इजरायल र साईप्रसबाट नेपाल फर्कन चाहनेको नामावाली परराष्ट्र मन्त्रालयमा पुग्यो

तेलअविव – नेपाली दुतावास तेलअविव इजरायलले कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा इजरायल र साईप्रसमा रही नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीहरुलाई फारम भर्न राजदूतावासले आह्वान गरे अनुरुप साईप्रसमा रहनुभएका ४१५ जना र इजरायलमा रहनुभएका ४८ जना नेपाली नागरिकहरुले फाराम भरी उपलब्ध गराउनु भएको नामावली विवरण परराष्ट्र मन्त्रालयमा पठाइसकिएको दुतावासले जानकारी दिएको छ।
हालसम्मको आँकडा अनुसार साईप्रसमा २ वटा उडान गर्नुपर्ने देखिन्छ। प्राथमिकीकरणका आधारमा अत्यन्तै जरुरी भएकालाई पहिलो उडानमा समावेश गरिनेछ जसअन्तर्गत आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्नेहरु, कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएकाहरु, सुत्केरी तथा गर्भवती महिलाहरु, बालबालिकाहरु, ज्येष्ठ नागरिक र अपांगता भएकाहरु, अध्ययन समाप्त भएका विद्यार्थीहरु (इन्टर्न समेत), पर्यटक तथा व्यापारिक भिसामा आएकाहरु, भिसा समाप्त भएकाहरु, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएकाहरु पर्नेछन्। “हाल साईप्रस तथा इजरायलमा रही नेपाल फर्कन चाहनुहुनेले भर्नुपर्ने फाराम” भरेको र माथि उल्लेखित वा अन्य कुनै कारणले आफू पहिलो उडानमार्फत् नेपाल जानुपर्ने लागेमा उक्त कारण खुलाई (पुष्ट्याँई सहित) छिटोभन्दा छिटो दूतावासमा ईमेल वा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हाल साईप्रस तथा इजरायलमा रही नेपाल फर्कन चाहनुहुनेले भर्नुपर्ने फाराम भर्दा स्थायी ठेगाना, नेपाल फर्केर बस्ने ठेगाना र क्वारेन्टाईनको विवरण उल्लेख नगर्नुभएको भए पुनश्च:दुतावासको इमेलमा भरेर पठाउन अनुरोध गरेको छ ।
इमेल गर्दा राहदानी नम्बर,स्थायी ठेगाना – प्रदेश नं./नाम, जिल्ला, गा.पा./न.पा., वार्ड नं.,नेपाल फर्केपछि बस्ने ठेगाना – प्रदेश नं./नाम, जिल्ला, गा.पा./न.पा., वार्ड नं.क्वारेन्टाईनमा बस्ने ठाउँ – होटल क्वारेन्टाईन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाईन मध्ये एक रोजेर जानकारी दिनु पर्नेछ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।०२।१२ को निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ मा तेश्रो मुलुकबाट स्वदेश फर्कनै पर्ने नेपालीको सम्बन्धमा देहायबमोजिमका प्रावधानहरु उल्लेख छन्:
अन्तर्राष्ट्रिय हवाई उडानबाट स्वदेश आउने व्यक्तिले हवाई उडान अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि सी आर, आर डि टी वा अन्य) को प्रमाण साथमा राख्नु पर्नेछ। (थप जानकारी पछि उपलब्ध गराइनेछ)।
हवाई उडानबाट नेपाल फर्कनेका लागि काठमाण्डौको चक्रपथ आसपासका उपयुक्त पार्टी प्यालेसहरुमा प्रदेशगत रुपमा (कम्तीमा एउटा पर्ने गरी) अलग अलग अस्थायी होल्डिंग सेन्टरहरुको व्यवस्था गरिनेछ।
विमानस्थल आगमन कक्षमा स्वास्थ्य घोषणा फाराम भर्न लगाइ ज्वरो नाप गरिनेछ। १००.४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आएकालाइ त्यहींबाट आइसोलेशन कक्षमा लगिने र अन्यलाई भन्सार सम्बन्धी प्रकृया पूरा गरी प्रदेशगत रुपमा व्यवस्था गरिएका बसबाट नेपाली सेनाको संयोजकत्वमा सोझै होल्डिंग सेन्टरहरुमा लगिनेछ।
होल्डिंग सेन्टरमा रहेकाको पालिकागत विवरण तयार गरिने र ट्रेसिंग सहजताका लागि निजको मोबाइल नम्वर लिईने छ । मोवाइल नम्वर नहुनेका लागि निःशुल्क सिमकार्ड वितरण गरिनेछ, जुन कम्तीमा ६० दिन अनिवार्य प्रयोग गर्नु पर्नेछ र आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिमा नियमित रुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नुपर्नेछ।
होल्डिंग सेन्टरमा आवश्यक प्रक्रिया पूरा गरेपछि आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न चाहनेलाई सीधै व्यवस्था गरिएको होटलमा र स्थानीय तहको निःशुल्क क्वारेन्टाइनमा बस्नेहरूलाई सम्बन्धित जिल्लासँग समन्वय गरी जिल्लागत रुपमा छुट्याइएका यातायातका साधनबाट जिल्ला सदरमुकाम सम्म पुर्याइनेछ।
जिल्ला सदरमुकाममा पुगेकालाई सम्बन्धित स्थानीय तहले जिम्मा लिई तोकिएका क्वारेन्टिनमा राख्नेछ।
खर्चको हकमा हवाई भाडा, स्थानीय यातायातको खर्च तथा होटलमा क्वारेन्टिन बस्न चाहने व्यक्तिले होटलको खर्च आफैंले व्यहोर्नु पर्नेछ। तर होल्डिंग सेन्टरको भाडा तथा स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टिनमा १४ दिन बस्दा लाग्ने खाना खर्च नेपाल सरकारले व्यहोर्ने छ।
क्वारेन्टिन अवधि पूरा गरी घर फर्केपछि पनि थप ७ दिन सम्म छुट्टै आइसोलेशनमा बस्नु पर्ने व्यहोरा पनि अवगत गराइएको छ।
नेपाल सरकारले जारी गरेको उल्लेखित आदेश उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गरिनेछ।