हेडलाईन

तामाङ मौलिक गीत फापारे व्हाइ गायन प्रतियोगिता ताबान,आज चौथो दिन         तामाङ घेदुङ इजरायलको अध्यक्षमा सिता कुमारी घिसिङ तामाङ सर्वसम्मत चयन         आज किराँत धर्मगुरु फाल्गुनन्दको १३६ औं जन्म जयन्ति         तामाङ घेदुङका पूर्वसल्लाहकार तथा पूर्वसांसद् वीरबहादुर लामा तामाङको निधन         अमेरिकी चुनाव २०२० मा जो बाइडेन विजयी,को हुन् जो बाइडन ?         तामाङ घेदुङ साईप्रसको अध्यक्षमा लक्ष्मी ब्लोन तामाङ चयन         नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन         तामाङ सोसाईटी अफ अमेरिकाको दशौ अधिवेशनबाट अध्यक्षतामा छेमाङ तामाङ चयन         इजरायलमा यसपाली मणिपूजा कार्यक्रम अनलाइन भर्चुअल मार्फत हुने         एनआरएन इजरायलले शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने         इजरायलमा चाडपर्वहरुको अग्रिम शुभकामना आदानप्रदान कार्यक्रम हुदै         सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो         तामाङ भाषाको गितसंगीतमा अन्तराष्ट्रिय टिकटक प्रतियोगिता हुने         हिन्दुधर्म बाहेकका समुदायलाई गाई पुज्नु बाध्यता बनाउनु विभेद हो : अशोक राई         एनआरएनए इजरायलले अनलाइन मार्फत स्वास्थ्य परामर्श कार्यक्रमको आयोजन गर्ने        

आत्मबलले हराऔं भाइरसलाई

छ महिनाअघि चीनबाट कोरोना शुरू हुँदा मानवताको नाताले जागेको समवेदना त थियो नै, तर आफूतिर सोझिएको चिन्ता थिएन । चीनमा हायलकायल जारी राख्दै र अन्य छिटफुट देशमा आफ्नो शक्ति देखाउँदै कोरोना एकाएक युरोप, अमेरिका हानियो । उच्चस्तरीय स्वास्थ्य सुविधासहित विकास र समृद्धिको चरम स्वाद चाखिरहेका युरोपेलीको जनजीवनसमेत तहसनहस पार्न उसलाई धेरै समय लागेन । तीव्र रूपमा फैलिएको संक्रमणसंगै ज्यान गुमाउनेको सख्या बढिरह्यो । उच्च गतिको संक्रमण र सोही अनुपातको मृत्युश्रृङ्खला हृदयविदारक बन्यो । अन्त्येष्टिका लागि ठाउँ अभावका खबरसहित यत्रतत्र छरिएका शवका थुप्राले विश्वलाई नै भयभित बनायो ।

छिमेकी मुलुक भारतमा यसको प्रहार शुरूभएपछि सशंकित मनोविज्ञान झनै चुलियो । कोरोना उत्पत्ति हुने चीन पनि छिमेकी मुलुक । तर बन्द सिमानाका कारण खासै चिन्ता जागेको थिएन । चीनबाट बाहिरिएसँगै धेरै ध्वंस मच्चाइसकेको भाइरस खुला सिमानाको अर्को छिमेकी देश छिरेपछि डर बढ्नु स्वभाविकै थियो । सरकारले भारतलगत्तै नेपालमा पनि लकडाउन घोषणा ग¥यो । पश्चिमी मुलुकमा जारी कोरोना बबण्डरले सजगताको पाठ यथेष्ट सिकाइसकेको थियो । मुलुकभित्र लकडाउन शुरू भएपछि सजगतामा केही भय पनि मिसियो । जिन्दगीमा पहिलो पटक खेपिदै थियो लकडाउन, त्यो पनि विश्वलाई आक्रान्त पारिरहेको भाइरसबाट बच्न ।

चीनले शुरू गरेको लकडाउन र यसबाट मिलेको सफलता अन्य मुलुकले पनि अनुसरण गरिरहेकै थिए । यसर्थ, लकडाउन नौलो र अविश्वसनीय त थिएन । तर आफ्नै मुलुकमा लकडाउन जारी भएपछि यसप्रति विश्वास र अविश्वासको तरंग अलि बाक्लै चलिरह्यो । त्यस्तो शक्तिशाली र विध्वंसकारी अदृश्य भाइरसबाट मुलुकलाई के लकडाउनले साँच्चै सुरक्षा दिन सक्ला त ?

