हेडलाईन

‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ        

‘हिटलर र यहुदी’ मा मानव चेतना

डा. विपिन अधिकारी

उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ ।

यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका रूपमै रहँदैन । यसका लागि लडाइँ लड्नुपर्छ, नलड्नेलाई बाँच्ने अधिकार छैन । राष्ट्रिय, समाजवादको सैद्धान्तिक आवरणमा पहिलो विश्वयुद्धपछि जर्मनीमा स्थापना भएको नाजी पार्टी हिटलरको संगठनको आधार बन्न पुग्यो ।

जर्मन नाजी पार्टीको विकास क्रमशः भएको देखिन्छ । उनले झुटो अभिमान डर, त्रास तथा जर्मन जातिको विशिष्टता देखाएर यसका सदस्यहरू बढाउँदै लगे । सन् १९२३ मा नै हिटलरले जर्मन सरकारलाई वैधानिक सत्ताबाट मिल्काउने प्रयत्न गरे । तर सकेनन् । यसपछि उनलाई ५ वर्षको जेल सजाय सुनाइयो । जेलमा हुँदा उनले आफू र आफ्नो राजनीतिक दृष्टिकोणले भरिएको ‘मेन क्याम्फ’ (मेरो संघर्ष) नामको पुस्तक पनि लेखे । यसमा उनले नाजी पार्टीको सिद्धान्त्तहरूलाई विवेचना गरेका थिए । सन् १९३२ सम्म जर्मनीको संसद्मा नाजीहरूको सदस्य संख्या २३० पुगिसकेको थियो । सन् १९३३ मा जर्मनीको अल्पमतको सरकारका चान्सलर बनेपछि हिटलरले जर्मनीको संसद्लाई भंग गरे । संविधान र प्रजातान्त्रिक कानुनहरूबाट उनी सञ्चालित हुन चाहँदैनथे । दलहरूलाई लघारे । कम्युनिस्ट पार्टीलाई पनि उनले गैरकानुनी बनाए । तत्कालीन राष्ट्रसंघ (लिग अफ नेसन्स) को सदस्यता पनि छोडे । त्यसपछि उनको उद्देश्य सैन्य शक्ति बढाउनुबाहेक अरू केही थिएन । हिटलर सम्हालिनसक्नु भइसकेका थिए । १९३३ मा उनी जर्मनीको सत्तामा पुगेपछि जर्मनीको एउटा नश्लवादी साम्राज्यको स्थापनाको प्रक्रिया अनवरत रूपमा अघि बढ्न थाल्यो । तर शक्ति संघर्षमा लागेका युरोपेली मुलुकहरूले यसलाई त्यति महत्त्व दिएनन् । कतिपयमा त्यो क्षमता पनि थिएन । उल्टै सन् १९३८ मा टाइम म्यागाजिनले हिटलरलाई ‘म्यान अफ द इयर’ घोषणा गर्‍यो । सन् १९३९ मा उनलाई झन्डै नोबेल पिस प्राइज दिइएको थियो । सानो नानी हुँदा पुजारी बन्ने रहर भएको र वयस्क भइसक्दा पनि कालो बिरालीसँग डराउने हिटलर सत्तामा पुगेपछि नश्लवादी मात्र होइन डरलाग्दा तानाशाहका रूपमा स्थापित भए ।

