नेपाली ‘केयर गिभर’ पठाउन इजरायलसँग श्रम सम्झौता गरिने

याम्बु – नेपालले इजरायलसँग श्रम सम्झौता गर्नका लागि त्यहाँका राजदूत अन्जान शाक्यलाई अख्तियारी दिएको छ।असोज ६ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।
त्यहाँका नागरिकसरह श्रमको सेवा सुविधा र संरक्षण पाउनेगरी केयर गिभरको रुपमा नेपाली नागरिकलाई इजरायल लैजानका लागि दुई सरकारबीच श्रम सम्झौता हुने उनले बताए।
नेपाली दुतावास इजरायलको सार्वजनिक ध्यानाकर्षण
इजरायल जान चाहनेहरुले आफूलाई सम्पर्क गर्नुहोला भन्दै ठगी गर्ने कुत्सित मनसायका साथ सामाजिक सञ्जालमा केही व्यक्तिले गलत सूचना फैलाएकोप्रति दूतावासको ध्यानाकर्षण गरेको छ।
इजरायलको नर्सिङ क्षेत्र (Hospitals, Nursing Homes, Day Care Centers, etc.) मा नेपाली केयरगिभर ल्याउने सम्बन्धमा निकट भविष्यमा नेपाल र इजरायल सरकार बीच सम्झौता हुँदैछ। तर यसअघिको जस्तो घरभित्र काम गर्ने नभएर नर्सिङ क्षेत्रमा निश्चित योग्यता भएका (ANM वा अन्य त्यस्तै शैक्षिक उपाधि हासिल गरेका वा १२ कक्षा पास गरी ३ महिने केयरगिभर तालिम लिएका) व्यक्तिहरु, अंग्रेजी भाषा उत्तीर्ण (लिखित तथा अन्तर्वाता दुबै) गरेका, निश्चित उमेर, तौल, उचाइ, Medical Certificate, No Criminal Certificate लगायतका योग्यता पुगेका व्यक्तिहरु स्वच्छ प्रतिस्पर्धाबाट छनौट भएर आउनुहुनेछ। साथै यसअघि इजरायल आएका व्यक्ति उम्मेदवार हुन सक्नु हुनेछैन। छनौट प्रक्रियामा श्रम मन्त्रालय र वैदेशिक रोजगार बिभागका अलावा निजी क्षेत्र वा अन्य व्यक्तिको संलग्नता नहुने भएकाेले कुनैपनि हल्लाका पछाडि नलाग्न आग्रह गर्दै सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
यस सम्बन्धमा दूतावासले उपयुक्त समयमा सूचना प्रकाशन गरिने नेपाली राजदूतावासले जनाएको छ ।