दैनिक प्रातकालीन हिँडाइ आफ्नो नित्यकर्म । जाडो, गर्मी, झरी, बादल केहीले पनि नछेकेको । अघिल्लो दिन घोषित लकडाउनले त्यो कर्म रोकिने निश्चित भयो । लकडाउनको पहिलो बिहान बाहिरको अवस्था कस्तो हुँदो हो ? मैजस्तो आदतका अरू मान्छेको सडकमा उपस्थिति के कसो रहेछ ? हुटहुटी एकाएक बढ्यो र मास्क लड्काएर पाइला सडकतर्फ सोझिए । अनौठो केही भएन । बिहान हिँड्नेहरू सधैंझैं सडकमा पैताला बजारिरहेका भेटिए । अधिकांशले मास्कको जरुरत पनि नदेखेका । लकडाउन शुरू हुने ६ बजे अगावै गृहप्रवेश गरिएकाले उल्लंघनको ग्लानि त थिएन तर भोलिदेखि बाहिर ननिस्कने प्रण यात्राकै दौरान गरियो । आफू एक जना त हो नि भन्दै सबै बाहिर निस्किए लकडाउनको के अर्थ ?

सधैंझैं बिहान साँढे तीन बजे ओछ्यान छोड्ने परम्परा लकडाउनले पनि तोडेन । ४५ मिनेट जतिको नियमित प्राणायाम सकियो । त्यसपछि शुरू हुने ४०–४५ मिनेटको कसिलो हिँडाइलाई केले प्रतिस्थापन गर्ने ? समस्या त्यही थियो । एकोहोरो हिँडाइ सबैभन्दा सजिलो व्यायाम । यसको तुलनामा धेरै अगाडीेदेखि बन्द भएको शारीरिक कसरत पुनः थाल्न शरीर त्यति उत्सुक थिएन तर छतको चिसो हावामा निस्किएर गर्नुपर्ने एकएक कर्म दिमागद्वारा निर्र्देिशत भएपछि सोहीअनुसार शरीर नचलेर भो र ? ३५ मिनेट शिरदेखि पाउसम्मका सबै कसरत सकीनसकी सकायो शरीरले ।

दिमागको आदेश बमोजिम कडा व्यायाम पूरा गरेको व्यग्रतासँगै त्राण खोज्दै थियो शरीर । तर दिमागको असन्तुष्टि यथावत ! उस्तै आयतनका तल्लो र माथ्लो छत फन्को मार्दै यी दुईलाई जोड्ने १५ खुट्किले भ¥याङ एक सासमा चढ्ने र ओर्लने अर्को आदेश फर्मान भैहाल्यो दिमागबाट । त्यो पनि लगातार १५ साइकल पूरा गर्नैपर्ने । दिमागको अगाडि शरीरको केही जोर चलेन । चूपचाप पूरा ग¥यो विचरो शरीरले, कठोर हाकिमको आदेश निरीह कामदारले पालना गरे सरह ।

अरू दिन बिहानी हिँडाइसँगै दूग्धजन्य पदार्थ घर भित्रन्थ्यो । हिँडाइको कर्म घरमै पुर्ताल भए पनि तिनै चीजका लागि पसल नगई भएन । हुनेसम्मको कोरोना सजगता अपनाउँदै लागियो त्यतातिर । कान्ति र टिचिङ अस्पतालको बीचबाट चक्रपथ जोड्ने बाटो । झर्दा ओरालो, चढ्दा ठाडो उकालो । बानी नपरेकालाई यो उकालोले हुरुक्कै बनाउँछ । पहिलो पटक सवारी साधन चलाउनेका पसिनै छुट्छन् । तर, त्यहीँ बाटोसँगको नाता प्रगाढ भएकाले आफूलाई भने उकालो, ओरालो दुवै अति प्रिय । तुफान हिँडाइमा पनि आफ्नो कारोवारको पसल पुगेर फर्किन १२—१५ मिनेट लागिहाल्ने । यही हिँडाइ बिहानी व्यायामको अन्तिम अंश बनेर टुंगिएपछि थाकेको शरीर २० मिनेटको ध्यानमुद्रामा लिन हुने गरेको छ । अभ्यस्तका सुझावअनुसार लकडाउनपछि थपिएको उपक्रम हो यो । एकाग्रता नपुगेरै होला, ध्यानबाट चरम आनन्द मिल्न सकेको छैन तर सुमधुर धुनसहित २० मिनेटको चकमन्न मुद्रामा थाकेको शरीरले राम्रै आराम महसुस गर्छ ।

