बुद्ध भन्थे – मानिसको कुनै जात हुँदैन
समाजमा व्याप्त जातीय विभेद र यसको प्रताडनाको प्रतिक्रियामा संसारभरि महिला र पुरुष दुई जात मात्रै छन् भनिन्छ । गौतम बुद्धले भने मानव जाति एउटै मात्र रहेको बताएका छन् । उनका अनुसार महिला र पुरुष एउटै जातका दुई लिङ्ग मात्रै हुन् ।
जसरी जनावरहरू गाई, भैंसी, घोडा, गधा आदिमा जातीय भेद देखिन्छ त्यसरी मानिसमा देखिंदैन । जनावरमा त्यो भेद देखिए पनि उनीहरूले देखिने गरी विभेद गरेको थाहा पाइँदैन । मानिसमा भने त्यस्तो जातिभेद छँदै छैन । यो प्रसङ्ग त्रिपिटकको मज्झिमनिकाय ग्रन्थ अन्तर्गत संकलित ‘वासेट्ठ सुत्त’ मा रहेको छ ।
बौद्ध धर्म–दर्शनको मुख्य उद्देश्य जातीय विभेदको विरोध वा त्यस सम्बन्धी जनचेतना फैलाउने होइन । तत्कालीन समाजमा व्याप्त जातीय असङ्गतिलाई सम्बोधन गर्ने क्रममा भने बुद्धले धेरै समय जातिवाद विरुद्धको अभियानमा खर्चनु परेको देखिन्छ।
तत्कालीन वैदिक समाजको धर्म–दर्शनलाई लिएर चर्को विरोध तथा खण्डन गर्नेहरू थुप्रै थिए । अन्य मतवादहरूसँग भन्दा पनि गौतम बुद्ध विरुद्ध खनिनुको खास कारण जातिवादको अनौचित्यलाई बुद्धले पुष्टि गर्नु हो तर जातिवादको मान्यतासँग बुद्धले जीवनमा कहिल्यै पनि सम्झौता गरेनन् ।
गौतम बुद्धले पहिलो पल्ट उपदेश गरेका पाँच भिक्षुको पृष्ठभूमि ब्राह्मण भएको बताइन्छ । त्यसको केही महीनापछि आफ्ना गणसहित बुद्धको शरणमा आएका उरुबेल कश्यप, नदी कश्यप, गया कश्यप नामका तीन जटेल (जटा पाल्ने) दाजुभाइ ब्राह्मण जातिका नै थिए । उनीहरूसँग क्रमशः पाँच सय, तीन सय र दुई सय गरी हजार शिष्यहरू थिए । बुद्धका अग्रश्रावकद्वय सारिपुत्र र मौद्गल्यायन ब्राह्मण नै थिए ।
यसरी नै महाकश्यप महास्थविर लगायत अन्य थुप्रै प्रभावशाली भिक्षु ब्राह्मण समुदायकै थिए । बुद्धको महापरिनिर्वाणको निकै समयपछिसम्म पनि बौद्ध संघमा ब्राह्मण समुदायबाट आएका भिक्षुहरूकै योगदान रहेको पाइन्छ ।
पाश्र्व, अश्वघोष, वसुमित्र लगायतका भिक्षुहरूको पृष्ठभूमि ब्राह्मण र वैदिक ज्ञानका धुरन्धर विद्वान् थिए । शून्यवादका प्रवर्तक आचार्य नागार्जुन, विज्ञानवादका आचार्य असंग र वसुबन्धु मात्रै नभएर यी दुवै सम्प्रदायलाई अगाडि बढाउने दिग्नाग, परमार्थ, धर्मकीर्ति, चन्द्रकीर्ति, शान्तिरक्षित, कमलशील, बुद्धयश लगायतका अधिकांश ब्राह्मण समुदायबाटै थिए । यी सबै ब्राह्मणहरूले जातिवादलाई चटक्कै छाडेको पाइन्छ ।
