हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई

तेलअविव – नेपाली समाज इजरायलले जुम भर्चुअल मार्फत बृहत संवाद कार्यक्रम जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईको प्रमुख अतिथ्यमा सम्पन्न गरेको छ ।
अन्तरक्रियामा प्रमुख राईले संविधान संशोधनको आवश्यकताबारे व्याख्या गर्ने क्रममा गाईलाई सबै जातिले पुज्नैपर्ने बाध्यता बनाउनु नहुने बताएका छ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधानमा गाईलाई राष्ट्रिय जनावर राखेर हिन्दु बाहेकका समुदायमाथि सांस्कृतिक विभेद गरिएको बताएका छन् ।
गाईलाई हिन्दु धर्मावलम्बीहरुले पुज्ने भए पनि हिन्दु बाहेकका समुदायले नपुज्ने उनको भनाइ छ । सबैले गाईलाई पुज्नैपर्ने बाध्यता बनाउन नहुने उनले बताए । उनले भने, ‘हिन्दु धर्म बाहेकका समुदायलाई पनि गाईलाई पुज्नु बाध्यता बनाउनु चाहिँ विभेद हो, यो सांस्कृतिक अतिक्रमण हो ।’
नेपालका किरातलगायत समुदायले गाई/गोरुलाई खानाको रुपमा प्रयोग गर्ने गरेकोतर्पm इंगित गर्दै नेता राईले सो कुरा बताएका हुन् । नेपालका किरातहरुले उधौली–उभौली पुजा गर्दा गोरु काट्ने र मासु चढाउने चलन छ ।
नेता राईले संविधानमा मुलुक धर्मनिरपेक्ष भनिए पनि धर्मको परिभाषा गर्दा नेपाललाई हिन्दु राज्य जस्तै गरी गरिएको बताए ।
उनले भने, ‘हामीले जनताको हकमा धर्मनिरपेक्षता भनेको होइन, राज्यको हकमा भनेका हौ, राज्यले सबै धर्मलाई सम्मान गर्नुपर्छ भनेका हौ,’ उनले भने, ‘धार्मिक कार्य राज्यले गर्ने होइन, व्यक्तिले गर्ने हो, जनताले गर्ने हो । तर धर्मनिरपेक्षताको परिभाषा घुमाएर फेरि हिन्दु राज्य हुने जस्तो गरी गरिएको छ ।’
उनले संविधानले खस नेपाली भाषालाई मात्र नेपाली भाषा मानेको बताए । उनले संविधानले राज्यमा एकल जातीय प्रभुत्व हुने खालको व्यवस्था गरेको, पहिचान अस्वीकार गरेको, अस्थिर खालको शासकीय स्वरुप भएको, निर्वाचन प्रणाली लगायत थुप्रै त्रुटिपूर्ण रहेको कारण संशोधन गर्नुपर्ने बताए ।
उनले आफ्नाे पार्टी वामपन्थी पार्टी रहेको बताए । तर, बामपन्थी भन्नासाथ कम्युनिष्ट पार्टी भनेर बुभ्mनुचाहिँ गलत हुने उनले बताए ।
पूर्व डिआईजी तथा जसपा नेतृ पार्वती थापाले पार्टीमा महिला सहभागिता नभएको प्रति गुनासो
जनता समाजवादी पार्टीकी नेतृ पार्वती थापा मगरले जनता समाजवादीमा पनि अन्य पार्टीमा जस्तै महिलाहरुको सहभागिता न्यून रहेको गुनासो गरेकी छन् ।
नेपाल प्रहरीका पूर्व डिआईजी समेत रहेकी थापाले नेपाली समाज इजरायलले आज आयोजना गरेको जुम अन्तरक्रियामा जनता समाजवादीका वरिष्ठ नेता अशोक राईसामू यस्तो गुनासो गरेकी हुन् ।
‘मैले पार्टीको कार्यकारिणी सदस्यहरुको लिस्ट हेर्दा महिलाहरुको यथेष्ट सहभागिता नभएको महशुस गरे,’ हाल अमेरिकामा रहेकी थापाले भनिन्, ‘समावेशिताको कुरालाई हामीले अरु पार्टीहरुले यसो गर्यो उसो गर्यो भनेर दोषारोपण गरिरहँदा हामीभित्र के कसरी गरिरहेका छौ भनेर हेर्नुपर्छ ।’
उनले पार्टीभित्र समावेशिता लागू गरेर गए त्यसलाई जनताले पनि मूल्यंकन गर्ने बताइन् । कार्यक्रममा सहभागीहरुले प्रश्न राख्ने क्रममा नेतृ थापाले सो गुनासो गरेकी थिइन् ।
वरिष्ठ नेता राईले नेतृ थापाले उठाएको विषयलाई सम्मान गरिने बताए ।
उनले हाल दल सम्बन्धी ऐनले नै केन्द्रीय समितिमा कम्तिमा एक तिहाई महिला हुनुपर्ने बाध्यत्मक व्यवस्था गरेको भए पनि आफूहरुले पार्टीभित्र उक्त बाध्यतालाई पूरा गर्न नसकेको स्वीकार गरे ।
‘अहिले त नेपालको कानुन दल सम्बन्धी ऐनले नै कम्तिमा एक तिहाई महिला केन्द्रीय समितिमा हुनैपर्ने बाध्यत्मक व्यवस्था गरेको छ । म इमान्दारितापूर्वक भन्दछु हामीले त्यो बाध्यत्मक व्यवस्था पनि पूरा गर्न सकेका छैनौ, निश्चय नै यो लज्जाको विषय रहेको छ,’ उनले भने, ‘तर आउने दिनमा हामी पार्टीलाई गौरव गर्न लायक अवस्थामा लग्नेछौ, यहाँहरुले गौरवका साथ भन्नसक्नुहुने छ कि देख्नुभो हाम्रो पार्टीले महिलालाई कति प्राथमिकता दिएको छ भन्ने कुरा ।’
कार्यक्रममा इजरायलमा संगठित राजनीतिका पार्टीका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत सहभागिहरुले नेता राई समक्ष राखेको प्रश्नको जवाफ दिनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा नेपाली समाज इजरायलको अध्यक्ष तथा कार्यक्रमको सभापति सुन्दर सिंह लामा तामाङले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नेता अशोक राई , प्रवास विशेष प्रदेश समितिका इन्चार्ज तथा केन्द्रिय सदस्य आङकाजी शेर्पा,प्रवास विशेष प्रदेश समितीका अध्यक्ष धन गुरुङ लगायत विभिन्न देशबाट प्रत्यक्ष सहभागी हुनुभई महत्त्वपूर्ण प्रश्न ,जिज्ञास जनचासो र जनगुनासो राखी दिनु हुने महानुभावहरु धन्यवाद व्यक्त गरेका थिए ।
कार्यक्रम नेपाली समाज इजरायलका वरिष्ठ उपाध्यक्ष कुमार पौडेलले कुशलतापुर्वक युवा जोशका साथ संचालन गरेका थिए ।
कार्यक्रमको पूर्ण भिडियो