इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता

तेलअविव – नेपाली कामदारहरुको लागि इजरायलको नर्सिङ क्षेत्रमा रोजगार खुल्ला भएको छ । नेपाली दुतावास इजरायलको पहलमा इजरायली पक्षलाई रोजगार खुलाउन सकारात्मक बनाउन सफल भएको छ । नेपाल र इजरायल बीच सरकारी स्तरमा एक सम्झौता गरी नेपालबाट इजरायलको नर्सिङ क्षेत्र अस्पताल,नर्सिङ होम र डेकेयर सर्भिसमा केयरगिभर ल्याउने बाटो खुल्ला गरेको नेपाली दुतावास इजरायलले जानकारी दिएको छ । सम्झौता अनुसार पहिलो वर्ष करिव ५०० को संख्यामा नर्सिङ क्षेत्रका नेपालीहरु इजरायल आउन पाउने भएका छन् ।
नेपाली दुतावासको अनुसार इजरायली र नेपाली पक्षबीच उच्च स्तरीय तहमा जुम मिटिङ मार्फत सम्झौता गरेको हो । इजरायली परराष्ट्र मन्त्रालयद्वारा संयोजन गरिएको मिटिङमा इजरायली टोलीको नेतृत्व इजरायलको परराष्ट्र मन्त्रालयको Consular Affairs Division प्रमुख स्टेल रप्पले गर्नुभएको थियो भने नेपाली टोलीको नेतृत्व नेपालको परराष्ट्र मन्त्रालयका सहसचिव श्री हरिश्चन्द्र घिमिरेले गर्नुभएको थियो।
इजरायलका लागि नेपाली महामहिम राजदूत डा. अन्जान शाक्य, नेपालका लागि ईजरायली राजदूत बेनी वोमेर ,नेपालका लागि इजरायली प्रस्तावित राजदूत हनान गोदर सहितको छलफलमा इजरायलको Prime Minister’s Office, Ministry of Health, Ministry of Justice, Population and Immigration Authority (PIBA) लगायतका सम्बन्धित निकायका अधिकारीहरुका साथै नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक लगायत परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुको समेत सहभागिता रहेको थियो।
महामहिम राजदूत डा. अन्जान शाक्यले प्रारम्भिक चरणको छलफल भएपनि लामो प्रतिक्षा तथा अनवरत प्रयासपश्चात् नेपालबाट इजरायलमा केयरगिभर ल्याउने प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्नुभएको छ। कार्यक्रममा बोल्दै वहाँले दुबै मुलुक लाभान्वित हुने भएकोले यस प्रक्रियालाई छिट्टै निश्कर्षमा पुर्याएर आगामी दिनमा होम बेस केयरगिभर ल्याउने प्रक्रिया समेतलाई पूर्णता दिन आफू सक्रियतापूर्वक लागिपर्ने बताउनु भएको छ ।
यसलाई सफल तुल्याउन सकिएमा आगामी वर्षहरुमा समेत यसले निरन्तरता पाउने देखिन्छ। त्यतिमात्रै नभएर यदि यसमा हामी सफल हुन सक्यौं भने होम बेस केयरगिभर क्षेत्रमा सम्झौता गर्न समेत मद्दत मिल्ने नेपाली दुतावासले जनाएको छ ।
इजरायलीहरु नेपाल तथा नेपालीलाई निक्कै मन पराउँछन्। नेपालीहरुको ईमान्दारिता, अनि कामप्रतिको लगनशीलताबाट इजरायलीहरु प्रभावित छन्। मिहिनेती, सीधासादा स्वभाव तथा मृदुभाषी भएकाले इजरायलमा नेपालीहरुको माग जति छ कमाई तथा रोजगारीजन्य सुरक्षाका दृष्टिले इजरायल पनि नेपालीको उत्तिकै रोजाइ एवं आकर्षक गन्तव्य मुलुकमा रुपमा रहेको छ।
विगतमा नेपाली पक्षले गरेको गल्तीका कारण नेपालको शाख केही गिर्न पुगेको थियो जसका कारण निरन्तर पहलका वाबजुत इजरायली पक्षलाई सकारात्मक बनाउँदै नेपालबाट इजरायलमा केयरगिभर ल्याउने प्रक्रियालाई पुनः सुचारु गर्न धेरै गार्हो भएको थियो ।
इजरायलमा मासिक रुपमा अमेरिका डलर बार्ह सय देखि अठार सय सम्म कमाई हुन्छ ।