन ।
त्यसका लागि हामीसँग भएको प्रादेशिकतावादलाई त्याग्दै माओले भन्नुभएजस्तै हामीलाई हाम्रो प्रदेश चाहिन्छ तर प्रादेशिकतावाद होइन भन्ने कुरामा हामी सचेत हुन आवश्यक छ । ताम्सालिङ प्रदेशको कुरा गर्दा हामी कतिपय अवस्थामा ताम्सालिङवादी भएका छौँ । जसकारण प्राप्त उपलब्धिसमेत गुम्दै आएको छ । क्रमशः हाम्रा एजेन्डा साम्प्रदायिकतामा टुंगिने गम्भीर खतरा छ । त्यसलाई चिर्दै प्रादेशिकतावाद होइन, समाजवादी रणनीतिलाई दह्रोसँग पक्डँदै तामाङ समुदायलाई समाजवादी क्रान्तिको रणनीतिअनुरूप सर्वहारावर्गको वैचारिक नेतृत्वमा संगठित गर्नुको विकल्प छैन ।
खास जातीय अहंकारवादको विरोध गर्दा स्थानीय जातिवादी हुने प्रवृत्तिविरुद्धमा संघर्ष गर्न पनि समाजवादी क्रान्तिको रणनीतिक लक्ष्यवरिपरि संगठित हुन आवश्यक छ । त्यसो हो भने जातीय मुक्ति आन्दोलनभित्र अन्धजातिवादको समस्या रहे पनि उच्चजातीय अहंकारवादी समस्या प्रमुख हो भन्ने कुरामा मोर्चा र उत्पीडित जाति, समुदायले सैद्धान्तिक रूपमा स्वीकार गर्दै आत्मनिर्णयको अधिकारको पक्षमा राजनीतिक जागरण ल्याउने नेतृत्व मोर्चाले गर्नुपर्छ ।
उत्पीडक जाति समुदायबाट आएको मजदुर र उत्पीडित जातिको मजदुरबीचको एकताले मात्र आन्तरिक राष्ट्रियताको रक्षा र प्रयोग गर्न सकिन्छ भन्ने लेनिनवादी सिद्धान्तलाई आत्मसात् गर्नु भनेको ताम्सालिङ प्राप्तिसहितको समाजवादी क्रान्तिको तयारीमा उभिनुको कुनै गुञ्जायस छैन । मोर्चासामु ताम्सालिङ प्राप्ति आन्दोलनको राजनीतिक र वैचारिक तयारीका साथ–साथै सर्वहारावर्गको अग्रदस्ता पार्टी एकीकृत (नेकपा) माओवादीले निर्धारण गरेको समाजवादी क्रान्तिको रणनीतिलाई उत्पीडित जातिको आत्मनिर्णयको अधिकार प्राप्त गर्न रणनीतिका रूपमा तामाङ जातिको समुदायमा स्थापित गरेरमात्र ताम्सालिङ अथवा पहिचानको रक्षा गर्न सक्नेछ । जातीय मुक्ति आन्दोलनभित्रको दायाँ अति र बायाँ अतिबाट जोगाउँदै समाजवादी क्रान्तिको तयारीमा दृढसंकल्पसहित मोर्चा-संगठनलाई अगाडि लैजाने कार्यभार मोर्चाको काँधमा आएको छ । सोही विचार राजनीतिकअनुरूपको योजना, कार्यक्रम, क्षेत्रगत विशिष्टतामा ठोस गरी कार्यान्वयनमा जानुको विकल्प छैन ।
यसका लागि निम्नराजनीतिक योजना जिल्लादेखि गाउँतहसम्मका कार्यकर्तासामु सशक्त रूपमा लैजान आवश्यक छ ।
(१) नयाँ संविधानमा तामाङलगायत सबै उत्पीडित जाति÷समुदायले प्राप्त गरेको उपलब्धि र प्राप्त गर्न बाँकी मुद्दाबारे प्रशिक्षित पार्ने ।
(२) समाजवादी क्रान्तिको रणनीति र जातीय मुद्दाबारे प्रशिक्षित पार्ने ।
(३) आन्तरिक राष्ट्रियतालाई मजबुत बनाउन राष्ट्रियता, स्वाधीनता, जनजीविकाबारे प्रशिक्षित पार्ने ।
(४) अन्तक्र्रिया, गोष्ठी तथा छलफल कार्यक्रम प्रदेशको आफ्नो विशिष्टतामा ठोस गरी तत्काल कार्यान्वयनमा लैजाने ।
(५) साँस्कृतिक तथा भाषिक अधिकारलाई प्रदेशमा स्थापित गर्न राजनीतिक सचेतना जगाउने ।
उल्लिखित राजनीतिक कार्य सम्पन्न गर्न राजनीतिक रूपले मुद्दा मिल्ने राजनीतिक संगठन र सामाजिक संघ–संस्थालाई समेत परिचालन गर्ने भूमिका हाम्रो मोर्चाले निर्वाह गर्न तयार हुनुपर्छ । @ रातोपाटी |
– सुर्यमान दोङ ‘लालध्वज’