अभिनेता इरफान खानको निधनले शोकाकुल बलिउड

याम्बु – बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । बुधवार भारतको मुम्बईमा उनको निधन भएको हो । इरफानको मृत्युको खबर साम्ने आएपछि बलिउड शोकमा डुबेको छ। हर कोहि सामाजिक सञ्जालमा उनको मृत्युमाथि दुख व्यक्त गरिरहेका छन् ।
अभिनेता खानको मुम्बईको कोकिलाबन धीरुभाई अस्पतालमाबुधवार निधन भएको हो । खानलाई मंगलवार पेटमा दुखेको भन्दै अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो ।
सोमवार मात्र उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो । स्वास्थ्य समस्याका कारण उनी आमाको अन्तिम संस्कारमा समेत जान सकेका थिएनन् ।
उनकी आमा सईदाको ९५ वर्षको उमेरमा निधन भएको हो । ५३ वर्षीय अभिनेता इरफान खान लगभग दुई वर्षदेखि रोगसँग लडिरहेका थिए । रोग निको नभएको कारण उनी इंग्ल्याण्डमा समेत उपचार गराउन पुगेका थिए ।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी लामो समयदेखि फिल्म क्षेत्रमा देखिएका थिएनन् । हालै मात्र उनको फिल्म ‘अंग्रेजी मिडियम’ रिलिज भएको थियो । तर कोरोना भाइरसको महामारीका कारण फिल्म हलमा चलचित्र जम्मा २ दिन मात्र चलेको थियो ।
बलिउड उनको निधनले यसबेला शोकाकुल भएको छ । कलाकार, निर्देशक निर्माता तथा फिल्मकर्मी र उनका फ्यानहरुले सामाजिक सञ्जालमा उनको निधन प्रति दुख व्यक्त गरेका छन् ।धेरै लामो समयसम्म बलिउडमा आफ्नो छवि बनाउन लागि परेका अभिनेता खानको निधनले सारा बलिउड नै यस बेला शोक मग्न भएको छ ।