के हो सेल्फ क्वारेन्टाइन ? क्वारेन्टाइनमा बस्दा के गर्ने ?
आफैले आफैलाई अन्य मानिसहरुसँग सम्पर्क बिना छुट्टै राखेर निगरानी गर्ने प्रक्रिया नै सेल्फ क्वारेन्टाइन हो । यसो गर्नुको कारण कथंकदाचित आफूलाई कुनै रोग संक्रमण भएको रहेछ भने आफू नजिक हुने अरु ब्यक्तिलाई नसरोस् भनेर सावधानी अपनाउने तरिका हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार ‘एउटा छुट्टै स्थानमा, निश्चित समयका लागि छुट्टै बस्ने काम नै सेल्फ क्वारेन्टाइन हो । आफू संक्रमित नभएपनि रोग फैलिएको देश वा स्थानबाट आएको अवस्थामा छुट्टै बसेर लक्षण देखिन्छ कि देखिदैन भनेर हेर्ने काम हो । अन्य मानिसको संसर्गमा जाँदा यदी संक्रमण भएमा अरुलाई सर्न सक्छ कि भनेर होसियारी अपनाउने कामलाई नै सेल्फ क्वारेन्टाइन भनेको हो ।’
कुनै प्रभावित रोगको क्षेत्रबाट फर्किएपछि आफूलाई आफ्ना परिवारका सदस्य र छिमेकीबाट अलग राख्नुपर्ने हुन्छ । रोग प्रभावित क्षेत्रबाट फर्किदा सो रोगले कति समयभित्र रोगको लक्षण देखाउँछ भन्ने आधारमा त्यति दिन छुट्टै बस्ने काम हो । जस्तै कोरोना भाइरसको संक्रमण १४ दिनभित्र देखा पर्ने भएकोले सो भाइरस संक्रमित क्षेत्रबाट फर्किँदा परीक्षणका लागि दुई साता छुट्ट्रै बस्नुपर्ने हुन्छ ।
रोग संक्रमण नभएपनि हुन सक्ने आशंकामा आफूले आफैलाई अलग राख्ने विधि नै सेल्फ क्वारेन्टाइन हो । क्वारेन्टाइनमा बसेका बेला रोगसँग मिल्दो जुल्दो लक्षण देखिएमा उसलाई तोकिएको अस्पतालमा उपचारका लागि लानुपर्ने हुन्छ र चिकित्सकको परामर्श लिनुपर्छ ।
डा. पुन भन्छन्, ‘कोरोना भाइरस पनि अहिलेसम्म अज्ञात अवस्थामा रहेको संक्रमण हो । अहिलेसम्म थाहा नभएको, तीब्र गतिमा फैलिने रोग छ भने त्यस्ता रोगको संक्रमण भएमा वा संक्रमण हुने जोखिम भएमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।’
रोगको संक्रमण फैलन नदिने महत्त्वपूर्ण विधि नै सेल्फ क्वारेन्टाइन हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनको यस्तो छ टिप्स :
क्वारेन्टाइनमा बस्दा के गर्ने ?
– परिवारका सदस्यसँग नजिक गएर कुरा नगर्ने, कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्ने
– माक्स लगाउनुपर्छ भन्ने जरुरी छैन, लगाएमा राम्रो हुन्छ
– छुट्टै बाथरुम प्रयोग गर्ने
– क्वारेन्टाइन बसेको ब्यक्तिले प्रयोग गरेका सामग्री परिवारका अरु सदस्यले प्रयोग नगर्ने
– संक्रमित रोगहरुका लागि फरक–फरक समयको क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । कोरोना भाइरसको लागि १४ दिन बस्नुपर्छ
– जथाभावी हिँडडुल तथा भ्रमण नगर्ने, सार्वजनिक सवारी साधन प्रयोग नगर्ने
– बेला–बेला शरिरको तापक्रम लिने
– संक्रमणको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्ने
– १४ दिनसम्म बस्दा पनि कुनै लक्षण देखिएन भने संक्रमण नभएको बुझ्नुपर्छ
– क्वारेन्टाइनमा बस्ने भन्दैमा भाइरसको संक्रमण फैलिएको बुझ्नु हुँदैन, उच्च मनोबल बनाउनुपर्छ, सरसफाइमा विषेश ध्यान दिनुपर्छ