गजलकार श्रेष्ठको एकल रचना वाचनबाट श्रोता मन्त्रमुग्ध
पर्वत,वैशाख ८ गते । जिल्लाका ख्याती प्राप्त गजलकार एवं वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठको एकल रचना वाचन कार्यक्रम गरिएको छ ।
मोफसलका कलाकारहरुको कृतिलाई जनमानससम्म पुराई सम्मान दिलाउने अभियान अन्तर्गत रचना वाचन गर्न लागिएको आयोजक सहारा क्याफेको भनाई छ । लामो समयदेखि मोफसलमा बसेर साहित्यक सृजना गर्दै आएका श्रेष्ठको साहित्यिक सम्मान स्वरुप गरिएको रचना वाचन कार्यक्रममा स्थानीय कलाप्रेमीहरुको भीड लागेको थियो ।
गीत, कविता, गजल, मुक्तक लगायत साहित्यिक विधामा कलम चलाएर दर्जनौ संख्यामा पुस्तक समेत प्रकाशित गरिसकेका साहित्यकार श्रेष्ठ गायन कलामा समेत पोख्त छन् । साहित्यकार श्रेष्ठका गजल र कविताले मौलिक भाका र भावनाहरु समेट्ने गरेको पाइन्छ । सुरिलो स्वरका धनी श्रेष्ठले गजल, मुक्तक र कविता मार्फत् मायाप्रेम, दुःखपीडा र हाँसोरोदन पोखेका थिए । उनको रचना वाचन सुनेर साहित्य र संगीतप्रेमी श्रोताहरु मन्त्रमुक्त बनेका थिए ।
सहारा क्याफे कुश्माका प्रोपराइटर तथा युवा साहित्यकार शंकर गिरीले मोफसलका कलाकार तथा साहित्यकारहरुको कला र कलाप्रेमीहरु विच सम्वन्ध स्थापित गर्न आफूले निरन्तर पहल गर्ने बताए । एकल रचना वाचन सहित सांगितिक कोशेली समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । सांगितिक प्रस्तुति गर्ने कलाकारहरुमा मान बहादुर नेपाली, भुपेन्द्र विसी लगायत थिए ।