प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन

याम्बु – तामाङ पत्रकार संघका सल्लाहकार एवं पूर्वउपाध्यक्ष दीपेन्द्र दोङ तामाङको असामयिक निधन छ । तत्कालीन तामाङ सञ्चार समूहका संस्थापक सचिव (२०६१), महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएका दीपेन्द्र दोङ तामाङको दुई साताअघि ब्रेन स्ट्रोक भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत रहेकोमा चैत ११ गते निधन भएको हो ।
नेपाल समाचारपत्र, रेडियो सगरमाथा, रेडियो एचबिसी, टाइम्स एफएम, इमेज च्यानल, सिटिजन एफएम, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक, न्युज २४ टेलिभिजन, जनता रेडियोको स्टेसन मेनेजर, जनता टेलिभिजनमा एक्ज्युकेटिभ प्रोड्युसरका रुपमा काम गर्नु भएको थियो |
पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृत तथा सम्पादक (२०७९ माघ १ बाट), सरलरेखा डट कममा प्रधानसम्पादक रुपमा कार्यरत हुनुहुन्थ्यो । विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय तामाङले पत्रकारितामा स्नातक र समाजशास्त्रमा स्तानकोत्तर गर्नुभएको थियो ।
साहित्यमा कथा, गीत, गजल, कवितामा प्रशस्त कलम चलाउनुभएका उहाँको ‘नाम्सारी’ तामाङ उपन्यास(२०५९), ‘हिमपुत्री’ उपन्यास (२०५४), ‘मध्यारातको घाम’ नेपाली गीति संग्रह (२०५४), ‘वेदनाका लहरहरु’ नेपाली गीति संग्रह (२०५२), ‘शंका’ नेपाली एकांकी नाटक (२०५१), ‘जेसुम’ तामाङ गीति नाटक, २०६९ प्रकाशित छन् ।
तामाङ चलचित्र लेखन तथा निर्देशनसमेत गर्नुभएका उहाँले अभिनयसमेत गर्नुभएको थियो । उहाँले मयुङ बुरिङ(तामाङ चलचित्र २०५८) र चाङ्छार (तामाङ चलचित्र) लेखन तथा निर्देशन गर्नुभएको थियो । पत्रकारितामा विभिन्न पुरस्कारसमेत प्राप्त गर्नुभएका उहाँ पछिल्लो समय अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)को एसिया च्याप्टरका महासचिव चयन हुनुभएको थियो ।
काभ्रे जिल्को तेमाल स्थित कल्लेरीमा २०३६ चैत ९ गते जन्मनुभएका वहाँको श्रीमती,एक छोरा र एक छोरी छन् |