आज तमु ल्होसार,तमु ह्यल छोंजधिले जुम मार्फत शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

याम्बु — तमु (गुरुङ) समुदायको राष्ट्रिय पर्व ‘तमु ल्होसार’ तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्)ले अनलाइन जुम मार्फत ‘शुभकामना आदानप्रदान’कार्यक्रमको आयोजन गर्ने भएको छ |
यो चाड हरेक पुस १५ गते मनाउँदछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । हरेक बर्ष टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शन सहित मनाउने ल्होसार यसपाली कोभिड-१९ कारण घरघरमै मनाउने भएका छन् | तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेल गर्ने गरिन्थ्यो ।
‘यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम हुने छैन,’ ल्होसारको अवसरमा धेरै कार्यक्रमहरू सुरु रहेको उल्लेख गर्दै छोंजधिका अध्यक्ष रेशम गुरुङले भने, ‘धेरै कार्यक्रमहरू भर्चुअल जुम प्रविधिबाट राखेका छौं । संस्थाको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।’ उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।
‘आज (मंगलबार) राति बाह्र बजे खेंगी गुरुहरूद्वा पूजा, बोन फाएर र रिपा लगाउने, आशिर्वाद ग्रहण गरी पुरानो वर्गको विदाइ र नयाँ वर्गको स्वागत गरिनेछ,’ अध्यक्ष गुरुङले भने । परिषद्ले ल्होसारको मुख्य दिन बुधबार अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा (सभापति, नेपाली काग्रेस)पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)–अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), महन्त ठाकुर–अध्यक्ष, जनता समाजवादी पार्टी,मा.पृथ्वीसुब्बा गुरुङ–मूख्यमन्त्री, गण्डकी प्रदेश,मा. पार्वत गुरुङ–प्रबक्ता, नेपाल सरकार,गोकुल घर्तीमगर–कार्यकारी अध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान,
जगत बराम–अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ लगायत जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूका अध्यक्षज्यूहरुले शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको बताउनु भएको छ |
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ । ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।