नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती
ल्होछार दिम-दिमरि धाङगे !!
नेपाली राष्ट्रिय पर्व अर्थात् तामाङ समुदायको महान पर्व मञ्जुश्री संवत २८५९ सोनाम ल्होछार (तावार/ह्योई ल्हो) घर घरमा मनाऔ | तामाङ संस्कार र संस्कृतिको प्रवर्द्धन र संरक्षण गरौ |
सोनाम ल्होछार
सोनाम ल्होछार तिब्बतमा बौद्धधर्मको प्रचार हुनुअघि देखिनै ल्होछार मनाउने चलन थियो । जुन समय तिब्बतमा बोनधर्मको जगजगी थियो, त्यस बेला हिउदको याममा किसिम किसिमको सुगन्धित धूपहरू गाऊँभरी जलाएर स्थानिय देवी-देउताहरूलाई आफूले उमारेको फसलहरू चढाएर आफ्नो रक्षाको निम्ति बिभिन्न पशुहरुको बली चढाई बल माग्थे, पूजा-अर्चना गर्ने गर्थे । जब तिब्बतको नवौं राजा पोदे गुनग्यालको समयदेखि भने यस चाडलाई बौद्धधर्म अनुसार ल्होछार पर्व मनाउन थालेको इतिहास छ |
नेपाली राष्ट्रिय पर्व “सोनाम ल्होछार” तामाङ, ह्योल्मो तथा हिमाली क्षेत्रमा बसोबास अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व हो । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम ल्होछार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो ।
नेपाली राष्ट्रिय पर्व “सोनाम ल्होछार” संसार भरिरहेका तामाङहरूले मनाउने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको महान सांस्कृतिक तथा धार्मिक पर्व हो | यो पर्व नेपाल,भारत,भुटान,थाइल्याण्ड देश लगायत विश्वको विभिन्नमा मुलुकमा अध्ययन,रोजगारी,ब्यापारव्यवसाय गर्न पुगेका वा सम्बन्धित मुलुकमा नागरिकता हासिल गरि बसोवास गरेका तामाङभाषी समुदायले नयाँ वर्षको आरम्भको रूपमा हर्षोल्लासका साथ मनाउने पर्व हो |
प्रत्येक वर्ष माघ महिनाको शुक्ल पक्षमा पर्ने प्रतिपदा तिथीको दिन नेपाली राष्ट्रिय पर्व “सोनाम ल्होछार” मनाइन्छ/पर्दछ ।
नेपाल तामाङ घेदुङ लगायत ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सूचीमा सूचीकृत भई सोनाम ल्होछार ‘तामाङ ल्होछार पर्व’ले राज्यबाट ल्होछार मान्नेहरुका लागि भनेर पहिलो चोटी राष्ट्रिय पर्वको मान्यता प्राप्त राष्ट्रिय पर्व, तामाङ समुदायको सोनाम ल्होछार “नयाँ वर्ष” हो ।
ल्होछारको अर्थ
‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ । तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष वा साल भन्ने हुन्छ | ‘छार’को भन्नाले नयाँ भन्ने हुन्छ । यसैले ल्होछारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ |
यसपाली सोनाम ल्होछार २८५९ तावार/ह्योई ल्हो माघ शुक्ल पक्ष अर्थात् माघ ८ गते आइतबार तदनुसार २२ जनवरी २०२३मा परेको छ | यो बर्ष च्यान ल्हो बर्षको बिदाई गर्दै तावार/ह्योई ल्होको सुरु अर्थात स्वागत गर्दै संसारभरि मनाउने तयारी भईरहेको छ |
काठमाण्डौको टुँडीखेलमा सोनाम ल्होछार समारोह
