इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार
इजरायल : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गरेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।
यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्ट कम्पनीले यसको विकास गरेको हो । यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ । यस उपकरणलाई एक–दुई महिनाभित्रै नियामक निकायबाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीको भनाई छ ।
कम्पनीका प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोगशाला परीक्षणको अलग्गै महत्व हुने बताए । तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिसलाई आत्मविश्वास सिर्जना गर्ने उनको भनाइ छ । इजरायलको नानोसेन्ट कम्पनीले वर्षौंदेखि औषधि विज्ञान सहित उच्चस्तरका संवेदनशील उपकरण निर्माण गरिरहेको छ ।
रासस–एएफपी