साइप्रसमा नेपालीले गरे नेपालीकै हत्या

साइप्रस । युरोपेली मुलुक साइप्रसको राजधानी निकोसिया नजिक इभिचिउ भन्ने गाउँमा गएराती एक नेपाली विद्यार्थीको हत्या भएको छ । एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीबीच घरको विषयलाई लिएर विवाद भएपछि २१ वर्षीय युवकको चक्कु प्रहार गरि हत्या भएको हो ।
स्थानीय समयअनुसार मंगलबार १०ः३० बजे रातको समयमा नेपालको चितवन जिल्ला रत्ननगर नगरपालिका वडा न. १२ जमुनापुर गाउँका २१ वर्षीय विवेक अमगाइलाई सोही रुममा बस्ने विद्यार्थी लगभग २२ वर्षीय सुबास गिरीले चक्कु प्रहार गरि हत्या गरेको निकोसिया प्रहरीले जानकारी दिएको छ ।
प्रहारीका अनुसार चक्कु प्रहार गर्ने गिरी अम्मगाइको हत्या गरि आफै पुलिस चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । रक्सी सेवन गरेर झैझडामा गिरीले विवेकलाई चक्कु प्रहार गरेका निकोसिया प्रहरीले जनाएको छ ।
प्रहरी घटना स्थलमा पुग्दा अमगाइ रगतले लत्पत भएका र उनलाई तत्काल अस्पताल लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गर्यो ।
आरोपी गिरी प्रहरीको नियन्त्रणमा छन् । फ्ल्याटमा बस्नेहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानगरी अदालतमा पेश गरिने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् – नागरिक ।