कोइरालालाई उम्मेद्वारी दिन भारतीय दूतहरूले उक्साएको केन्द्रीय सदस्यको आरोप
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदका लागि भारतीय दूतहरूले उक्साएको भरमा उम्मेदवारी दिएर गम्भीर गल्ति गरेको आरोप लगाएका छन्।
सभापति कोइरालाले आफ्नो पक्षमा उभिने विश्वासका साथ मनोनित गरेका केन्द्रीय सदस्यहरु श्याम घिमिरे, केशबकुमार बुढाथोकी समेतले कोइरालासहित शीर्ष तीन नेताको चर्को आलोचना गर्दै नेतृत्व छाडि अविभावकको भूमिका निर्वाह गर्न पनि सुझाव दिएका थिए।
संविधान निर्माण गरेलगत्तै आफूले पदबाट राजीनामा गर्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै बुढाथोकीले भने,‘सबैलाई मिलाएर संविधान जारी गरी प्रधानमन्त्री पदमा पुनः लड्न नहुने अवस्थामा भारतीय दूतहरुको घेराबन्दीका कारण सभापतिले उम्मेदवारी दिएर आफूसँगै सिंगो पार्टीको साखलाई धूलोमा मिलाउनु भयो।’
सभापतिले मनोनित गरेको व्यक्तिले सभापतिकै पक्षमा बोल्नु पर्ने ठानिएपनि आफ्नो विवेकले विपक्षमा बोल्दा सभापतिलाई राम्रो नलागे भोलिदेखि नै सदस्यबाट हटाइए पनि आफूलाई कुनै गुनासो नहुने बताए। बुढाथोकीले कोइरालाको चर्को आलोचना गरेका थिए।
‘वीपी कोइरालाको पालामा शूरू भएको संविधान सभाबाट संविधान बनाउने विषय सुशील कोइरालाले सफलतापूर्वक समापन गरी ठूलो उपलब्धी हाँसिल गरे पनि भारतीय दूतहरुको उक्साहटमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिएर आफूसँगै पार्टीलाई धूलोमा मिलाउनु भयो,’ बुढाथोकीले भने।
उनले भारतीय दूतहरु अहिले पनि कोइरालालाई घेरी केन्द्रीय समितिभित्रै बसेका भन्दै उनीहरुले संविधान जारी गरेपछि संविधानका पिता बन्ने मौका पाएका कोइरालाको नाक काटेको आरोप लगाए।
‘जसले प्रधानमन्त्री पदमा विना आधार उठाएर हराए तीनैले फेरि पार्टी महाधिवेशनमा सभापतिमा उठाइ हराउँदैछन्’, बुढाथोकीले भने, ‘अब सभापतिले पार्टीको अविभावक भएर बस्नुपर्छ।’
घिमिरेले प्रधानमन्त्री पदमा उम्मेदवारी दिएर मधेस विखण्डन हुनबाट जोगायौं भन्नु सरासर झुट भएको भन्दै नेतृत्वको कारण अहिले सिंगो पार्टी पंक्तिलाई भारतीय दलालको आरोप लागेको बताए।
शेखर कोइरालाले कांग्रेसले संविधानसभा निर्वाचन लगत्तै एमालेसँगको सहकार्य गर्नु हुँदैन भन्दा नमान्दाको परिणाम भएको बताए।
एमाओवादी र एमाले नेतृत्वबीच भएका गोप्य वार्ता र साँठगाँठको विषयमा पार्टीभित्र जानकारी गराउँदा त्यसबाट सजग हुनुको सट्टा आफूलाई उल्टै भारतीय एजेण्टको आरोप सामाजिक संजालमार्फत लगाइएको कोइरालाले बताए।
बालकृष्ण खाँणले जनताको अपेक्षा अनुसार संविधान बनाउदा कांग्रेसले तराई मधेस र अन्य असन्तुष्ट पक्षधरको माग सम्बोधनमा आफ्नो स्पष्ट धारणा बनाएर मुलुकलाई नेतृत्व दिनबाट कांग्रेस चुकेको दाबी गरेका थिए।
अन्तरिम संविधानमा संविधानसभाबाट नयाँ संविधान निर्माण गर्दा समानुपातिक प्रतिनिधित्वको लागि ६० र ४० प्रतिशतको आधारमा गरिएको भएपनि नयाँ संविधानमा पनि त्यहि आधारमा नयाँ संसदको गठनको व्यवस्था गलत भएको उनले बताएका थिए।
‘संविधान अनुसार भोलिका दिनमा पनि कोलियसन कल्चरकै आधारमा सरकार बनाउनु पर्ने अवस्थामा सबै भन्दा ठूलो दल कांग्रेस नै बाहिर बसेर रमाउनु मुलुक र पार्टीकै लागि पनि घातक छ,’ उनले भने।प्रतिपक्षमा बसेपनि कांग्रेसको समर्थन विना नयाँ संविधानमा आवश्यक संशोधन गर्न नसकिने अवस्थामा सरकारले सहमति गरी ल्याउने संशोधन प्रस्तावमा कांग्रेस लतारिएर जान नसक्ने उनले बताएका थिए।
तराईमधेसका जनताको माग सम्बोधन गर्न कांग्रेसले शीर्ष नेताबाहेक अन्य नेताको नेतृत्वमा आलग्गै वार्ता टोली गठन गरी मधसवादी दल र अन्य दलसँग वार्ता र सहमति गरी तत्काल समस्या समाधानको उपाय निकाल्नु पर्ने सुझाव उनले दिएका थिए।
प्रधानमन्त्रीको निर्वाचनमा सभापतिले विना तयारी उम्मेदवारी दिएर पराजित भएपछि सभामुखको पदमा उम्मेदवारी नदिइ एमाओवादीको उम्मेदवारलाई समर्थन गर्दै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई एमाओवादीले समर्थन गर्छ भन्ने विश्लेषण नेतृत्वले गर्नु पनि गलत भएकेा उनले दाबी गरेका थिए।त्यसैगरी प्रधानमन्त्रीको निर्वाचनमा मतदानमा सहभागी मधेसवादी दल राष्ट्रपतिको निर्वाचनमा नआउनुको जवाफ नेतृत्वले दिनु पर्ने माग पनि गरेका थिए।उनले नेतृत्वको कार्यशैली गलत भएको भन्दै अबका दिनमा उनीहरु आफैले त्यो गलत शैली नबदले कार्यकर्ताले बदल्ने चेताबनी पनि दिएका थिए।
कतिपय नेताहरुले संविधान निर्माण हुन नदिने तत्वको उक्साहटमा कोइरालाले उम्मेदवारी दिएको आरोप लागिरहेका बेला त्यसको प्रतिबाद गर्दै मिनेन्द्र रिजालले संविधान निर्माणको पक्षधर र विपक्षी भन्दा पनि एमाले परस्त हुने कि नहुने भन्ने विचको लडाईमा उम्मेदवारी दिएको दाबी गरेका थिए।
गुरु घिमिरे, कल्याण गुरुङ लगायत केही सदस्यले भने पार्टी सभापतिको उम्मेदवारीको बचाउ गर्दै लोकतन्त्रमा हारजित सामान्य रुपमा लिनु पर्ने धारणा राखेका थिए। झण्डै एकदर्जन सदस्यहरुले आफ्नो मन्तव्य राखेपनि अन्य बोल्न बाँकि सदस्यहरुको लागि बुधबार ११ बजेदेखि बस्ने बैठकमा बोल्न समय दिइने छ।