त्यसपछिको लगभग ३५ मिनेटको समय सांगीतिक रियाजका लागि । हारमोनियमको प्रत्यक्ष धुन अनि अपलोडेड तानपुराको सुरसँगै रियाजमा डुब्दा ध्यानबाट मिल्न नसकेको आनन्द तुरुन्तै मिलिहाल्ने । यस्तो लाग्छ पूरा दिन यसैगरी बिताउन पाए ! संगीत अनन्त गहिराइको महासागर हो । जति डुब्ने कोसिस ग¥यो, त्यति तैरिएको मात्र आभास हुने । सतहमै त यति आनन्द, गहिराइ नै भेटे कस्तो होला ? बोली फुट्दादेखि जिन्दगीको अन्तिमसम्म संगीत साधनामा लीन हुने महान् उस्तादले मात्र चाख्ने त्यो स्वाद, सोखले उचालेर आधा घण्टे अभ्यासमा सीमित हुने म जस्ताले कल्पना गर्ने कुरै होइन । तैपनि जे जति हासिल छ, जिन्दगीको सर्वप्रिय पाटो त्यही लाग्छ । साढे ६ देखि साढे ७ बीचको एक घण्टे चियानास्ता प्रबन्धका लागि भान्सामा बित्ने गर्छ ।

एफएमका समाचार सुन्ने, सामाजिक संजालमा अपडेट हुने, आएका म्यासेजहरूको जवाफ दिने तथा मुख्य न्युजसाइटका हेडिङमा आँखा डुलाउने क्रम सोही अवधिमा हुन्छ । आवश्यक किनमेलमा निस्कन तोकिएको समय बिहानै हो । केही दिनको अन्तरालमा बिहानी नास्तापछिको गन्तव्य बजारतर्फ बनाउनै प¥यो । अरू दिनमा भने आफन्त, साथीभाइ तथा शुभचिन्तकबीच ८ बजेसम्म वार्तालाप लम्ब्याउने ठाउँ रहन्छ । यो महत्वपूर्ण पनि छ यतिबेला । आत्मीय मनबाट आएका शुभेच्छा, माया, सोधीखोजी अनि सदाशयले बिहानैदेखि ऊर्जा भरिएको आभास गराउँछ । लामो लकडाउनमा यिनै आयामले त सम्बन्धलाई जीवित राखिरहेका छन् ।

केही संजालीय सम्बन्ध यही अवधिमा टुटाउनु पनि परेको छ । विशेष गरी बेतुकको च्याटमा लिन हुन खोज्नेहरू यसबाट प्रभावित भए । सबैको अवस्था उही हो, हरपल नयाँ के हुन्छ र ? निश्चित अन्तरालमा सम्बन्धलाई पुर्नताजगी गर्नु स्वभाविकै हो तर एकै दिनमा धेरै पटक एकैखाले किचकिच वास्तवमै झर्कोलाग्दा हुन्छन् । तर कतिपयलाई अर्काको चाहना वास्ता नगरी त्यसैमा रमाउने बानी नै हुँदोरहेछ ।

‘लकडाउनमा पनि यति बेफुर्सद ? केके गरिन्छ हौं ? अनलाइन भएर पनि नो रिप्लाई ? के छ नयाँ ? के गर्दै ? इट्स भेरी हार्ड टु पास दि टाइम, प्लिज कम टु दि च्याट सुन् । खाजामा के खाइयो ? मलाई खै त ?’ यस्तैयस्तै पलपलका उही अर्थहीन सोधाइ । तुरुन्तै जवाफ अनि वार्तालापको अपेक्षा । सो पूरा नभए बेला न कुबेला सिधै भिडियो कल, त्यो पनि तारन्तार । सकेसम्मको संयम काम नलागेपछि जजसका निम्ति जे निर्णय गरियो, त्यसप्रति पश्चाताप छैन ।

‘यति फुर्सदिलो समयमा पनि बेपत्ता भएर कता व्यस्त हो ?’ नजिकका साथी र चिनेजानेकाले समेत यही झटारो फालिरहेकै हुन्छन् । तर आफ्नै मर्जीको क्रियाकलापभित्र रमाउने बानी परेकाले विहान ३:३० बजे शुरू भएको दिन बितेको पत्तो हुँदैन । मेरै लागि दिनमा केही घण्टा अझै थपिए पनि हुने नि, असम्भव लालसा समेत जागृत भैदिन्छ । अनि हरेक आकांक्षीको च्याट र भिडियोमा छाउनु कसरी ?