हरेक बर्ष नेपाल तामाङ घेदुङको अगुवाइमा विभिन्न तामाङ सामाजिक संघसंस्थाहरुलाई समेट्दै तामाङ पहिचानको सांस्कृतिक तथा धार्मिक विरासतहरुको संरक्षण र सम्बर्धनको लागि काठमाण्डौको टुँडीखेलमा बृहत सोनाम ल्होछार समारोह गर्दै सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ | यसपाली पनि टुँडीखेलमा सोनाम ल्होछार २८५९ को अवसरमा दुई दिन सम्म सांस्कृतिक कार्यक्रम हुने घेदुङले जानकारी दिएको छ | साथै राष्ट्रिय कलाकार सहित हायात होटल प्राङ्गना चुच्चेपाटिमा ३ दिने सम्म सांस्कृतिक हुने बताएको छ |
साथै देशैभरि सामुहिक रुपमा भेटघाट गरि सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको आयोजन गरि मनाउने र शुभकामना आदानप्रदान गर्ने गरिन्छ |
प्रवासमा सोनाम ल्होछार
नेपालबाट विभिन्न मुलुकमा अध्ययन,ब्यापार व्यवसाय,रोजगारीमा पुगेका तामाङ समुदायहरुले तामाङ संघसंस्था स्थापन गरि प्रत्येक बर्ष नेपालबाट तामाङ कलाकारहरुलाई आमन्त्रण गरी वा स्थानीय कलाकारहरुको साथमा हर्षोल्लासका साथ सोनाम ल्होछार सांस्कृतिक / सांगेतिक कार्यक्रमहरु आयोजन गरि सामुहिक भेटघाट एवं शुभकामना आदानप्रदान गर्दै तामाङ पहिचान र सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने कार्यमा योगदान पुर्याउदै आईरहेका छन् |
तामाङमा भाषामा ल्हो गणना गर्ने पराम्परा
तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । तामाङ परम्परामा ल्हो ले सम्बत, वर्ष, उमेर, आदि जनाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ ।
‘ल्हो’ अर्थात वर्ष गणना बाह्र वटा पशुपंछी र जीवजन्तुको नामबाट राखिएको हुन्छ ।
ल्होखोर
१.नाम्युङ/ङ्याम्ङगु (मुसा) ल्हो
२. म्हे/लाङ (गाई) ल्हो
३. च्यान (बाघ) ल्हो
४. तावर (बिरालो) ल्हो
५. मु-पुखी ल्हो (ड्राइगन) ल्हो
६. पुख्री/सापुख्री(सर्प) ल्हो
७. ता (घोडा) ल्हो
८. ग्यु/ल्हुक (भेडा) ल्हो
९. माकर / तीम्ङ्यु / टे / (बाँदर) ल्हो
१०. नामे / ङ्याम्ङ्या / ज्या (चरा) ल्हो
११. नाकी/नाखी/खी (कुकुर) ल्हो १२. डोवा/ड्वा/(बँदेल) ल्हो
१. ल्होछारको पूर्व तयारी (Preparation for Lhochhar Festival)
(क)घर, गाउँ/टोल, बाटोघाटो, आँगन, चौतारा, पानीपधेंरो, गोठ आदि मर्मतसम्भार, सफासुग्घर र लिपपोत गर्ने |
(ख(खानापिनाका लागि फलफूल, कन्दमूल र पूजाका सामग्रीहरु तयार गर्ने |
(ग) कुलदेवताको थान वा देवीदेवताको थान / ला खाङ्गमा आगामी वर्ष राम्रो खेतीपाती बालिनाली होस् भनी प्रार्थना सहित बीउवीजन पानीमा भिजाई टुसा उमार्ने |
(घ)औंसिको दिन बत्ति बाल्न, भगवानको दर्शन गर्न तथा बत्ति चढाउनका लागि गुम्बामा जाने।
पुजाआजा गर्ने
. ल्हो, थर, कुल र वंशको परम्पराअनुसार आ–आफ्नो कुलपूजा गर्ने र परिवारमा सुखशान्ति, समृद्धि र स्वास्थ्य लाभको लागि पितृहरुबाट आशिर्वाद तथा शक्ति माग्ने ।
. फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लाे बनाएर ग्रहदशा फाल्ने।
. आगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको वीउविजन राखी पूजापाठ गर्ने ।
. परिवारका सबै सदस्यहरु भेलाभई भोज खाने, परम्परागत रुपमा गुथुग (बाह्र ल्हो को टाउको बनाएको थुक्पा) खाने, आतिसवाजी गर्ने, मनोरञ्जनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने र नयाँ वर्षको विहानीलाई स्वागत गर्ने । अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधैं उज्यालो र खुशियाली आओस् भनी बत्ति (द्धीप) रातभर बाली राख्ने ।
