सरकारले जारी गर्यो लिम्पियाधुरा समेटिएको नेपालको नक्सा

याम्बु : सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो । सुगौली सन्धि अनुसार महाकालीपूर्व रहेका लिम्पियाधुरा सहितको भूभाग नेपालको भए पनि लामो समयदेखि यी क्षेत्र नेपालको नक्साबाट छुटेको थियो ।
भारत सरकारले कालापानी समेत अतिक्रमण गरेर आफ्नो सेना राख्ने, लिपुलेक हुँदै मानसरोवर जाने बाटो एकतर्फी रुपमा खोल्ने जस्ता कार्य गरेपछि नेपाल सरकारले यसमा असहमति जनाउँदै आएको छ । सरकारले गत शुक्रबार जारी गरेको नीति तथा कार्यक्रममा नेपालको भूभाग समेटेर नयाँ नक्सा जारी गर्ने र अतिक्रमति नेपाली भूमिबाट भारतको उपस्थिति हटाउने घोषणा गरेको थियो ।