औषधि तथा मेडिकल उपरकण सप्लायर्स ओम्नीसँगकाे सम्झौता रद्द,नयाँ टेन्डर खुलाउने

याम्बु – सरकारले कोरोना उपचारका लागि भन्दै ओम्नी ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ बारे जानकारी दिने नियमित मिडिया ब्रिफिङमा सम्झौता रद्द गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र बहादुर श्रेष्ठले बताएका हुन् ।
सम्झौतामा उल्लेख गरेअनुसार सामाग्री नल्याउन नसकेको भन्दै टेन्डर रद्द गर्ने निर्णय गरेको जानकारी गराउदै उनले सप्लर्यस कम्पनीको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गरिएको बताए ।
सम्झौता अनुसार मार्च ३० मित्र जति सामान ल्याउनु पर्ने हो त्यति ल्याउन नसकेको उनले जानकारी गराए । सम्झौता अनुसार ल्याउनु पर्ने सामानको हिसाबमा १० प्रतिशत र पैसाको हिसाबमा कुल कबोल रकमको १८ प्रतिशत मात्रै लाउन सकेको उनको भनाई छ ।
दोस्रो लट भोलिसम्म ल्याउन पर्नेमा हालसम्ममा पनि प्रतिवद्धता नआएको र ल्याउने संभावना पनि नरहेको उनको भनाई छ ।
ओम्नीसंँग बजार भाउ भन्दा २० प्रतिशत मूल्य बढीमा संम्झौता भएको पनि उनले स्वीकार गरे । उनले भने, हामीले उहाँहरुले प्रस्ताव गरेको भन्दा ०.५ प्रतिशत मुल्य घटाएर प्रस्ताव स्वीकृत गरेका हौं । त्यस पनि बजारभाउ भन्दा २० प्रतिशत मूल्य बढी हो । त्यतिखेर मूल्यको भन्दा पनि रोगको महामरी रोक्न सरकारले त्यस्तो निर्णय लिएको हो ।
सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो ।
सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो ।
उक्त सम्झौता रद्ध भएपछि मन्त्रालयले ३ दिनको सूचना निकालेर नयाँ टेन्डर भोलिनै खुलाउने जनाएको छ । सस्तोमा सामान ल्याउने भन्नेहरुले टेन्डर हाल्न पनि आग्रह गरे ।
बढीमा पाँच दिन भित्रै सबै सामान ल्याउनु पर्ने गरी सम्झौता गरिने उनले जानकारी गराए ।