त्यसो त हिटलर जर्मनीलाई बलियो बनाउन चाहन्थे । तर, पहिलो विश्वयुद्धमा जर्मनीको हारको कारण के–के हुन् ? तिनको उनले राम्रो विश्लेषण गर्न सकेनन् । उनको निष्कर्ष सही थिएन तर जर्मन यहुदीहरूलाई नै त्यस्तो हारको प्रमुख कारण उनले देखे । उनको भनाइ थियो, जर्मन साम्राज्यको पुरानो गौरव फर्काउने हो भने यहुदीहरूलाई मास्नुपर्छ तथा युद्धकै माध्यमबाट जर्मनीले शक्ति आर्जन गर्नुपर्छ । यहुदीहरू निचो जातका हुन् र जर्मनीको धार्मिक ऐतिहासिक, दार्शनिक वा मनोवैज्ञानिक दूरावस्थाका कारण उनीहरू नै हुन् । हिटलरले तत्कालीन जर्मनीमा रहेको एउटा यस्तो वर्ग जसले जातीय श्रेष्ठता, घृणा तथा हिंसाका आधारमा आफूलाई सर्वश्रेष्ठ ठान्थ्यो, तिनलाई आफूप्रति आकर्षित गर्दै गएका थिए । यति मात्र होइन तिनीहरू हिटलरको नाजी पार्टीमा बलियो हुँदै गएका थिए । कतिपय यहुदीहरू ज्यान र अस्मिता बचाउन जर्मन छोडी अन्य युरोपेली मुलुकहरूतिर भागेको पाइन्छ । तर युरोपभरि जहाँ पनि उनीहरू असुरक्षित थिए । जब यहुदीहरूलाई सम्पूर्ण रूपमा लगार्न सकिएन त्यसपछि हिटलरले यहुदीहरूको सर्वनाश गर्ने अन्तिम उपाय खोजे । ‘होलोकास्ट’ भनेको त्यही उपाय हो । यो यहुदीहरूको विध्वंशको विभत्स तरिका थियो । अब हिटलर राक्षस भइसकेका थिए । उनलाई वैधानिक जनाधारको आवश्यकता थिएन ।

विश्वयुद्धले हिटलरलाई मनोमानी गर्ने वातावरण दियो । ‘होलोकास्ट’ को पहिलो प्रयासका रूपमा हिटलरले जर्मन सेनाका सैनिक यहुदीहरूलाई खासखास इलाकाहरूमा जम्मा गरे । त्यसपछि उनीहरूबाट गराउन सकिने सबै प्रकारका कामहरू पनि गराए । युद्धबन्दी जस्तो गरी आफ्नै देशमा उनीहरूको शोषण गरियो । उनीहरूकै हातबाट उनीहरूलाई मार्न विशेष किसिमका क्याम्पहरू स्थापित गराइए । यसमध्ये सबैभन्दा कुख्यात क्याम्पको नाम थियो ‘आश्च्हवीट्ज’ । यहुदीहरूलाई यो शिविरमा ल्याउँदै झ्याल ढोका थुनेर विषालु ग्यास छाड्दै मारिन्थ्यो । कतिपयलाई जिउँदै जलाएर पनि समाप्त गरिन्थ्यो । जो काम गर्न सक्ने थिएनन् विरोध गर्थे वा भाग्न चाहन्थे उनीहरू अघिल्लो घानमा पर्थे । बाँकी रहेका यहुदीहरू पनि भोक र रोगका कारण क्रमशः सिद्धिन्थे । दोस्रो विश्वयुद्धको ६ वर्षको अवधिमा नाजीहरूले ६० लाख जति यहुदीहरूको हत्या गरेको मानिन्छ । त्यसमध्ये पनि १५ लाख त केटाकेटी मात्र थिए । किशोर–किशोरी तथा युवतीहरूको चरम शोषणपछि पालो आउँथ्यो । केवल यहुदी भएका कारणले मात्र यी सबै निर्दोष व्यक्तिहरूको हत्या गरिँदै थियो । वास्तवमा संसारका एकतिहाइ जति यहुदी जनसंख्या यो नरसंहारबाट खरानी भएको थियो । जुन रूपमा हिटलर र उनको नाजी पार्टीले यो नरसंहारको संख्या व्यवस्थापन तथा कार्यान्वयन गरे त्यो मानवताविरुद्धको पराकाष्टा थियो । मानवता हारेको क्षण थियो त्यो ।