बौद्ध धर्म अपनाउने ठूला–ठूला विद्वान्हरूसँग अन्य ब्राह्मणले द्वेष राख्नुको कारण पनि जातिवाद नै थियो । प्राचीन कालमा मात्रै नभएर आधुनिक विश्वमा पनि बौद्ध समाजमा अत्यन्तै ठूलो श्रद्धा र प्रतिष्ठा पाउने भिक्षुहरूको पृष्ठभूमि ब्राह्मण नै रहेको पाइन्छ ।
तत्कालीन समाजमा घरबार त्याग गरी संन्यास भई आध्यात्मिक जीवन बिताउने काम उच्च जातिले मात्रै गर्न सक्छन् भन्ने मान्यता थियो तर बुद्धले संघमा प्रवेश गर्न जातीय मान्यतालाई ठाउँ दिएनन् ।
उनले तत्कालीन समाजमा तल्लो जातका रूपमा लिइएका उपालि, सुमित लगायतका थुप्रैलाई भिक्षु बनाएका थिए । शाक्यहरू भन्दा पछि आएका उपालिलाई पहिले भिक्षु बनाउनुको तात्पर्य पनि माथिल्लो जाति भनिएका शाक्यहरूको जातीय अभिमान तोड्न नै थियो । त्रिपिटकमध्ये एउटा ‘विनयपिटक’ को संकलन यिनै भिक्षु उपालिकै देन हो र आजपर्यन्त मुक्तकण्ठले उनको प्रशंसा गरिन्छ ।
अम्बट्ठ नामका एक युवालाई शाक्य जातप्रति द्वेष थियो र यो द्वेष बुद्धकहाँ प्रकट गर्न पुगे । बुद्धले अम्बट्ठ ब्राह्मणको पुर्खा शाक्य जातिकै दास रहेको पुष्टि गर्नुका साथै उनमा रहेको जातिवादको भ्रम हटाइदिएको प्रसङ्ग त्रिपिटकको सुत्त पिटक अन्तर्गतको ‘अम्बट्ठ सुत्त’ मा पाइन्छ ।
यसरी नै श्रावस्तीस्थित जेतवन विहारमा बुद्ध र एसुकारी नामका एक ब्राह्मण बीच भएको संवाद ‘एसुकारी सुत्त’मा संकलित छ । यस अनुसार ब्राह्मणले एक वर्णले अर्को वर्णको मान्छेसँग कसरी सेवा गर्नुपर्छ भन्ने सन्दर्भमा चर्चा हुँदा बुद्धले कसले कसको सेवा कसरी गर्ने भन्ने विधान बनाउँदा ब्राह्मणलाई अरू वर्णका मानिसहरूले सो अधिकार दिएको वा नदिएको भन्ने प्रश्न हुन्छ ।
ब्राह्मणले यसको नकारात्मक जवाफ दिएपछि बुद्धले बडो तार्किक जवाफ दिएका थिए, जसले जातिवादको अनौचित्य सावित गर्दछ । बुद्धले भनेका थिए– ‘एउटा गरीबको घरमा मासुको एक पोका लगेर यो मासुको पोका तिम्रो हो खाऊ भनेर जबर्जस्ती दिई अन्त्यमा मासुको मूल्य चुकाउन बाध्य पारेको जस्तो भएन र ?’
