ओली स्थायी समिति बैठकबाट किन पन्छिन चाहन्छ ?

‘स्थायी कमिटीको बैठक राखेर मेरो टाउकोमा बाँकी रहेका दुईचार वटा रौँ किन उखेल्न खोज्नुहुन्छ? ’ वैशाख २० को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समिति बैठक राख्ने विषयमा भएको छलफलमा भनेका थिए।
तर, उनको इच्छाविपरीत सचिवालयले वैशाख २५ का लागि स्थायी समितिको मिति तोक्यो। भर्खरै आत्मआलोचना गरेर सबैलाई समेटेर अघि बढ्ने बाचा गरेका ओलीले बैठक नराख्ने अडान लिन सकेनन्।
तर, स्थायी समितिको बैठकलाई जसरी हुन्छ, उनी रोक्न चाहन्थे।
त्यसैले बुधबार स्थायी समिति बैठकको एजेन्डा तय गर्न भन्दै बसेको सचिवालय बैठकको सुरुमै उनले आफ्नो मनसुवा प्रस्ट पारे।
‘स्थायी समिति बैठकका लागि यो उपयुक्त समय होइन,’ उनले भने।
तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका केही नेताले आफ्नो भनाइ राख्नासाथ ओली आफू थाकेको भन्दै बैठकबाट बाहिरिए। न त कुनै निर्णय भयो, न बैठकको अर्को मिति नै तोकियो।
त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसँग यस विषयमा थप कुराकानी गरेपनि स्थायी कमिटीको बैठकको बारेमा सहमति जुट्न सकेन।
ओली स्थायी समिति बैठकबाट किन पन्छिन चाहन्छन् त?
यसको प्रमुख कारण हो, ओली स्थायी समितिमा अल्पमतमा छन्। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरु एकातिर हुनासाथ ओली कमजोर हुन जान्छन्। ४४ सदस्यीय स्थायी समितिमा ओलीका पक्षमा १३ जना मात्र नेता छन्।
स्थायी कमिटीमा प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा रहेको उनीनिकट नेताहरु पनि स्वीकार गर्छन्।
यस्तो स्थितिमा स्थायी समिति बैठक नै बोलाउन नहुने बताउँछन् नेकपाको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ।
‘तत्काल स्थायी समितिको बैठक हुने सम्भावना म देख्दिनँ। पार्टीको कमिटी भनेको पार्टी बनाउन हो, भत्काउन होइन। अहिलेको कमिटीले विवाद बढाउने देखिन्छ,’ श्रेष्ठले भने।
विवाद मात्रै निम्त्याए स्थायी समितिलाई नै विघटन गर्नुपर्ने उनको सुझाव छ।
‘सचिवालयको विघटनको माग भइरहेको सुनिन्छ। सचिवालय विघटन हुन्छ भने स्थायी कमिटी विघटन गर्न किन नहुने?’
श्रेष्ठ प्रधानमन्त्री निकट नेता हुन्।
स्थायी समिति बैठक बसेको भए सरकार र प्रधानमन्त्री ओलीमाथि गम्भीर प्रश्न स्वभाविक रुपमा उठ्ने थिए। यसका लागि प्रचण्ड–नेपाल निकट स्थायी समिति सदस्यहरुले सामूहिक तयारी समेत गरेका थिए।
बुधबार २० स्थायी समिति सदस्यहरुको भेलामा नेता भीम रावलले ओलीसँग दुवै पदबाट राजीनामा माग्नुपर्ने प्रस्ताव गरेका थिए। खासगरी अध्यादेश प्रकरणपछि पार्टीका नेताहरु ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन्।
त्यसैले स्थायी समिति बैठक बोलाएर राजीनामाका लागि दबाब खेप्नुभन्दा बैठक नै टार्ने प्रयासमा प्रधानमन्त्री ओली लागेका छन्।
गत साता प्रधानमन्त्री ओलीले आफू निकटका सांसदसँग गरेको अन्तक्र्रियामा पनि केहीले सचिवालय बैठकमा सहमति नभए बरु केन्द्रीय समितिमा जान तर स्थायी समितिको बैठक नै नराख्न उनलाई सुझाव दिएका थिए।
तर, नेकपाका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले अहिले अध्यक्ष पदबाट ओलीलाई कसैले हटाउन नसक्ने दाबी गरे।
‘ओली एमालेको महाधिवेशनबाट र प्रचण्ड माओवादीको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको हो। दुवैलाई अहिले कसैले हटाउन सक्दैन,’ बाँस्कोटाले भने, ‘तीन चुली मध्ये दुई चुली एकातिर हुँदा त्यो पक्षमा बहुमत पुग्नु स्वभाविक हो। तर अहिलेको अवस्थामा यो गणितले पार्टीअघि बढ्न सक्दैन।’
वैशाख १० मा २० जना स्थायी समिति सदस्यहरुले लिखित रुपमा माग गरेपछि नेकपामा बैठकको विषयले प्रवेश पाएको थियो। २५ प्रतिशत सदस्यले लिखित रुपमा माग गरेपछि १५ दिनभित्र बैठक राख्नु पर्ने पार्टीको विधानमा उल्लेख छ।
ती २० जना नेताले पार्टी र सरकारको विषयमा धेरै प्रश्न उठेकाले प्रधानमन्त्री ओली कुनै पनि बहानामा बैठकबाट भाग्न नसक्ने बताउँदै आएका छन्। बिहीबार पनि उनीहरुले पार्टी कार्यालय धुम्बाराहीमा भेला आयोजना गरेका थिए। उनीहरुले अध्यक्षद्वयलाई भेटेर बैठक राख्न दबाब दिने बताएका छन्।
अध्यक्ष प्रचण्डले भने एकदुई दिनमै स्थायी कमिटीको बैठक बोलाउने बताएका छन्। बैठकको बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भइरहेको उनको भनाइ छ।
‘आवश्यक तयार नपुगेर हो। छलफल भइरहेको छ। एक दुई दिनमा बैठक बोलाउँछौं,’ शु्क्रबार सुरु हुने संसदको बजेट अधिवेशनको तयारीबारे बुझ्न संसद् भवन नयाँ बानेश्वर पुगेका प्रचण्डले भने – नेपालखबर ।
बैशाख २५, २०७७, बिहिबार