आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)
भदौ ६ ,२०७८ – आजको दिनलाई तामाङ समुदायले तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा) को रुपमा मनाउने गरिन्छ | तामाङहरुलाई बोलाउने र कागजी रुपमा अड्डा / अदालत तिर प्रयोग हुने शव्द अर्थात् प्रशासनिक तवरमा लेख्दा ‘भोटे’ भनेर सम्वोधन गर्ने प्रचलन थियो |
आफु तामाङ भएतापनि प्रशासनिक रुपमा पहिचान खुलाएर बोलाउने र लेख्न नपाउने भएपछि/देखेपछि तत्कालिन समयमा सेनामा भर्ति भएका जंगबिर लामा तामाङले राणाकालीन प्रधानमन्त्री भीमशमशेरलाई आफ्नो समुदायको पहिचान / जात तामाङ भएको र भोटेको ठाउँमा “तामाङ” भनेर सम्वोधन गरियोस् भन्दै बिद्रोहका साथ माँग गरेपछि भीमशमशेरले वि.स १९८९ भदौं ६ गतेका दिन तामाङहरुलाई यसभन्दा अघि तामाङ भन्न र लेख्न नपाउने प्रतिबन्द्ध फुकुवा गरी दिएको थियो । उक्त एतिहासिक दिनलाई अर्थात् भाद्र ६ गतेलाई तामाङ समुदायहरुले प्रत्येक बर्ष “तामाङ पहिचान दिवस” को रुपमा मनाउने गरेका छन् |त्यो भन्दा अघि तामाङलाई आफ्नु थर लेखने अधिकार थिएन् ।
तत्कालीन राजा त्रिभुवन र प्रधानमंत्री भीम शम्शेरद्वारा ‘…. आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनीय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाइने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाइने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ । अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम् ।
त्यसै दिनदेखि नेपालको सरकारी कार्यालय र अन्यत्र पनि तामाङ शब्दको आधिकारिक प्रयोग हुन थालेको हो। राणाकालमा तामाङ जातिका लागि ‘काठभुटिया’,‘मुर्मि भोट्या’, ‘लामाभोटे’, ‘भोट्या’, ‘भोटिया’ ‘मुर्मी’, ‘इसाङ’ ‘सैं’ आदि विभिन्न हेपाहा प्रवृत्तिका शब्दावली प्रयोग गर्नेगर्दथे। इस्तिहार जारी भएपछि स्वदेश तथा विदेश सबैतिर ‘तामाङ‘ शब्द नै प्रयोग गर्न थालेको पाइन्छ ।
तामाङ ज्ञानदिवस (गोने ङ्ह्या)
गोने ङ्ह्या तामाङ चाडपर्वहरु मध्येको ज्ञान केन्द्रित चाड हो । यो पर्वमा ज्ञान सिप शिक्षा चेतना र सुचनाहरु सास्कृतिक रुपमा संचार गर्ने गरिन्छ ।
गोने ङ्ह्यालाई गुरु चेलाको सम्बन्ध गास्ने अबसरको रुपमा पनि लिईन्छ । प्रकृति, जीवन, समाज, संस्कृति, ज्ञान, चेतना र उन्नति प्रगतिमा आएको फेरवदल अनुसार आफु सहित सवै घर परिवार लाई अघि लगाउने तिथी हो । मन शरीर जीवन घरपरिवार समाज र लोकको लागि ज्ञान चेतना र पुण्य तथा दैवी शक्तिको महत्वबोध गराई सवैलाई सचेत शिक्षित र दिक्षित बनाउने पुञ्य तिथी हो । अर्काे शव्दमा भन्दा समग्र ज्ञान, ज्ञानशक्तिको साधन, साधनाको सिद्धि र शिद्धिको लोकदीक्षान्त हुने अबसर र उत्सव हो । जहाबाट सवै किसिमको दोष द्धोश र क्लेशबाट मुक्त भै शुभघडीको ढोका खुली पुण्यशक्ति प्रस्फुटन हुन्छ ।
गोनेङ्ह्याको शाव्दिक अर्थ :
गोनेङ्ह्या तामाङ शव्द हो । यो गोने र ङ्ह्या दुई भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसको अर्थ गोनेको ङ्ह्या भन्ने हुन्छ । गोने तामाङ सातौ महिनाको नाम हो । यो नेपाली साउन र भदौ महिनाको बीचमा पर्दछ । जसको अर्थ गोने महिनाको ङ्ह्या अर्थात पुर्णिमा भन्ने हुन्छ । गोने शव्दको अर्काे नि अर्थ लाग्ने गर्दछ । गोने शव्द गो र ने भन्ने दुइ भिन्न शव्दहरु मिलेर बनेको शव्द हो । जसमा गो भनेको ढोका, संघार, दैलो, द्धार, नाका, दुर्गा, गढि, पीठ, तथा ढाड भन्ने हुन्छ । त्यसरी नै ने भनेको देउ, देउथान, देउरली, मन्दिर, धाम, तीर्थ, भन्ने समेत बुझाउदछ । जसको संयुक्त अर्थ देउताको ढोका भन्ने हुन्छ । त्यसैगरि ङ्ह्या भनेको चाही भनेको चाही पुर्णिमा हो । शुक्लापक्षको प्रतिपर्दाको दिनलाई बुझाउदछ । तामाङहरु यस्ता दिनहरलाई पुण्यतिथीको रुपमा लिइन्छ । यसरी यी टुक्रा टुक्रा शव्दहरुको समुच्च र सम्पुढर्ण अर्थ भनेको देवताको ढोका खुल्ने पुर्णिमा तथा पुण्यतिथी भन्ने हुन्छ / पेमा तामाङ मोक्तान ला फेसबुक ग्याम्से