आफ्ना काम–कारबाही तथा तथा प्रक्रियामा हिटलर एउटा तानाशाही शासक मात्र रहेनन् उनी एउटा मानसिकताका प्रतीक बन्न पुगे । संसारमा सर्वश्रेष्ठ मुलुक जर्मनी, सर्वश्रेष्ठ शासक हिटलर र सर्वश्रेष्ठ दर्शन नाजीवाद । झुटो बोल्नु, जनतालाई उन्मादित तुल्याउनु तथा मीठो भाषणबाट ‘हिप्नोटाइज’ गर्नु हिटलरको ठूलो खुबी थियो । सबै खाले शासकीय मिथ्यालाई स्थापित गर्न उनका प्रचार मन्त्री ‘गोयवल्स’ काफी थिए । विश्वयुद्धमा भाग लिएका कुनै पनि युरोपेली मुलुकहरूमा यो विभिषिकालाई रोक्ने क्षमता थिएन । हिटलरको नेतृत्वमा १९४१ सम्म नाजी सेनाहरूले युरोपमा कब्जा गरिसकेका थिए । जर्मनी सबै छिमेकी मुलुकहरूसँग लडाइँमा थियो । मित्रराष्ट्रका सेनाहरू मिलेर आफूलाई अन्ततः हराउन सक्नेतर्फ उनको ध्यान गएन । सन् १९४५ मा सोभियत सेनाहरूबाट घेरिएपछि हिटलरको अस्ताउने समय सुरु भयो । भनिन्छ, बर्लिनमा भुइँमुनि ५० फिट तलको एउटा बङ्करमा आफूलाई गोली हानेर आफ्नी श्रीमतीसँगै उनले आत्महत्या गरे । दोस्रो विश्वयुद्धको समाप्ति र हिटलरको तानाशाही सँगसँगै अन्त्य भयो । दोस्रो विश्वयुद्धको समाप्तिपछि इतिहासलाई हेर्ने विभिन्न दृष्टिकोणहरूका आधारमा संसारभरि विभिन्न पुस्तक लेखिएका छन् ।

यस उपन्यासको नाम ‘हिटलर र यहुदी’ भए पनि हिटलर यो उपन्यासको प्रमुख पात्र भने होइनन् । उनी उपन्यासको समग्र पृष्ठभूमि हुन् । उनको स्वेच्छाचारिता, तानाशाहीपन, वैचारिक स्तर, र यहुदी जातिका बारेमा उनको सिद्धान्त र व्यवहार यस उपन्यासमा परीक्षणमा छ । यसमा सबैभन्दा प्रमुख भूमिका ‘म’ पात्र को छ । ऊ सैद्धान्तिक रूपमा परिस्कृत हुन चाहने तथा मूल्य–मान्यताको निरन्तर खोजमा हिँडेको अनन्त यात्री हो । उसको यात्रा हिन्दुस्तान हुँदै पानीजहाजबाट युरोपसम्म पुगेको छ । ऊ कथावस्तुको सबैतिर छ । सबैलाई बौद्धिक चुनौती दिएर उसले उपन्यासलाई अघि बढाउँछ । उसले प्रश्न सोध्छ, तटस्थ भएर टिप्पणी गर्छ, आफ्नो अनुभव सुनाउँछ र अन्ततः मानवता, दया, प्रेम, संरक्षण र मान्छे हुनुको नैतिक पक्षलाई मुटु चिरिने गरी उपस्थित गराइदिन्छ । उसले देखाउँछ– युद्ध नितान्त खराब कुरा हो । यसले न व्यक्तिलाई राम्रो गर्छ, न उसको समाज, न त शासकीय पद्धति वा स्वतन्त्रतालाई ।

विचार र द्वन्द्वको आर्तनादमा बढेको छ यो उपन्यास । यहुदी जातिको इतिहास, देन, र विशेष गरेर धार्मिक विचारको विकासमा र त्यस जातिले भोगेको अनवरत दुःखबारे यसमा छलफल गरिएको छ । कुरो उप्काउने दृष्टिले ‘म’ पात्र भन्छ : ‘अध्यात्मवाद, परमेश्वरसम्बन्धी विचार र भावनाको विकासमा यहुदीको मौलिक योगदान छ । सर्वप्रथम परमेश्वरको चराचर्म व्याप्तताको स्पष्ट चित्र उनीहरू कै मष्तिष्कमा खिचिएको थियो, होइन ?” त्यसै गरी ऊ भन्छ “कुरैकुरामा मलाई लागेर भनेको– क्रिस्तान युरोपलाई त कमसेकम आध्यात्मिकताको प्रकाश दिने यहुदी जातिलाई नै किन इतिहासमा लाञ्छना छ, अविछिन्न यातनाको सिकार हुनुपर्‍यो ? हालैमा पनि ६० लाख कत्लेआम भए तिनीहरू– आवाल वृद्ध, वनिता सारा…।” यो प्रश्न मानवताको प्रश्न हो । हरेक जातिलाई बाँच्ने अधिकार छ । यो उपन्यासको कथावस्तु यसै प्रश्नबाट अगाडि बढ्छ ।

