उत्कृष्ट बालकथा सङ्ग्रह बजारमा

चैत्र २५, काठमाडौं ; बलबालिकाका लागि उपयोगी खुराकका रुपमा संकलन गरिएका उत्कृष्ट बालकथाहरु समेटिएको कृति ‘उत्कृष्ट बालकथा सङ्ग्रह–१’ सार्वजनिक भएको छ । गोपीकृष्ण ढुंगानाले सम्पादन गरेको उक्त उत्कृष्ट बालकथा संग्रहलाई ट्रिनिटी प्रकाशन प्रालि काठमाडौंले बजारमा ल्याएको छ ।
२५ जना नयाँ र पुराना बालकथाकारहरुका कथा समेटिएका छन् । कमला अत्रीको ‘अनिश र स्कुटी’, सुदर्शन अधिकारीको ‘असावधानीको परिणाम’, अधिकारी कुमार अनलको ‘आँखा’, पेशल आचार्यको ‘आँखामा जुको’, धनबहादुर थापाको ‘आँटिली लुम्सी र अल्छी झुम्से’, कार्तिकेय घिमिरेको ‘उड्ने डस्टरको कमाल’, छायादत्त न्यौपानेको ‘उपहार’, माधव सयपत्रीको ‘काँक्रो र फर्सी’, हरिहर तिमिल्सिनाको ‘गन्धे र बास्ने’, चन्द्रमा पौडेलको ‘चतुरे मुसो’, तिलकप्रसाद सापकोटाको ‘चरी र हरि’, ललिता दोषीको ‘जाल’ र वेदमणि घिमिरेको ‘नआत्तिने बानी’ शीर्षकका कथा कृतिमा समेटिएका छन् ।
यसैगरी, यशु श्रेष्ठको ‘पानीको डल्लो’, अमर न्यौपानेको ‘पाहुना’, जितेन्द्र रसिकको ‘पेन्सिलको अदालत’, शुषमा मानन्धरको ‘फाटेको जुत्ता’, श्रीबाबु कार्की उदासको ‘बाँदरको सल्लाह’, ऋषिराम पाण्डेको ‘मनिषा र पुतली’, शान्ता गौतमको ‘मुस्लेभूत र ममता’, रमेश गिरी आशाको ‘राजधानी सडक’, नरेन्द्रकमार नगरकोटीको ‘सबिनको खुसी’, सबनम थापा सुब्बाको ‘साथीको माया’, गोपीकृष्ण ढुंगानाको ‘सानो पत्रकार’ र शम्भु सुस्केराको ‘सेवा नै धर्म’ शीर्षकमा छन् ।
कृतिका सम्पादक ढुंगानाले बालबालिकाको समग्र विकासका लागि संग्रह उपयोगी हुने उल्लेख गर्दै यसका अन्य भागहरु क्रमश प्रकाशित गरिरहने जनाएका छन् । उनका अनुसार, कृतिका कतिपय कथाहरु बालमनोविज्ञानमा आधारित छन् भने कतिपय कथाहरु सामाजिक र सांस्कृतिक सन्दर्भका छन् । कृतिको आवरण र कथाहरुमा चित्र बनाउने काम प्रज्वल थापामगरले गरेका छन् ।
बालकथाकार तथा सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाको सम्पादनमा रहेको यो कृति बालबालिकाहरुले एकपटक पढ्नै पर्ने कृतिका रुपमा प्रकाशन गरिएको छ ।
आकर्षक आवरणमा रहेको यो बाल कथा सङ्ग्रह आवरणसहित १ सय १६ पृष्ठको । सम्पादक ढुंगानाले पुरानादेखि नयाँसम्मका बालकथाकारका बालकथा समेटेर क्रमशः अन्य अंकहरु पनि प्रकाशन गर्ने जानकारी दिए । कृतिको मूल्य ९५ रुपैयाँ रहेको छ ।