एसएलसी दिदै गरेकी छात्राले जङ्गलमा शिशु जन्माएर फ्याँकेपछि …

दोलखा-बुधबार बेलुकी करिब ५ बजेतिर जङ्गलमा फालिएको सालनालसहितको नवजात शिशु एसएलसी दिँदै गरेकी कक्षा १० की अविवाहित युवतीको भएको पुष्टि भएको छ।
एसएलसी दिएर फर्केकी एक विद्यार्थीले आफूले जन्माएको शिशु फालेकी हुन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार अहिले एसएलसी दिँदै गरेकी भीनपा–१० लेकटोलकी १८ वर्षीया प्रमिला विश्वकर्माले अवैध यौनसम्बन्धबाट जन्मिएको शिशु फालेको बताए। शिशुको शुक्रबार बिहान नै मृत्यु भइसकेको छ । अहिले सुत्केरी आमा प्रमिलाको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भइरहेको छ ।
प्रमिलालाई जिल्ला प्रहरी कार्यालय दोलखाले एसएलसी परीक्षा पनि उपचार गराइरहेको स्थलमा नै दिन लगाएको सुनुवारले बताए।
नवजात शिशुको जङ्गलमा फालेका कारण मृत्यु भएकाले प्रमिलालाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही चलाइने जानकारी उनले दिए।
बुधबार एसएलसीको परीक्षा सकेर प्रमिलाले जङ्गलमा आफूले जन्माएको बच्चा फालेकी थिइन् । स्थानीय जनताले जङ्गलमा झिँगा भन्किरहेको अवस्थामा जीवितै देखेपछि प्रहरीलाई खबर गरेको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएको हो। रासस