अहिले अध्ययनमननको उपयुक्त समय हो । पढ्न नभ्याएर थाती रहेका पुस्तकको सामिप्यले अर्कै दुनियाँमा पु¥याइदिन्छन् । पढ्न अभिप्रेरित गर्ने तथा त्यसमा इँटा थप्न आफूसँग भएका पिडिएफ भर्सन इमेलमार्फत पठाइदिने सबैप्रति आभार नहुने कुरै भएन । लेखन भने अचेल उस्तो जम्न सकेको छैन । कारण वर्तमान परिवेश नै हो । लकडाउनले पत्रिका, म्यागेजिन सबै प्रकाशित छैनन् । अखबारका पाना पातलिएका छन् । जति छापिन्छन्, तिनमा वरिष्ठहरूकै रस्साकस्सी छ । ठूला ठानिनेहरू सबैले लेखनमै भएभरको बल लगाइरहेका छन् । औंलामा गन्न सकिने वरिष्ठहरू पालैपालो जुनसुकै माध्यममा घुमीफिरी छाइरहनु त्यसैको उपज हो । उनीहरूको ओजमा सानातिनाले चुनौती दिनसक्ने कुरा आएन न, त प्रकाशकहरूकै मानसिकता सबैलाई समेट्ने खालको देखिन्छ । यति भएर पनि आफ्नो मनमौजी लेखन केले रोकिन्थ्यो र ? चलिरहेकै छ बेलाबेला । आखिर सिर्जना कहिल्यै बेकम्मा पनि त हुँदैन ।

जुनसुकै विधाको ज्ञानसीप लिन खोज्नेलाई गजवको अवसर छ अहिले । युट्यूव÷गुगलमा सर्च गर्दा नपाइने कुनै विषय छैन । लकडाउनको अवसर पारेर यसमा अझै व्यापकता आएको छ । सुरुवातदेखि नै कुनै विषयमा लगाव राखेको व्यक्तिले उक्त विषयमा सिंगोपांगो ज्ञानसीप हासिल गर्ने बेला भैसक्यो । रुचिअनुसार ज्ञान बटुल्न मेरा लागि पनि युट्युव÷गुगल सहायकसिद्ध छन् यतिबेला । संस्कृतका मन्त्र तथा श्लोकहरू विशेषतः प्रिय लागिरहेका छन् । सिक्ने चाहना दिन प्रतिदिन बढ्दो छ । सुरुका कठिन उच्चारण बिस्तारै सहज अनि छुट्टै आनन्ददायक लाग्ने रहेछ । पाश्चात्य दर्शनभित्र समेत निरन्तर पकड बढाउँदै गइरहेको संस्कृत,हामी पूर्वीय दर्शनधारीका लागि त गौरवकै विषय हो । इच्छा जागेका अन्य धेरै विषय छन् तर जेका लागि पनि आवश्यकता आखिर समयकै । घरभित्रका सरसफाइ, उचित व्यवस्थापन, समयसमयका खानपान लगायतले पनि समय खोसिरहेको हुन्छ । यसरी सबैतिरबाट तानातान हुने समय, लकडाउन भन्दैमा बढी कहाँ भएको छ र ?

बिहान फलफूल र झोलिलो पदार्थ मात्र । १२ बजे ग्रीन सलाद सहितको खाना । ४ बजेको हाराहारीमा हल्का नास्ता अनि बेलुका सातको वरिपरि ग्रीन सलाद सहित लाइट डिनर । लकडाउने खानपान र समय तालिका यही हो । जीवन रहेसम्म साथ दिने बाचाका साथ ८ वर्षदेखि मधुमेह अनन्य मित्र बनिरहेको छ । उसैले खानपानमा यति सजग हुन सिकाएको ।

लकडाउन शुरूभएपछि युट्युवे परिकारले सामाजिक संजालका भित्ता खूबै भरिए । आफन्तहरूकै संजालभित्र पनि बनेका चिजविज सचित्र आदानप्रदान भइरहन्छन् । हैसियतवालाले यसलाई नयाँ परिकार सिक्ने उचित अवसरकै रूपमा व्याख्या गरेका छन्, कुरा सही हो पनि । सवैतिरको यो माहोलले विशेषतः सन्तानलाई प्रत्यक्ष असर पारिहाल्ने । तिनकै इच्छा र केही नयाँ सिक्ने आफ्नै लालसाले युट्युवे परिकार बनाउनेतर्फ पनि बेलाबेलामा मन गइरहेकै हुन्छ । तर स्वास्थ्य अनुकूल र घरेलु चिजविजकै प्रयोगको मापदण्ड भने उल्लंघन गरिएको छैन । बजारका अस्वस्थकर परिकार उही स्वाद र स्वस्थ किसिमले कम खर्चमा घरैमा तयार हुने रहेछन् । तर अपशोच यसमा छ कि यति जान्न पनि लकडाउन नै कुरेर बसिएछ !