मद्रासी ब्राह्मण नारायणनले सजिलो गरी आफ्नो दृष्टिकोण राख्छ । उसको चेतना हिन्दुदर्शनको एउटा पाटोसम्म मात्र सीमित छ । ऊ भन्छ– “समाजको संगठनबाट कल्याणको कुरा, धार्मिक सहिष्णुताबाट मानव समाजको परिवर्तन सुधारवाद आदि कुरा त भौतिकवादीहरूका सिद्धान्त्त हुन्, जो पश्चिमी दर्शनको विषय हो । हिन्दु सिद्धान्त यस्ता कुरालाई प्रयोजनहीन भन्ठान्छ । जीवन त यात्रा हो, त्यस्तो बाटोमा जुन बाटो तिमीले स्वयं आफूले नै खनेका छौ । आफ्नो कर्मले खनेको बाटोमा नहिँडी धर छ र ? यदि जीवनसँग अविछिन्न रूपले रहेको यावत् दुःख तृष्णा, लोभ, मोह, अशान्ति इत्यादिबाट छुट्कारा पाउनु छ भने बाटो नखन, तिमीले हिँड्नु पर्दैन त्यसमा ।” चर्को तर्क छ नारायाणनको । ऊ न्याय अन्यायजस्ता विषयको जोखिम लिन चाहँदैन । विवेकको एउटा पाटो उसको व्यक्तित्वमा लुप्त छ । ठूला सैद्धान्तिक प्रश्नबारे उसको पेटमा कुनै अग्नि छैन । विद्वान् छ, तर उसको जीवनको कुरा शास्त्रमा हराएको छ । ‘म’ पात्रले अविश्वासको निःश्वास झिकेर उसलाई टिप्पणी गर्छ– “त्यसो भए के यहुदी जाति नै कर्मबन्धनमा परेर युगानुयुगदेखि विभिन्न स्थितिमा पिल्सिँदै आएका हुन् त ? आफैंले खनेको बाटोमा हिँडेका साठी लाख यहुदी जो हिटलरको भठ्ठीमा होमिए ?” उसले आक्षेप पनि लगाउँछ : “नारायणनजी, तपाईंलाई हिटलरले भष्मिभूत पारेका यहुदीहरूप्रति संवेदना पनि छैन ?”

यो द्वन्द्वको अर्कोपट्टि आफ्नो स्पष्ट धारणा लिएर उभिएकी छ एउटी अर्की आधुनिक गुजराती युवती । उसको नाउ रेवा हो । ऊ स्वच्छन्द स्वभावकी छ । प्रशस्त पढेलेखेकी छ, तर जीवनलाई बोझिलो बनाउन चाहन्न । हिटलरको प्रसंग होस् वा यहुदीको, उसले नबुझेकी केही छैन, तर भन्छे : “यो कस्तो खाँचो तिमीलाई, हर कुराको अर्थ चाहिने । बिनाअर्थको जीवन आनन्दमय हुन सक्दैन र ? मलाई त यो क्षणले नै यसरी लठ्याइराख्छ । त्यसभन्दा बाहिर सोच्ने समय नै पाउँदिनँ । तस्बिरको रङलाई कोट्याएर त्यसको मर्मलाई बुझ्ने प्रयत्न नगर । जे छ बाहिर छ, छर्लङ्ग छ, जीवनबाहिर छ, उदाङ्ग छ उघ्रिएको ।” रेवा सरल छे, तर त्यो जीवन के जीवन जहाँ यसका मौलिक प्रश्नहरूको समाधान नै नखोजी आत्मसमर्पण गरिएको होस् । हो, यहाँ रेवा समस्याको एउटा पक्ष हो, यसको जवाफ होइन । यस विषयमा अझ खोजीनीति चाहिएको छ ।

