डेढ लाख तिरेर साउदी पुगेका सुरज दुई लाख तिरेर फर्किए
चैत २६– लाग्ने भन्दा दोब्बर तिरेर साउदी पुगेका कैलालीको चौमाला ९ का सुरज चौधरी अझै बढी तिरेर नेपाल फर्किनु पर्यो । एक लाख ५० हजार रुपैयाँ तिरेर दलाल मार्फत साउदी पुगेका सुरज तिनै दलाललाई दुई लाख रुपैयाँ बुझाएर घर फर्किनुभयो ।
गएको कातिक १८ गते सन्ना इन्टरनेशनल रिक्रुटमेन्ट सर्भिसबाट अढाई वर्षको करारमा गएका सुरज आफ्नो करार अवधिभर टिक्न सक्नुभएन ।
त्यहाँको मौसममा काम गर्न गाह्रो भयो । त्यहाँ पुगेको केहि समयमै बिरामी हुनुभयो । घाँटी दुख्ने समस्याले सतायो । काम गर्न नसक्ने भएपछि आफू गएको म्यानपावर र दलाललाई फोन गरेर नेपाल फर्काइदिन आग्रह गर्नुभयो । म्यानपावर कम्पनीले अहिले फर्काउन मिल्दैन भन्यो ।
तर दलाल मिनबहादुर चन्दले पैसा पाए सहयोग गर्ने बताए । सुरजलाई फर्काउन दलालले दुई लाख रुपैयाँ मागे ।ऋण काढेर गएका सुरजसँग त्यति पैसा हुने कुरै भएन । फेरि विदेशमा सुको हात लागेको थिएन । कामै गर्न नसकेपछि कसरी पाउने पैसा ?आइएमइ गरेर दुई लाख रुपैयाँ पठाइदिएमा तत्काल उद्धार थाल्ने दलाल मिनबहादुरले बताए । यो कुरा उहाँले श्रीमती भावनालाई सुनाइसक्नु भएको थियो । यति पैसा तिरेर तत्काल फर्किने सोच थिएन ।
तर श्रीमान परदेशमा विरामी परेको खबरले भावना आत्तिसक्नुभएकाे थियाे । जति पैसा परेपनि श्रीमानलाई तत्काल नेपाल फर्काउन चाहानुहुन्थ्याे । उहाँले दलाल मिनबहादुरलाई दुई लाख रुपैयाँ आइएमइ मार्फत पठाइदिनुभयाे । पैसा पाए तत्काल नेपाल झिकाउँछु भन्ने दलालले सुरजलाई लामो समय झुलाए । विदेशमा विरामी भएका सुरज झण्डै सात महिना पछि चैत ९ गते नेपाल फर्केको समाचार उज्ज्यालो अनलाइनमा छ |