खानपानमा मात्र सजग भएर पुग्दैन सुगर रोगीलाई, क्रियाशील दिनचर्या, सकारात्मक सोच लगायत पनि उत्तिकै आवश्यकता रहन्छ । बाहिर निस्कन नमिल्ने यो समय बोझिलो र निष्क्रिय राख्नै भएन । स्वस्थ मानिसलाई समेत सक्रियताको उत्तिकै जरुरी छ । यसैलाई मध्यनजर गर्दै लकडाउन शुरूभएलगत्तै विश्व स्वास्थ्य संगठनका प्रमुखले एउटा भिडियो सन्देश जारी गरे । लगातारको आधा घण्टे बसाइपछि केही मिनेट चलखेल गर्ने सुझावका साथै शारीरिक र मानसिक स्वस्थताका लागि सक्रियता र खानपानमा विशेष ध्यान दिन उक्त भिडियोमा भनिएको छ । शारीरिक सक्रियता नै चाहिने रोगीलाई यी दुवै कुरा झन् अपरिहार्य भैहाल्यो । घरको सरसफाइ, सबै कुराको प्रणालीबद्ध व्यवस्थापन, किनमेल, भान्साका काम लगायतले निश्चित अन्तरालमा दिनभर पनि शरीर चलायमान बनाइरहेकै हुन्छ । शारीरिक सक्रियता, स्वस्थ आहार, पढाइलेखाइ साथै रुचिको ज्ञान बढाउने अवसर, सफा र व्यवस्थित परिवेश, मनोरञ्जन, शुभचिन्तकका शुभेक्षा, पारिवारिक ममता यी सप्तरंगी इन्द्रेणीले सवैखाले नकारात्मकताका विरुद्ध रक्षाकवचकै काम गरिरहेको छ । घरभित्रको यति लामो कैदी जीवन बोझिलो नहुनुको रहस्य पनि यही हो ।
लकडाउन शुरूभए यताका बाहिरी दृश्यले भने हरबखत थिचोरिरहेको हुन्छ । समाजमा कायम वर्गबीच असमानताको दूरी अत्यन्तै तन्किएको जहीँतहीँ देखिन्छ । लकडाउनलाई लामो पर्वकै रूपमा ग्रहण गर्न हैसियतवालालाई कुनै अप्ठेरो छैन । उनीहरूका खानपान, मोजमस्ती, मनोरञ्जन लगायत रोमाञ्चक जीवनशैली घरभित्र सीमित हुँदैनन्, सामाजिक संजालमा निसंकोच फिँजिन्छन् । उता, लकडाउनको सुरुवातदेखि नै भोकले तड्पिएका वर्गको आर्तनाद अत्यन्तै कहालीलाग्दो छ । ती परिवारभित्र रोगले थलिएका विरामी र बालबालिकाको स्थिति अझ बढी कारुणिक छ । दैनिक श्रमबाट गुजारा गर्ने वर्ग सबैभन्दा बढी मारमा परेको छ यतिबेला । आम्दानीको बाटो बन्द, निरन्तर लम्मिँदो लकडाउन । हारगुहारपछि एकपटक राहत बाँड्यो सरकारले । सिमित राहतबाट कति दिन गर्जो टर्नु ? सरकार भने वितरित सोही राहतपछि आफ्नो दायित्व सकिएको जस्तै अवस्थामा छ । समाजको अवस्था र सरकारको रवैयाबाट अत्यन्तै दुःखदायी घटना हुन थालिसकेका छन् ।

भारी बोकेर जीवन धान्दै आएका एक भरियाले भोककै कारण केही दिनअघि कीर्तिपुरमा आफ्नो जीवनको भारी बिसाए । घरमा चुलो नबलेको चार दिनपछि खानाको खोजीमा भौतारिँदाभौतारिँदै अघिल्लो हप्ता सप्तरीका मलर सदाको प्राण गयो । जसरी भए पनि खाना लिएर आउँछु भन्दै पत्नीलाई आश्वासन दिएर हिँडेका सदाको मृत्युपछि उनी आश्रित परिवारको हालत अव के होला ? संचारमा आएका यी घटना केही नमुना मात्र हुन् । समाजभित्रको अरू दर्दनाक स्थिति यसैबाट अनुमान गर्न सकिन्छ । नागरिकको ज्यान नरहनु, अपुरणीय क्षति हो, चाहे त्यो रोगको कारण होस् या भोकको । देशभित्र कोही नागरिक भोकले मर्छ भने लोकतान्त्रिक राज्यका लागि त्योभन्दा लज्जाजनक अवस्था अरू केही हुँदैन ।

