नयाँ शक्ति यूकेले लन्डनमा बिरोध प्रदर्शन गर्ने तयारी
लण्डन । ‘नेपालका भूकम्पपीडित बालबालिकाकालाई दासका रुपमा बेलायतमा बिक्री गरिएको’ भन्ने समाचार सार्वजनिक भएपछि देश विदेशबाट विरोध भइरहंदा यसबारे छानबिनका लागि दबाब बढाउने उद्धेश्यले नयां शक्ति अभियान यूकेले पनि लण्डनमा प्रदर्शन गर्ने भएको छ ।
लण्डनको मुटु मानिने ट्राफलगर स्क्वायरमा आउंदो आइतबार अप्रिल १० तारिखका दिन प्रदर्शनको तयारी गरिएको नयां शक्ति अभियान यूकेका संयोजक भोला खनालले जानकारी दिए ।
समाचारमा प्रकाशित विवरणबारे सत्यतथ्य पत्ता लगाउन र यदि समाचारको दाबी सत्य भए त्यसमा संलग्नलाई यथासक्य चांडो कानुनी कारबाही गर्न नयां शक्ति यूकेले माग गरेको छ ।
यो विषयमा बेलायत सरकारले अनुसन्धान अघि बढाइसकेको सन्दर्भमा त्यसमा सकारात्मक दबाब बढाउने उद्धेश्यले प्रदर्शनको योजना बनाइएको संयोजक खनालले बताए । दिउंसो २ देखि सांझ ५ बजेसम्म ट्राफलगर स्क्वायरमा भेला भएर प्लेकार्डहरुसहित शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी गरिएको छ ।
प्रदर्शनमा सहभागिताका लागि नयां शक्ति अभियान यूकेले बेलायतस्थित सम्पुर्ण नेपालीहरुमा आव्हान गरेको छ । यहांस्थित विभिन्न नेपाली संघसंस्थालाई पनि प्रदर्शनमा सहभागी गराउने पहल भइरहेको उनीहरुले बताएका छन ।