जवाफ दिनुपर्ने मान्छे वा आजको चलनचल्तीको भाकामा भन्ने हो भने सार्वजनिक उत्तरदायित्व वहन गर्नुपर्ने प्रमुख व्यक्ति त हिटलर नै हुन् । कानुनको पृष्ठभूमि भएको यो टिप्पणीकारलाई हिटलरले आत्महत्या गरेको कथा विश्वासिलो लाग्दैन । उनी र केही दिनअघि मात्र बिहे गरिएकी उनकी श्रीमती आफ्ना दुस्मनबाटै मारिएको हुन सक्ने परिस्थिति बलियो देखिन्छ । जे भए पनि उनको मृत्युले उसले सिर्जना गरेको समस्याको निदान गर्दैन । त्यसैले ‘म’ पात्रले मरिसकेका हिटलरलाई ईश्वरसँग संवाद गराउन पछि पर्दैन । सभ्यताको अपराधी त ऊ नै थिए । आफ्नो गलत उद्देश्यका लागि लाखौं नाजी सहयोगी तथा धुपौरेको प्रयोगबाट दोस्रो विश्वयुद्धको थालनी र यहुदीको सर्वनाशको प्रमुख सर्जक उनी आफैं बनेका हुन् । किन यो निष्ठुरता ? ईश्वरले सोध्छन् : “हिटलर, तिमीले आफ्नो अमानवीय निष्ठुरताको प्रतिवादमा केही भन्न सक्दैनौ ?”

मृतक हिटलरको जवाफले यस उपन्यासको अर्को पक्षलाई तेस्र्याइदिन्छ : “म निष्ठुर होइन कदापि । निष्ठुरता एउटा भावावेग हो– उत्तेजनापूर्ण क्रिया जसबाट म मुक्त भन्ठान्छु आफूलाई । यथार्थमा, म दयाबाट पनि मुक्त छु, किनभने दया पनि भावनाप्रधान तत्त्व भएकाले मैले त्यसलाई विषजस्तो त्यागेको छु । गीता सर्वश्रेष्ठ ग्रन्थ हो । दैवित्वविहीनको धर्म प्रतिवादित छ त्यसमा– सांसारिक कर्म गीता कर्म हो । त्यो एउटा यस्तो महान् आध्यात्मिक ग्रन्थ छ, जसलाई आ–आफ्नो अखण्डनीयताका लागि धर्मशास्त्रीहरूले ईश्वरको भर पर्नु पर्दैन । कृष्ण र अर्जुनको कथा एउटा रूपक मात्र हो, सोद्देश्य लेखिएको नीतिकथा–एउटा आख्यान हो । ईश्वर भनेको उत्तेजनारहित मानव हो– लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति । मानव त्यस्तो ईश्वर हो जो आशक्तियुक्त छ । मानव र ईश्वरमा फरक अर्को यसले पनि छ– या भनुँ त्यही कारणले नै– कि एउटा सामथ्र्यहीन छ अर्को सामथ्र्यवान् । राजनीतिमा लागेको व्यक्ति अरू पेसाका मानिसभन्दा झन् बढी शक्तिको पथको यात्री हुन्छ । उसको अनुसन्धान शक्ति त झन् बढी शक्ति हो । त्यसो हुनाले गीता राजनीतिज्ञहरूका लागि अमरवाणी भएको छ । उनीहरूका लागि यो विज्ञानको ग्रन्थ हो ।”

हिटलरको तर्क असाध्यै स्वार्थी छ । उनको सोचाइ छ, आफूले जेजस्तो काम–कारबाही गरे त्यो आफ्नो मुलुक वा जर्मन जातिका लागि गरिएको थियो । उनी आफूलाई कर्मयोगी मान्छन् । एउटा कर्मयोगी कसरी दोषी हुन सक्छ । के महाभारतको युद्ध भगवान् कृष्णले नचाहेको भए हुन सक्थ्यो ? उनले पनि त निरङ्कुशता नै देखाएका हुन् । आफ्नो निरङ्कुशताको प्रतिरक्षा गर्दै ईश्वरसँगको संवादमा हिटलरको लोकलयमा बिक्न सक्ने एउटा बलियो दाबी हुन्छ ।