त्रिपिटकमा जातिवादको अनौचित्य सावित गरेका अनेकौं सूत्र र तल्लो जात भनिएकाहरूलाई भिक्षु बनाई कुनै मानिस ठूलो जात र सानो जातको हुँदैन भनेर सन्देश दिएका घटनाहरू यत्रतत्र पाइन्छन् ।
तत्कालीन समाजको विकासमा जातिवाद ठूलो तगारोका रूपमा रहेकै कारण बुद्धले जातिवाद विरुद्ध अभियान नै थाल्नुपर्ने बाध्यता आइपरेको थियो ।
सामान्यतः परम्परागत नेपाली बौद्ध समाज हिन्दू धर्मबाट प्रभावित मानिन्छ र यस अनुसार जातिवादको मान्यता पाइनु स्वाभाविक हो । आफूलाई विशुद्ध बौद्ध धर्म भएको दाबी गर्ने थेरवादी परम्परामा पनि जातिवादको अहंकार पाइन्छ ।
घरबार छाडी प्रवर्जित (विधिवत् रूपमा संन्यासी हुनु) भई भिक्षु बनेकाहरूको जातीय पृष्ठभूमि खोतल्नु तथा सोही अनुसार व्यवहार गर्नु जातिवादको पृष्ठपोषण गर्नु हो । अन्यत्र कतै जातिवादको छायाँ नपरे पनि नेपालमा यसको समस्या हुनु भनेको बौद्ध धर्मलाई पूर्ण रूपमा आत्मसात् गरिनसकेको मान्नुपर्दछ ।
बौद्ध समाजमा जातीय सङ्कीर्णता
बौद्ध धर्मका अनुयायीले गौरव मान्ने र अरूले पनि प्रशंसा गर्ने विषय हो– जातीय भेदभावको विरोध । नेपाली बौद्ध समाज यही कुरामा विचलित भएको पाइनु उदेकलाग्दो विषय हो र उत्तिकै आपत्तिजनक पनि ।
विद्यमान जातीय सङ्कीर्णता विरुद्ध बुद्धभन्दा अघि नै जैन धर्मका प्रवर्तक महावीरले आवाज उठाइसकेका थिए । पछि बुद्धले जातिवादको अनौचित्य अघि सार्दै समानताको वकालत गरेको कुरा बौद्ध मतको पक्ष र विपक्ष दुवै साहित्यमा उल्लेख गरिएको छ ।
त्रिपिटकमा सङ्ग्रहित विभिन्न सूत्रमा जातिवादको अनौचित्य सिद्ध गर्न दिइएका उपदेशहरूमा मुख्यतः अम्बट्ठ, एसुकारी, वासेट्ट, वसल, सुन्दरिक भारद्वाज, सोणदण्ड सूत्र प्रसिद्ध छन् । बुद्धको महापरिनिर्वाण पछि भिक्षु महाकात्यायणद्वारा मधुरा (मथुरा) का राजा मधुरलाई गुन्दावन (वृन्दावन) मा दिएको उपदेश ‘मधुर सूत्र’ पनि त्रिपिटकमा परेको छ । यी सूत्रहरूमा प्रायः ब्राह्मण वर्गको सर्वोच्चताको अनौचित्य प्रष्ट्याउने विषयवस्तु छन् ।
यही कुरा प्रष्ट्याउन ‘धम्मपद’ मा पनि ‘ब्राह्मणवग्गो’ भनेर छुट्टै अध्यायको व्यवस्था गरिएको छ । यी बाहेक अनेकौं प्रसङ्ग उल्लेख गरेर नेपाली बौद्ध समाजले जातीय सङ्कीर्णताको चर्चा गरिरहेको पाइन्छ । ब्राह्मण समुदायमा रहेको जातीय व्यवस्था वा मान्यताको आलोचना आफ्नो ठाउँमा छ । त्यही कुरा अन्य समुदायमा पनि लागू गर्न सकिन्छ भन्ने कुरा भने बौद्धमतावलम्बीहरूलाई हेक्का नरहेको प्रतीत हुन्छ ।
परम्परागत नेपाली बौद्ध समाजमा वज्रयानी बौद्ध दर्शन अनुसार वज्राभिषेक लिएकालाई वज्राचार्य भनिन्छ । विधिवत् चूडाकर्म गरी चार दिनको भिक्षु जीवन विताएर गृहस्थमा फर्केर वज्राभिषेक लिने वज्राचार्य हुन् । वज्राभिषेक नलिएका तर चूडाकर्म सम्पन्न भई चार दिनको भिक्षुव्रत पूरा गरेका शाक्य हुन् । यो परम्पराले हाम्रो बौद्ध समाजमा जातीय रूप लिइसकेको छ ।
