मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग
याम्बु – नेपाल तामाङ घेदुङ र नेवाः दे दवूले माध्यमिक तह अर्थात कक्षा ९ र १० मा मातृभाषाको विकल्पमा ऐच्छिक विषयका रुपमा गणित, कम्प्युटर जस्ता विषय समेटिएकाले मातृभाषा अध्ययन गर्न चाहने विद्यार्थीलाई उक्त अध्ययन गर्ने अवसरबाट बञ्चित गराएको भन्दै त्यस किसिमको व्यवस्था हटाउन माग गरेको छ ।
आज जेष्ठ ३० गते बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल समक्ष ज्ञापनपत्र बुझाउँदै उक्त माग गरिएको हो । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा नेवाः दे दवुका अध्यक्ष पवित्र बज्रचार्यले मन्त्री पौडेललाई ज्ञापनपत्र बुझाउनु भएको थियो । ज्ञापनपत्र बुझ्नुहुँदै मन्त्री पौडेलले दवु र घेदुङले राखेको मागलाई कार्यन्वयन गराउन आफु प्रतिबद्ध रहेको बताउनु भयो ।
दुईवटा ऐच्छिक विषय रहेका माध्यमिक तहमा एउटा ऐच्छिक विषय समूहमा नेपालका मातृभाषाहरु मात्र राखेर र अर्को ऐच्छिक विषय समूहमा गणित, कम्प्युटर जस्ता विषय राखेमा सबै विद्यार्थीले मातृभाषासँगै आफ्नो व्यवसायिक जीवनका लागि इच्छानुसारको विषय पढ्न पाइने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउन घेदुङका उपमहासचिव जगतमान लामा (दोङ), सचिव बिना माम्बा तामाङ लगायत दवुका अन्य पदाधिकारीहरु पनि मन्त्रालय पुग्नु भएको थियो । नेपालको संविधान (२०७२) को भाग ३को मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३१ शिक्षा सम्बन्धी हक र कर्तव्यको उपधारा ५मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेको छ ।