हिटलर भन्दछन् : “जुन घडीसम्म मेरो उत्पीडन–निरंकुशता–कायम रह्यो, तबसम्म म पनि ईश्वर नै भएँ । कविहरूले मलाई आफ्नो कवितामा गाए, शिल्पीहरूले मलाई सङ्गमरमरमा कुँदे, रंगमा चित्रित भएँ, चित्रकारद्वारा । नारीहरूले मलाई आफ्नो हृदयमा स्थापित गरे, पुरुषहरूले मेरो पाउमा शिर निहुराए । विद्वान्, प्राध्यापकहरूले मलाई विश्वविद्यालयहरूमा पढाए, विद्यार्थीहरूले अनेकानेक किताबहरूमा मेरो अध्ययन गरे । मातापिताहरूले आदरका साथ मलाई उच्चारण गरे, आफ्ना छोराहरूलाई मेरो नाम दिएर सुशोभित पारे– रातदिन मेरो स्तूतिगान भइरह्यो । संक्षेपमा, म ईश्वर थिएँ । हो, तिम्रो दाँजोमा एउटा सानो ईश्वर । तर योग्यताअनुसार सबैले आफ्नो भाग पाउने हुनाले मेरो अल्प–नगण्य निरङ्कुशताले त्यही अल्प–नगण्य–ईश्वर–पद आर्जन गर्‍यो, आज जब मेरो निरंकुशता समाप्त भयो । र अब म मरिसकेको छु । मलाई पृथ्वीलोकमा मानिसहरू यदि घृणा गर्छन् भने त्यसको पनि पछुतो छैन ।” हिटलरले अरू साक्षी बस्नेलाई ‘बुक’ मा ल्याउँछन् तर उनीहरूलाई पोलेर मात्र उम्किन सक्ने उनको अवस्था छैन ।

यस उपन्यासका विभिन्न पात्रहरू बडो बुद्धिमत्तापूर्ण रूपमा छनोट गरिएका छन् । विश्वयुद्ध र हिटलरले गरेको अशान्तिलाई विभिन्न दृष्टिकोणबाट यी पात्रहरूमार्फत मूल्याङ्कन हुन्छ । यो ‘म’ पात्रले डेबिड भन्ने अन्तर्राष्ट्रिय यहुदी संगठनको कार्यकर्तासँग यहुदी जातिले खपेको हत्या र आतङ्कको पीडाबारे सुन्दछ । यहुदी जातिको आफ्नो देश हुनुपर्छ । त्यसलाई धान्नुपर्छ, भन्ने उसको मान्यता छ । त्यस्तै यहुदी विरोधी लेबनानकी पत्रकार मार्गरेटसँगको कुराकानीका आधारमा ‘म’ पात्रले त्यस सम्बन्धमा वैकल्पिक दृष्टिकोण पाएको हुन्छ । अरबहरूको भूमि मासेर यहुदीका लागि देश कायम गर्न नसकिने आफ्नो दृष्टिकोण उसले राखेकी हुन्छे । यसै ‘म’ पात्रले आफ्नी श्रीमती लक्ष्मीसँगको चिठीपत्र सम्झना वा वार्ताका आधारमा प्रेम र यौनका कुराबारे आफ्नो दृष्टिकोण राख्छ । यसका आधारमा हिटलरले ल्याएको बेथितिलाई हेर्नुपर्ने हुन्छ । यसै ‘म’ पात्रसँगको अन्तर्क्रियामा मद्रासी ब्राह्मण नारायणन र गुजराती मूलकी युवती रेवामार्फत धर्म चेतना, जीवन र सुन्दरताका कुराहरू राखिन्छन् । युद्धबाट प्रताडित हुने मान्यताहरू हुन् यी । यो ‘म’ पात्र नै थियोडोरा नाम गरेकी पथप्रदर्शकसँग घुम्दै गरेका कुराकानीहरू तथा अन्तरमनको प्रस्तुति एवं सानी केटी इल्जेसँग उसले धानेको जीवनको समीक्षाबाट मानवतासँग सम्बन्धित कतिपय पक्षलाई सिंहनाद गरेको देखिन्छ । उमेरभन्दा बढी नारी चातुर्य भएकी थियोडोराको मासिएको जिन्दगी र युद्ध पीडित लिओनार्डोको बाँच्नैपर्ने विवशताबीचका जिजिविषा उल्लेखनीय रूपमा त्यहाँ चित्रित हुन्छन् । आफूलाई हिटलरको साथी भन्न रुचाउने त्यो खोरोन्डो सिपाही लिओनार्डोको अन्तक्र्रियाबाट हिटलरको वीभत्स रूप देखिन्छ । यसैमा बालयौन व्यवसायी इल्जेको सर्वनाश भइसके पनि आफू अझै नै मानवताका लागि उपयोगी भएको दाबी थपिन्छ । यो दाबीले पाठकको मुटु हल्लाउँछ : “बालिका शरीरमा नसुहाएको असमयमै छिप्पिएका स्तन र त्यस्तै तिघ्रा, निर्दोष अबोध बालिका शरीरमा यी दुई अंगले मात्र रसमय भएर मलजलमा हुर्किएका थिए । इल्जेको जीवनसँग यिनको केही आन्तरिक सम्बन्ध थिएन । ऊ त यिनलाई गहनाजस्तो लाएर हिँड्थी र निःतान्त अज्ञानमा तिनको अधिकारिणी भएकाले गर्व गर्थी र भन्थी–हेर, मसँग पनि छन् तिमीलाई काम लाग्ने कुरा ।”

