इजरायलमा नेपाली राजदुत शाक्य ‘डिप्लोमेटअफ दी इयर’बाट सम्मानित,कामदार पठाउन प्रोटोकल स्वीकृत

तेलअविव – इजरायलका लागि नेपाली राजदूत अन्जना शाक्य ‘डिप्लोमेट अफ दी इयर’ बाट सम्मानित भएकी छन् । एम्बासडर क्लब अफ इजरायलले एक कार्यक्रम गरी उनलाई सम्मान गरेको हो ।
क्लबका अध्यक्ष याथका इल्डन र इजरायली परराष्ट्र मन्त्रालयको शिष्टाचार विभाग प्रमुखले संयुक्त रुपमा राजदूत शाक्यलाई अवार्ड प्रदान गरेका हुन् |
अवार्ड केही महिनाअघि नै घोषणा गरिए पनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन ।
मन्त्रिपरिषद बैठकले इजरायल कामदार पठाउन प्रोटोकल स्वीकृत
इजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयर गिभर लैजाने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सरकारी स्तरबाटै कामदार पठाउने तयारी भएको कारण गत शुक्रबारको मन्त्रिपरिषद बैठकले इजरायल कामदार पठाउन प्रोटोकल स्वीकृत भएको र अब उक्त प्रोटोकल हस्ताक्षर हुन मात्र बाँकी रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।
“यही साताभित्रै प्रोटोकलमा हस्ताक्षर हुँदै छ, तत्कालै हामी कामदार पठाउने प्रक्रिया सुरु गर्छौं,” उनले भने, “हामीले रोजगारीमा जान चाहनेहरुलाई सजिलो होस् भनेर अनलाइन र म्यानुअल दुवै तरिकाले निवेदन दिन सिस्टम बनाएका छौं ।”
यसरी रोजगारीका लागि पहिलो चरणमा पाँच सयजना कामदार लौजाने तयारी हुँदैछ । सरकारी स्तरबाटै कामदार लैजाने तयारी भएकाले इजरायल जान एकदमै कम लागत लाग्ने दाहालले जानकारी दिए । बिमा, टिकट खर्च, कल्याणकारी कोषमा बुझाउनुपर्ने पैसा भने कामदार आफैंले बेहोर्नुपर्ने विभागले जनाएको छ ।
नेपाल र इजरायलबीच सरकारी स्तरमै कामदार लैजाने तयारी असोज पहिलो सातादेखि नै सुरु भएको थियो । इजरायलका लागि नेपाली राजदूत अन्जना शाक्यले असोज पहिलो साता नेपालबाट रोजगारीका लागि जानसक्ने सम्भावित ठाउँहरुको भ्रमण गरेकी थिइन् । असोज १४ गते राजदूत शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो ।
निश्चित उमेर, तौल, उचाइ, मेडिकल सर्टिफिकेट, आपराधिक क्रियाकलापमा संलग्न नभएको प्रमाणपत्रलगायत योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनोट भएर जान पाउने विभागले जनाएको छ ।
दूतावासका अनुसार यसअघि जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (एएनएम वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी तीनमहिने केयरगिभर तालिम लिएका) व्यक्तिहरु जान पाउने बताएको छ ।
सन् २०१५ देखि सरकारी स्तरबाटै इजरायल कामदार पठाउन पाइलट प्रोजेक्ट सुरु गरेको हो ।