शाक्य र वज्राचार्यका कुलपुत्रले बाहेक अन्य जातीय समुदायले यस संस्कारमा प्रवेश नै पाउँदैन । अन्तरजातीय विवाहबाट जन्मेका कुलपुत्रको चूडाकर्म नै नहुने समस्या रहेकोमा केही दशक अघिबाट बल्लबल्ल चूडाकर्मसम्म गर्ने चलन त आयो तर तिनीहरू विहारमा समान अधिकार पाउनबाट बञ्चित छन् । बौद्ध समाज नै भए पनि जातीय सङ्कीर्णताले कुन हदसम्म जरा गाडेको छ भन्ने बुझ्न यो एउटा ज्वलन्त उदाहरण हो ।
स्वयम्भूको दर्शन गर्न सन् १९२५ तिर काठमाडौं आएका क्यान्छ्या लामाबाट नेपाली बौद्ध समाज प्रभावित भएका थिए । पूजापाठ र कर्मकाण्डमा सीमित बौद्ध समाजमा लामाले धर्म सम्बन्धी दिएको प्रवचनले भिन्नै प्रकारको धार्मिक जागरण ल्याएको थियो ।
धर्म उपदेशको श्रवणमा आपत्ति जनाउन त मिलेन तर लामालाई वन्दना गरेकोमा वज्राचार्य वर्गको ठूलो आपत्ति थियो । लामालाई वन्दना गर्नेको घरमा पूजा नगर्ने, भातभान्सा बाहेक गर्ने लगायतका कुरा जातीय सङ्कीर्णताको अर्को उदाहरण बन्यो ।
प्रारम्भिक बौद्ध धर्म (बुद्धकालीन) थेरवाद हो भन्ने यो सम्प्रदायको दाबी छ । र, नेपाली थेरवादीहरू पनि जातीय सङ्कीर्णताबाट मुक्त भने छैनन् । काठमाडौंको नेवार समाज वैदिक मूल्यमान्यतामा आधारित होइन तर जाति व्यवस्थाको मामिलामा भने ती मूल्यमान्यताबाट प्रभावित छ ।
समाज विकासका विभिन्न चरणमा वैदिक मूल्यमा आधारित भएर विधिहरू बाँधेको पाइन्छ । यस अनुसार स्थापित तल्लो र माथिल्लो जातीय तहगत व्यवस्था हिन्दू नेवारमा हुनु स्वाभाविक हो तर नेवार बौद्ध समाजले पनि यसलाई अँगालेको छ ।
थेरवादी बौद्ध परम्परामा दीक्षित भिक्षुहरूको ठूलो अंश शाक्य र वज्राचार्य पृष्ठभूमिका छन् । यसपछि तुलाधर लगायतका उदाय्, मानन्धर, चित्रकार, महर्जन आदि समुदायका छन् । उपासक उपासिकाहरू पनि प्रायः यही समुदायका छन् ।
तहगत रूपमा सबैभन्दा मुनि पारिएको नेवार समुदाय न बौद्ध धर्मतिर आकर्षित छन् न त आकर्षित पार्ने योजना वा मनसाय नै बनाएको देखिन्छ ।
वैदिक परम्परा अनुसारको शूद्र होस् वा ब्राह्मण वर्ण, बौद्ध समाजलाई चासोको विषय हुनु नपर्ने हो । स्थानीय समाजमा छोइछिटो बार्नुपर्ने जातिबाट भिक्षु बनेको भन्ने आधारमा केही वर्षअघि लुम्बिनी क्षेत्रमा भएको विवाद साम्य भए पनि प्रवृत्तिमा भने खासै परिवर्तन आइसकेको छैन ।
वज्रयानी र थेरवादी दुवै सम्प्रदायका बौद्ध समाजमा विवाहवारी तथा अन्य कुरामा एकै खालको जातीय सङ्कीर्णता पाइन्छ । वज्रयानको आलोचना गर्ने र थेरवादको नेतृत्व पंक्तिमा पुगे पनि परम्परागत वज्रयानी विहार वा परम्परासँगको आवद्धता तोड्न नसक्नु अर्को रोचक पक्ष हो ।
बौद्ध समाजमा जातीय सङ्कीर्णता भन्नु आफैंमा विरोधाभासपूर्ण कुरा हो । नेपाल बौद्ध समाजको सन्दर्भमा यो यथार्थ पनि हो ।
-वसन्त महर्जन