‘म’ पात्र यहाँ पनि थाक्दैन आफ्नो अनन्त खोजमा । उसको सोचाइको वेग जीवन बाँच्न सिकेकी निर्दोष इल्जेले थाम्न सक्ने थिएन । ऊ प्रश्न गर्दछ : “(इल्जे) लाई कसैले भनिदेओस्– तिम्रा यी शृंगार–साधन पटक्क नसुहाउने छन्, त्यस्तो आत्मीय सहृदय पुरुष उसले कहाँ पाइहोली र ? जसले उसलाई भन्थ्यो– इल्जे, तिमीले लाएको ओठ र गालाको लाली, तिम्रा छाती र तिघ्राले तिमीलाई कुरूप बनाएको छ– तिम्रो सुसंस्कृत शरीरलाई एकदम पाखे तुल्याएको छ । त्यति सहृदयताको जिम्मेवारी कसले लिन्थ्यो । यदि कोही पर्यटक त्यति सहृदयी हुन चाहे पनि उसलाई समय कहाँ, त्यति त्यो जिम्मेवारी लिन ? हद गर्‍यो भने माल नकिनेर त्यसको मूल्य मात्र दिएर हिँड्थ्यो र अझ बढी केही गर्‍यो भने फोसामा लन्चप्याकेट र त्यस्तै उपहार दिएर । उसलाई त मैले केही उपकार गर्न सकिनँ । उसले भने अज्ञातमा नै मलाई जीवित नै स्वदेश फर्काई ।” जीवन, स्तन्त्रता तथा न्यायप्रतिको ‘म’ पात्रको धारणा तथा विश्वास अझ गहिरिएको थियो ।

हुन त “हिटलर र यहुदी” अपुरो उपन्यास हो । यसका पात्रहरूको भनाइ तथा दृष्टिकोणहरू विभिन्न पृष्ठमा छरिएका छन् । एघार परिच्छेद भएको यो उपन्यासमा उठाइएका धेरै विषयवस्तुहरू एक–अर्कासँग जोडेर केही अन्तिम परिच्छेदहरू थप्नु आवश्यक हुन्थ्यो । लय, ताल, सुर मात्र होइन, निष्कर्ष पनि चाहिन्छ यस्तो पुस्तकमा । बीपीले त्यो गर्न पाएनन् । तर पनि यसमा भएको विचार विमर्शले आफ्नो तात्पर्य हरेक पृष्ठमा स्पष्ट गरेको जस्तो लाग्छ । एउटा सार्वजनिक बौद्धिक व्यक्तिका रूपमा बीपी खरो देखिएका छन् यो उपन्यासमा । उपन्यासको सन्देश पनि स्पष्ट छ : उद्देश्य जे सुकै होस्, हिटलर प्रवृत्ति खराब हो, मानवताका लागि कलंक हो । यो मानव चेतनालाई स्पष्ट गर्नु नै यो उपन्यासको लक्ष्य हो ।

@बार्ह्खरी

(डा. अधिकारी कानुन क्षेत्रसँग सम्बन्धित छन्)






Related Posts

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution