नेपालमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, खाडी र युरोपबाट आउनेलाई लगाइयो रोक

याम्बु – सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ। कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिले उक्त निर्णय गरेको हो।
अब पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न नपाइने भएको छ।
त्यस्तै पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ।
साथै ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।
त्यस्तै फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।
कसैलाई कोरोना संक्रमण देखिएमा उक्त विरामीलाई कुन अस्पतालमा उपचार गर्ने भन्ने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ।
स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार अब कसैलाई कोरोना देखिएमा मन्त्रालयले नै कुन अस्पतालमा उपचार गर्ने भनेर निर्णय गर्नेछ।
कोरोनाबारे गलत सूचना दिए कारबाही
सरकारले कोरोना भाइरसबारे भ्रम सिर्जना गर्ने सूचना नदिन निर्देशन दिएको छ।बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गलत अभिव्यक्ति दिने खालको सूचना नदिन सामाजिक सञ्जालमासहित सबै सञ्चार माध्यमलाई निर्देशन दिएको छ।
गलत सूचना दिएमा विद्यमान कानूनबमोजिम कडा कारबाही गरिने बताइएको छ।यस्तै, चैत मसान्त सम्मका लागि सबै तहका विद्यालयहरुका पठनपाठन बन्द हुने भएको छ।
चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षा नरोकिने भएको छ।