समाजमा केही मनकारीहरू पनि नहुँदा हुन् त झन् कति भयावह भैसक्थ्यो होला अहिलेसम्म ? जोरपाटी, सुन्दरटोलका युवा एक नमुना हुन्, जसले आफूहरूबीच खर्च बटुलेर दैनिक ३ सय जना भोकले तड्पिएकाहरूलाई दैनिक दुई छाक खाना खुवाइरहेका छन् । स्थानीयको मद्दतले उनीहरूको हौसला बढाएको छ । राजधानीमा लकडाउनको प्रहार खेप्न नसकेर टाढाटाढाको थातथलो समेत हिँडेरै हानिनेहरू उस्तै दुःखका भागिदार बने तर ठाउँठाउँमा देखिएका उपकारी मनहरूले उनीहरूका लागि गरेका खानपानको बन्दोबस्त त्यस्तै स्तुत्य कर्म थियो । सोही खाले सुकर्म गर्नेहरू अन्यत्र पनि रहेका दृश्य देखिएका छन् जसले स्थितिलाई विकराल हुनबाट केही हदसम्म जोगाएका छन् । कुनै मिडियाबाजीविना आफ्नो घरटोल छेउछाउका समस्याग्रस्तलाई व्यक्तिगत तवरमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री सहयोग गरिरहेका परोपकारीको प्रयास पनि प्रशंसनीय छ । यी सबैको संयुक्त प्रयासले केही काम पक्कै गरेको छ तर यसको दीर्घकालीन उपायप्रति घोत्लिनुपर्ने सरकारले नै हो । आशा गरौं, सरकारले निकास छिट्टै निकाल्नेछ ।

ध्यान दिनुपर्ने पक्ष नागरिक तहका पनि धेरै छन् । परिवारका साथ खानेपिउने लगायतका सोख व्यक्तिको स्वतन्त्रता र हैसियतअनुसार फरकफरक होला तर देशभित्रैका निमुखाले झेलिरहेको कष्टलाई बेवास्ता गर्दै तामझाम र उत्सवजन्य गतिविधि सामाजिक संजालमा फिँजाउन अब सबैलाई संकोच लाग्नै पर्छ ।

अन्यत्र जति छिटो बबण्डर मच्चाए पनि नेपालका लागि सुरक्षित हुने समय प्रशस्तै दिएको हो कोरोनाले । उत्पत्ति मुलुक चीन र संक्रमण दर व्यापक बनेको भारतबीच रहेर पनि लामो समय कोरोना नेपाल पस्न सकेको थिएन । नेपालीको दर्बिलो प्रतिरोधात्मक शक्ति, पशुपतिनाथको कृपा, पूर्वीय संस्कारको करामत लगायत अरूके के हलावा दिँदै व्यापक परीक्षण र सतर्कतामा सरकार चुकेकै हो । जसको परिणाम अहिले बढिरहेको संक्रमितको संख्याले देखाइरहेको छ । यी पंक्ति लेखिरहँदा मुलुकभित्रै ६ जनाले ज्यान गुमाइसकेका छन् ।

महिलाको तुलनामा पुरुष कोरोनाबाट धेरै गुणा बढी प्रभावित भएको विश्वस्तरमै देखिएको छ तर नेपालमा मृत्युको सुरुवात महिलाबाटै भयो, त्यो पनि सुत्केरी महिला । मृत्युको पहिलो घटना नै सारै पीडादायी । त्यसयता थपिएका मृत्युका घटनाले नेपालको क्वारेन्टिन र उपचार पद्धतिलाई राम्रैसँग उजागर गरेका छन् । संक्रमणको निशानामा विशेषतः युवावर्ग अनि लक्षण नदेखिने संक्रमितको अवस्था कोरोनाले नेपालमा देखाइरहेको पृथक चरित्र हो । अहिलेसम्म बढी युवा नै संक्रमित भएका कारण प्रभावकारी उपचारको सुविधा नहुँदा पनि कोरोनालाई हराउँदै संक्रमितले जितेको प्रष्टै छ, तर यही गतिमा मुलुकका अशक्त र वृद्धवृद्धा संक्रमणमा परे भने अवस्था के होला ? देशभित्रको अकल्पनीय नोक्सानसँगै नेपालको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्थाप्रति विश्वले कति टिठ मान्ला ? यसप्रतिको चिन्ता बढी जाग्दैछ अचेल ।

