सगरमाथाको उचाई चीनले नापेपछि मात्रै सार्वजनिक गरिने
याम्बु । नेपालले पहिलोपटक सगरमाथाको उचाइ नाप्ने काम अन्तिम चरणमा पुर्याएको छ । चीनले पनि आफ्नो तर्फबाट सगरमाथाको उचाइ नाप्ने प्रयास अघि बढाएको चीनको राज्य नियन्त्रित पत्रिका चाइना डेलीले जनाएको छ ।
चाइना डेलीले जनाएअनुसार चीनले स्थानीय भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्वेक्षण अघि बढाएको हो ।
त्यसका लागि ३० भन्दा बढी चिनियाँ सर्वेक्षकहरूले उक्त हिमाल आरोहण गर्न लागेका छन्। अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाइ घोषणा गर्ने वाचा गरेका थिए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनले तिब्बती मोहडाबाट उचाइ मापनका लागि आरोहण अघि बढाएकोबारे नेपाल सरकार जानकार रहेको बताएकी छन्।
परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले पनि आफ्नो प्रयासबारे चीनले नेपाल सरकारलाई जानकारी गराएको बीबीसीले जनाएको छ ।
तिब्बती मोहडाबाट चिनियाँ सर्वेक्षकहरूले गरिरहेको सगरमाथा आरोहणलाई उनले नेपाल र चीन मिलेर संयुक्त रूपमा उचाइ सार्वजनिक गर्ने अभियानको अङ्ग भएको बताए।
नेपाली पक्षले अघि बढाएको शिखरको उचाइ नाप्ने अभियान अन्तर्गत फिल्डमा गर्नुपर्ने काम सम्पन्न भएको र हाल लकडाउन नभएको भए तथ्याङ्क प्रशोधनको काम अघि बढिसकेको अवस्थामा हुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ नेपालले यसपालीको बसन्तयाममा आफ्नो तर्फबाट ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको सबै किसिमको आरोहणमा बन्देज लगाएको छ।