ल्होछारको पहिलो दिन :
छो चढाउने
.ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योअीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छेमार वा फेमार दुची तथा छो (फलफूल, कन्दमुल–आलु/भ्याकुर/तरुल, खाप्से, बाबर गेङ आदि) पकवानहरु राखी साङसेरग्याम(पूजाआजा/धुपधुवाँर) गर्ने |
.भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आशिर्वाद माग्ने |
.पूजामा चढाएको “छो”(प्रसाद), दुइची, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने |
दर्जु / लुङता उठाउने
.नयाँ ल्हो को आगमन (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर, गुम्बा, मठ–मन्दिरहरुमा लुङदर/दज्र्यू फेर्ने / फहराउँने |
.लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई लामागुरुले भनेअनुसारको दर्जु राख्ने ।
.लामा नभएमा पाँचै रङ्गको दर्जु राख्ने । त्यसो पनि नभेटेमा आकाशे रंगको दर्जु राख्नु शुभ मानिन्छ । उक्त दिन दर्जु नभ्याएमा/नराखेमा बसन्त पञ्चमीको दिन बिहान सबेरै दर्जु उठाउने / राख्ने । दर्जुसँगै धूपबत्ति बाल्ने र केम (स्याल्गर/भगवानलाई चढाउने फलफूल) चढाउने।
.सकेसम्म पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा दर्जु उठाई सबैले “ल्ह ग्वल्लो दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र शुभकामना आदान प्रदान गर्ने ।
आशिर्वाद / शुभकामना
.पूजाआजा सकेपछि सुख, शान्ति, निरोगिता र दीर्घायूको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट नौनीघिउ तथा कोकोम्हेन्दोको टीका तथा खादा आशिर्वाद स्वरुप दिने |
.सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने ।
.भोजभत्तेर खाने ।
.साथीसँगीसँग मिलेर रमाइलो गर्ने |
ल्होछारको प्रारम्भ वा पहिलो दिन पश्चात्
.ल्होछारको दोस्रो दिनदेखि बसन्तपन्चमीसम्म मान्यजन, नातागोता, कुल कुटुम्ब, इष्टमित्र/साथीसंगीहरुलाई भेटघाट गरी खादासहित शुभकामना आदान प्रदान तथा आशिर्वाद लिनेदिने ।
.यो क्रम आलोपालो गर्ने |
.आफ्नो दाजुभाई, चेलिवेटीलाई खानपिन गर्न आफ्नो घरमा बोलाउने |
.आफूले मान्नुपर्ने व्यक्तिहरुकोमा आशिर्वाद लिनु जाने र आफूकहाँ आउने पाहुनाहरुलाई स्वागत र शुभकामना आशिर्वाद दिने आदानप्रदान गर्ने |
.यो क्रम प्रतिपदादेखि बसन्त पञ्चमी भित्र / सम्म गर्ने |
.बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठन/पाठन सुरुवात गर्ने |
.यस सुरु गराएमा छिटो सिक्ने भन्ने जनविश्वास भएकाले शिक्षा आरम्भ गराउने |
.दर्ज्यु फहराउन बाँकी भएकाले दर्ज्यु ठड्याउने |
.सोहि दिन आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी हर्षाेल्लासपूर्ण वातावरणमा ल्होछार चाड वा पर्व सम्पन्न गर्ने ।
ल्होछारमा खाने परिकार
.गुथुक
.बाबररोटि: फापर,चालम,गहु,कोदो (तेलमा पकाइने गोलो रोटी)
.आलुम: पानी पकाइने गालो रोटी
. खाप्से, कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु र आलु)