अहिलेसम्म कोभिड—१९ को प्रकोपबाट महिलाको तुलनामा पुरुष ज्यादा प्रभावित भएको देखिएको छ । यसबााहेक जुनसुकै फ्लु या संक्रमणमा महिलाभन्दा पुरुषको अधिक मृत्यु भइरहेको वैज्ञानिक स्वीकार्छन् । उनीहरूका अनुसार महिलामा बढी र पुरुषमा कम रोग प्रतिरोधात्मक शक्ति हुन्छ । मदिरा, चुरोट आदिको बढी सेवनका साथै निष्क्रिय जीवनशैलीले पुरुषको प्रतिरोधात्म«क शक्तिलाई झनै कमी गराउने स्वास्थ्य सम्बद्ध निकायले समेत जनाएको कुरा हो ।

लकडाउनले पुरुषहरूको निष्क्रियतालाई झन् बढाएको छ । घरभित्र वस्नु पर्दाको उकुसमुकुस पनि पुरुषमै बढी देखिन्छ । अध्ययनमननमा रुचि नभएका र घरायसी काम महिलातर्फ मात्र हुत्याउन जानेकालाई लकडाउनले सवैभन्दा बढी पिरोलेको प्रष्टै छ । यसले शारीरिक प्रतिकूलता मात्र हैन, मानसिक आघातका लागि पनि बाटो खोल्छ ।

महिला अहिलेको अवस्थामा बढी पीडित देखिन्छन् । महिलाजनित मानिने घरेलु जिम्मेवारी कैयौं गुना बढेका छन् । संसारमा लकडाउनको सुरुवातसंगै घरेलु हिंसा विश्वव्यापी चिन्ताको विषय भएर उदाएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताउँदै आएका छन् । लकडाउनको प्रसंग जोड्दै महिलाप्रति व्यंगवाणका ट्रोल सामाजिक संजालमा भाइरल बनिरहेका देखिन्छन् । महिलाका यी अवस्था नियाल्दा लाग्छ, लकडाउनले जसको टाउकोमाथि सयौं अभिभारा थोपरेको छ, तिनै हिंसा र तिरस्कारले सताइएका छन् । मनोरञ्जन र उपहासका पात्र बनाइएका छन् । अविकसित देशको त के कुरा, सभ्य र चेतनशील भनिने देशका सरकारलाई समेत कोरोनासँगै लगातार बढेको लैङ्गिक हिंसा सम्बोधन गर्न आच्छुआच्छु परेको छ । विश्वव्यापी तहमा घरेलु हिंसाको भयावह वृद्धिप्रति इंगित गर्दै कोभिड–१९ को विरुद्ध राष्ट्रिय योजना बनाउँदा यसले उब्जाएको घरेलुहिंसा सम्बोधन हुनेतर्फ समेत ध्यान दिन संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रलाई आग्रह गरिसकेको छ । कोरोनाले उघारेको यो अत्यन्तै खेदजनक पाटो हो ।

कोरोनाको कारण अहिले देशले मात्र हैन विश्वले नै असंख्य प्रतिकूलता झेलिरहेको छ । लकडाउन लम्बिरहेको छ । यो क्रम कति तन्किने हो यकिन छैन । विकसित मुलुकका स्वघोषित शक्ति दम्भ र घमण्डलाई कोरोनाले धुजाधुजा बनाइसक्यो । विकासका लागि संघर्ष गरिरहेका नेपाल लगायत देशमा परेको असर सजिलै पुर्ताल हुने सवालै भएन । सारा देशको उत्पादन प्रणाली खुम्चिएको छ । विश्व अर्थतन्त्रमा नराम्रो धक्का लागेको छ । सवैले समान कष्ट झेलिरहेका छन् । धेरै देशका जनशक्ति कामकाज ठप्प पारेर घरभित्र कैद छन् । करोडौं मानिसले रोजीरोटी गुमाएका छन्, यो क्रम बढ्दो छ ।

आयात निर्भर हाम्रो जस्तो मुलुकमा यसको असर दशकौं रहला । यसर्थ खाद्य उपभोग लगायत आफ्नो आचरण र व्यवहारमा हामीले सुधार गर्नैपर्छ । मितव्ययी हुनैपर्छ । लकडाउनसँगै समाजभित्र झ्याँगिएको असमानताले धेरै घातक परिणाम निम्त्याइसकेको छ । हुनेखानेको तामझामले नहुनेलाई निराशातर्फ धकेल्छ नै । समाजको अवस्था र आफ्नो यथार्थबीच सन्तुलन राख्न नसकेरै धेरै अप्रिय घटना भएका छन् । लकडाउन शुरू भएको पहिलो दुई हप्ताको अवधिमा देशभरबाट १ सय ९८ वटा आत्महत्याका घटना दर्ता भएको प्रहरीको रेकर्डले बताउँछ । स्रोतअनुसार त्यस यता पनि दैनिक १२ देखि १४ जनाले आमहत्या गरिरहेका छन् । निराशा र मानसिक आघात लगायतले पीडित हुनेको त कुनै तथ्यांककै छैन ।

अहिलेको समस्या कुनै देशको एकल समस्या हैन, न त यसले कुनै निश्चित भूगोलभित्रको नागरिकलाई मात्र गाँजेको छ । एक प्रजातिको भाइरस मार्फत अगाडि आएको सम्पूर्ण विषमतालाई निर्भीकतापूर्वक चिर्न हरेक व्यक्ति आफैं कटिबद्ध हुनुको विकल्प देखिन्न । स्वास्थ्य विशेषज्ञ लगायत संक्रमणलाई परास्त गरेका व्यक्तिले दोहो¥याउँदै आएको एउटै कुरा यो हो कि आत्मबल नगिराए कोरोनाले पछार्न सक्दैन । समस्या सामूहिक भए पनि आइपर्ने परिस्थितिसँग लड्न व्यक्तिगत दृढताकै आवश्यकता छ । कोरोनाले निम्त्याएको लकडाउन र लकडाउनले अघि सारेका सयौं चुनौती हामीसामु उभिएका छन् । तर जबसम्म चिन्ता, भय र दिक्दारीबाट माथि उठ्दैनौ, चुनौतीलाई चिर्ने सामथ्र्य हामीमा कदापि रहन्न । त्यसैले सबैभन्दा पहिला हरेक व्यक्ति संयम, निर्भीक र निश्चिन्त हुन आवश्यक छ ।

आफू जे जसरी खुसी रहन सकिन्छ, त्यही खुसी हासिल पहिलो प्रयत्न हुनुपर्छ । आफ्ना हरेक काम र सोचाइले आफंैलाई प्रफुल्लित बनाएको हुनुपर्छ । समस्या आउनेजाने क्रम जीवन रहेसम्म चलिरहन्छ । विगतका समय पनि हाम्रा लागि सधैं अनुकूल थिएनन् । डटेरै ती पार भए । लकडाउनले बढाएको कैयौं कष्टबीच पनि त्यस्तो विन्दु पहिल्याउने प्रयत्न हुनुपर्छ जसले आफैंलाई ढाडस देओस्, कठिन परिस्थितिलाई चिर्ने सामथ्र्य दिलाओस् । सकारात्मकतातिर लम्कने बाटो देखाओस् । आफ्नो जीवनप्रति अथाह श्रद्धा अनि ममता जगाओस् र कठिनताबीच हाँसेर जिउनुको औचित्य सिकाओस् । यति भयो भने कोही पनि आफ्नो जिन्दगीबाट निराश हुनुपर्ने अवस्था आउँदैन ।

नैराश्य त्यस्तो घातक अवस्था हो, जसले आशाका सबै किरण क्षणभरमै ध्वस्त पारिदिन्छ । सुन्दर र अनुपम जीवन थेग्नै नसक्ने बोझमा रूपान्तरित भैदिन्छ अनि उन्मुक्तिस्वरूप जीवन समाप्तितर्फ पनि मान्छे उद्दत हुन्छ । तसर्थ निराशालाई नजिक पर्नै नदिने उपायको खोजी हरेकको पहिलो दायित्व हो । कोरोना सन्त्रास र यसले ल्याएका प्रतिकूलता पनि हाम्रा स्थायी समस्या भएर सधैं टिक्दैनन् ती एकदिन परास्त भएरै छाड्नेछन् । यो यथार्थसंगै भविष्यमा यसभन्दा विनाशकारी परिस्थिति नआउला भन्न सकिन्न । हामीले नजुधी सुखै छैन ।
अहिले कोरोना तथा लकडाउनको संकटबाट माथि उठ्न हामी हरेकले आत्मबल आफूमा अभिवृद्धि गर्न सक्नुपर्छ जसले अहिलेको विषम परिस्थितिपछि सुन्दर भविष्यको आशा जगाओस् । अनि भविष्यमा आउनसक्ने अझ जटिल समस्यासँग जुध्न समेत दृढ बनाओस् ।

लेखेक – उषा थपलिया / नागरिक दैनिक ।






Related Posts

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution