हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तामाङ समुदायमा ल्हो परम्परा र यसको महत्व

– मोहन गोले तामाङ

तामाङ जीवनमा ले परम्पराको ज्यादै ठूलो महत्व छ । तामाङ मात्रै नभएर नेपालका अधिकांश हिमाली, पहाडी आदिवासी जनजातिहरु र संसारको मंगोल मुलुकहरु चीन, ताइवान, हङकङ, मकाउ, सिंगापुर, मंगोलिया, मलेसिया, तिब्बत, लद्दाख, थाइलैण्ड, लाओस, भियतनाम, बर्मा र जापान लगायतको देशमा बसोबास गर्ने मानिसहरुको जीवनमा ल्हो परम्पराको अन्योन्याति सम्बन्ध छ । म तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको अध्यक्ष भएको नाताले यो पंक्तिमा तामाङलाई मात्र जोडेर लेख्ने प्रयास गरेको छु । यो पर्वले तामाङ जीवनलाई भिन्न र जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । तर हामीले यसको महत्वको बारेमा राम्रोसँग बुझ्न नसक्दा ल्होछार भनेको सालमा एकपटक नाच्ने, गाउने पर्वको रुपमा मात्रै लिइरहेका छौ । ल्होछार साँस्कृतिक उत्सवको पर्व मात्रै होइन । नयाँ साल, सम्वत् फिरेको दिन नयाँ बर्ष पनि हो । यो परम्परा तामाङ लगायत मंगोल समाजले विकास गरेको साँस्कृतिक, सामाजिक सभ्यता हो । यो चन्द्रमाको गति र प्रभावको आधारमा हेर्ने वैज्ञानिक विश्व दृष्टिकोण हो । यो अन्धविश्वासको आधारमा भविष्यवाणी गर्ने नभई प्राकृतिक तत्वहरुको संयोग, वियोग, अन्तरक्रिया र अन्तरसम्बन्धका आधारमा सूचना दिने नियम संगत ज्ञान हो ।

हजारौं बर्ष पहिले नै यो परम्पराको विकास भयो र तामाङ समाज त्यही परम्पराबाट परिचालित हुँदै आएको छ । हाम्रो जीवन र संस्कृतिको प्रत्येक घडी, पला र प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुँदै आएको छ ।

ल्हो परम्परा अनुसार प्रत्येक बर्ष एउटा एउटा जनावर (बर्ग) ले शासन गर्दछ । महामानव मञ्जुश्री जो तामाङको ज्ञानको देवता पनि हो, उहाँले पञ्चशीर्ष डाँडामा बसेर मुसा बर्षमा ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट यो परम्पराको सुरुवात भएको हो । यससँग सम्बन्धित अरु पनि थुप्रै किम्वदन्तीहरु हामी सामू छन् । तर ती सबैलाई यहाँ राख्न सम्भव छैन । सोही विश्वास अनुसार अब आउने २८५६ ख्रेला छेपागी तिथि अर्थात वि. सं. २०७६ माघ ११ गते (माघ शुक्ल प्रतिपदा) देखि फाग् (सुंगुर) बर्षको समाप्त भई जिवा ल्हो (मुसा बर्ष) को शासन सुरु हुँदैछ । जसरी प्रत्येक बर्ष एउटा एउटा जनावरले शासन गर्दछ त्यसैगरी प्रत्येक महिनामा पनि एउटा एउटा जनावरले शासन गर्दछ । पहिलो महिना ख्रेलालाई बाघ महिना मानिन्छ । त्यसैगरी प्रत्येक दिनको २४ घण्टामा पनि २/२ घण्टाको दरले पालैपालो एउटा एउटा जनावरले शासन गर्छ भन्ने मान्यता छ । भारतीय ज्योतिष परम्परा सौर्य पात्रो अनुसार रातको १२ बजेपछि अर्को दिनको सुरुवात हुन्छ भने चन्द्र परम्परामा रातको ११ बजेदेखि अर्को दिनको सुरुवात हुन्छ । जसअनुसार रातको ११ बजेदेखि १ बजेसम्म मुसा, १ बजेदेखि ३ बजेसम्म गाई, ३ बजेदेखि ५ बजेसम्म बाघ, ५ बजेदेखि ७ बजेसम्म खरायो, ७ बजेदेखि ९ बजेसम्म गरुड, ९ बजेदेखि ११ बजेसम्म सर्प, ११ बजेदेखि १ बजेसम्म घोडा, १ बजेदेखि ३ बजेसम्म भेडा, ३ बजेदेखि ५ बजेसम्म बाँदर, ५ बजेदेखि ७ बजेसम्म चरा, ७ बजेदेखि ९ बजेसम्म कुकुर र ९ बजेदेखि ११ बजेसम्म सुंगुरले क्रमशः शासन गर्दछ । जुन जुन जनावरको जुन जुन बर्ष, महिना, बार र समय शासनअवधि हो, त्यो समयमा त्यही जनावर सक्रिय रहने र त्यसको प्रभाव पर्ने तामाङ समाजको जनविश्वास छ ।

तामाङ जीवनको महत्वपूर्ण कार्यहरु छेवर, पास्नी, बिबाह, मृत्यु मात्रै नभएर परदेश जाने, घर बनाउने, पुजाआजा गर्ने सबैखालको शुभ, अशुभ साईतमा ल्हो, खाम हेर्ने गरिन्छ । ल्हो र खामको आधारमा उसको चरित्र र भविष्यको आँकलन गर्ने हुँदा बिबाह, नयाँ कामको थालनी आदिमा यो परम्परालाई आधार बनाईन्छ । केटा र केटीको ल्हो, खाम नमिलेमा बुढापाकाबाट बिबाहको लागि स्वीकृति दिइदैन । जस्तोः मुसा र घोडा, गोरु र भेडा, बाघ र बाँदर, खरायो र चरा, गरुड र कुकुर, सर्प र बँदेल जोडा नमिल्ने ल्हो चिन्ह भएकोले बिबाह गर्नु हुँदैन भनिन्छ ।

त्यसकारण यो परम्पराको धार्मिक, सामाजिक, आर्थिक, साँस्कृतिक, स्वास्थ्य जीवनको क्षेत्रमा मात्र नभएर आजभोली राजनीतिक सन्दर्भमा समेत महत्व रहेको छ । ल्हो फिर्ने अवसरमा तामाङहरु ग्रहदशा फ्याँक्ने, कूलको पूजा गर्ने, घरमा लुङ्दर/दज्र्यु फहराउने र विश्व शान्तिको लागि लामाद्वारा मन्त्रोच्चारण गरिन्छ । यस बर्ष ल्हो फिर्ने दिन माघ ११ गते नागहरु एकठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने हुँदा अशुभ वा कालो दिन मानिएको छ । त्यसैले लामा, ज्योतिष गुरुहरुले उक्त दिन घरमा लुङ्दर, दज्र्यू नहाल्न आग्रह गरेका छन् । नागहरु बसाइँ सरेको बेला बाटोमा झिलिमिली देखेमा राम्रो नमान्ने र त्यस घरमा दुःख, बाधा हुने उहाँहरुको तर्क छ । यसकारण अघिल्लो दिन माघ १० गते नै घरमा लुङ्दर, दज्र्यु, पूजापाठ गर्दा राम्रो हुने देखिन्छ । यसरी यो पर्वले धार्मिक महत्व राख्दछ । यो पर्वमा आफू बस्ने घर रंग्याउने, बाटोघाटो सफा गर्ने, इष्टमित्र आफन्त, चेलीमाईती, दाजुभाई भेटघाट गर्ने, परदेश गएकाहरु घर फर्किने, यदि घर फर्किनु नसकेमा विदेशकै भूमिमा भएपनि तामाङ संस्कृतिमा रमाईलो गर्ने, घरपरिवार सम्झने, मान्यजनबाट टीका लगाउने, आशिर्वाद लिने÷दिने, विशेषगरी तामाङ परम्परागत खानपीन खाने, नयाँ तामाङ भेषभूषा लगाउने र सामूहिक भोजन जस्ता कार्यक्रम गरिने हुँदा यसले सामाजिक महत्व राख्दछ ।

तामाङ समुदाय कृषि पेशामा आश्रित भएको हुँदा यसले कुन समयमा कुन खेतिपाती लगाउने र कुनबेला कुन बाली सप्रिने, बिग्रने लगायत बर्षात, खडेरी आदि कुराको जानकारी दिन्छ । कुन ल्हो, खामको मानिसले कुन पेशा, ब्यासाय गरेमा राम्रो हुन्छ भन्ने कुराको जानकारी दिन्छ । यसको साथै नयाँ ल्हो फिरेसँगै तामाङहरु पुरानो तान काट्ने, आर्थिक बर्षको अन्त भए जस्तै गरी पुरानो ऋण तिर्छन् भने नयाँ कारोबारको समेत सुरुवात गर्छन् । यो बर्ष फलाम, मुसा वर्ष परेको हुँदा परिश्रमी ब्यक्तिलाई एकदमै राम्रो हुने ज्योतिष गुरु सोनाम ग्युर्मे बताउनु हुन्छ । यसरी यो पर्वले तामाङ जीवनमा आर्थिक महत्व राख्दछ ।

त्यस्तै ल्होको पाँच प्रकृतिका खामहरु एक अर्कोसँग अन्तरसम्बन्धित छ । जस्तोः आगोले मुटुसँग, पानीले मृर्गौलासँग, माटोले आन्द्रासँग, फलामले फोक्सोसँग र काठले कलेजोसँग सम्बन्ध राख्दछ । परम्परागत औषधि विधि अपनाउनेहरुले खाम सम्बन्धलाई ध्यानमा राखेर उपचार गर्छन् । यसरी पञ्च तत्वहरु पाँच ज्ञानेन्द्रीयसँग सम्बन्धित हुनाले यो परम्परा स्वास्थ्य जीवनको दृष्टिकोणले समेत अत्यन्तै महत्व राख्दछ । तामाङ बच्चामा धातु तत्वको कमी देखिएमा फलाम, सुनको जन्तर, चुरा, कल्ली लगाउने अर्थात जुन तत्वको कमी भयो, त्यही तत्वबाट उसको नाम राख्ने जस्तोः फलाम तत्वको बच्चालाई कमी भएमा फलामसिं नाम राख्ने चलन छ ।

यसैगरी यो पर्वले हिन्दू समाजको भन्दा भिन्न पहिचान र अस्तित्व बोकेको समस्त मंगोल सभ्यताको नै उजागर गर्दछ । यसले तामाङ समुदायलाई उत्तरी सभ्यतासँग साँस्कृतिक निकटता/सामिप्यता रहेको देखाउँछ भने ल्होछारको अवसरमा तामाङ झाँकी प्रदर्शन, तामाङ सेलो, म्हेन्दोमाया जस्ता गीत, नृत्य प्रस्तुत गरेर बर्ष दिनभरिको दुःख बिर्सने हुँदा यसले विशेष साँस्कृतिक महत्व राख्दछ । त्यस्तै पर्वको अवसरमा तामाङ घेदुङ जस्तो साझा संस्थाको आयोजनामा साँस्कृतिक सभा, महोत्सव, भेला, अन्तरक्रिया जस्ता कार्यक्रमहरु सञ्चालन गरी ताम्सालिङ पहिचान, प्रतिनिधित्व र आफ्नो गुमेको हक, अधिकारको सवालमा आवाज उठाउँदै तामाङ एकतामा टेवा पुग्ने हुँदा यो परम्पराले तामाङ समुदायमा राजनीतिक महत्व समेत राख्दछ ।

यस्तो महत्व बोकेको पर्वलाई घरघरमा धुमधामका साथ मनाउनु पर्नेमा अझै हामी प्रचारात्मक आन्दोलनमा मात्रै सीमित भइरहेका छौ । २०४६ सालको परिवर्तनपछि जोडतोडका साथ प्रचार गरियो । यसरी निरन्तर प्रचार गरेको नै आज तीन दशक नाघ्न लागि सक्यो । यो समय कम होइन । तर तामाङको घरभित्र ल्होछार अझै पस्न सकेको छैन । घर नजिकको चौक, गुम्बासम्म त घेदुङले जसोतसो ल्होछारलाई पु¥यायो तर घरभित्र पसाउने काम भनेको समुदायको आफ्नै कर्तब्य थियो । तर त्यो कर्तब्य पुरा नहुँदा ल्होछार घरबाहिर हिन्दूको पर्व दशैं चैँ घरभित्र पसिरहेको अवस्था छ । आधुनिक नेपालको निर्माणसँगै यहाँको रैथाने सभ्यता र फिरन्ते सभ्यताबीचको भिषण टकरावमा हिन्दू राज्यको रक्षाकवजमा विकसित बलियो फिरन्ते सभ्यताको सामू हाम्रो रैथाने सभ्यता हारेको कारण आज हामीमा ल्होछार कि दशैं भन्ने भ्रममा परिरहेका छौ । यस्तो भ्रमबाट २१ औं शताब्दीको तामाङहरु मुक्त हुनुपर्छ । अब अर्काले चलाएको चलन पछ्याउने होइन, चलनको इतिहास खोज्न सिकौ ।

बिगतमा सौर्य पात्रो बन्ने आधार र चन्द्रपात्रो बन्ने आधारको बारेमा हामी प्रष्ट नहुँदा समाजमा केही भ्रम पर्न गयो । वास्तवमा गहिरिएर अध्ययन गर्ने हो भने त्यो धेरै ठूलो बिबादको विषय थिएन । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लगाउने र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न ३५४ दिन लगाउँछ भन्ने नियम बुझ्दा पुग्थ्यो । हामीलाई थाहा छ, सुर्यको गतिको आधारमा बन्ने पात्रोलाई सौर्य पात्रो Solar Calender र चन्द्रमाको गति र प्रभावको आधारमा बन्ने पात्रोलाई चन्द्र पात्रो Luner Calender भनिन्छ । हामीसँग प्रचलनमा रहेको विक्रम सम्वत्को क्यालेण्डर सौर्य सिद्धान्त अनुसार बन्दछ भने मञ्जुश्री सम्वत्को क्यालेण्डर चन्द्र सिद्धान्त अनुसार बन्दछ । चन्द्र पात्रो अनुसार ३५४ दिनको एकबर्ष हुने हुँदा २९ देखि ३० दिनसम्मको एकमहिना हुन्छ । चन्द्रपात्रोमा साढे २९ दिनलाई एक महिना मानिन्छ । त्यसैगरी सौर्य पात्रो अनुसार ३६५ दिनको एकबर्ष हुने हुँदा कम्तिमा २९ दिन र बढीमा ३२ दिनसम्मको एक महिना बनाइएको हुन्छ । यसमा साढे ३० दिनलाई एकमहिना मानिन्छ । यसरी सौर्य पात्रोमा साढे ३० दिन र चन्द्रपात्रोमा साढे २९ दिनको महिना मान्ने परम्परा हुँदा महिना दिनमा नै एकदिनको फरक पर्छ । यसरी एकबर्ष १२ महिनामा नै दुई पात्रोमा ११ देखि १२ दिनको फरक पर्न जान्छ । तर फरक फरक सिद्धान्त अनुसार पात्रो बनेपनि यो नियम एकअर्कोसँग अन्तरसम्बन्धित छ । यसलाई अलग राख्न मिल्दैन ।

सौर्य पात्रोभन्दा चन्द्रपात्रोमा प्रत्येक बर्ष ११ दिनको कमी हुँदा त्यसलाई मिलान गर्न साढे ३२ महिनामा एउटा मलमास (अतिरिक्त महिना) थप्नै पर्ने हुन्छ किनकि साढे ३२ महिनामा सौर्य पात्रोको दिनभन्दा चन्द्रपात्रोको दिन ३० दिन कम भइसकेको हुन्छ । यदि यो समयभित्र चन्द्रपात्रोमा अतिरिक्त महिना थप गरिएन भने बर्षेनी ११ दिन थपिदै जाँदा झन् गञ्जागोल पर्न जान्छ । त्यसकारण चन्द्रपात्रो अनुसार बिगत बर्षको २८५३ ज्या ल्होको छैठौ महिना ब्येल्बोमा अतिरिक्त महिना (मलमास) ३० दिन थपिएर ३८४ दिनको एकबर्ष हुन पुग्दा सोनाम ल्होछार–२८५४ खि÷नागी ल्होको पहिलो दिन ख्रेला छेपागी तिथि बिक्रम सम्वत्मा तोकिएको तिथिभन्दा एक महिना पछाडि पर्न गएको थियो । यो संसारमा अधिकांश मंगोल मुलका देशहरुले चलाउने ग्रिगोरियन पात्रो अनुसार हो । हामी दुईचार जनाको लहडमा यसो गरिएको होइन । फेरि यस्तो समस्या चन्द्रपात्रोमा मात्रै होइन, सौर्य पात्रोमा पनि देखिन्छ । जस्तोः कहिलेकाही हिन्दूहरुको पर्व दशैंको महत्वपूर्ण तिथि अष्टमी, नवमी नै हराउन पुग्छ । तर कुनै हिन्दूले हाम्रो तिथि हरायो भनेर बोल्दैनन् । किनकि उनीहरु आफ्नो सिस्टमको बारेमा जानकार हुन्छन् । हामी तामाङ समाजको चन्द्रपात्रोमा त तिथि हराएको पनि होइन, सरेको मात्रै हो । तर पहिलोपटक यस्तो जानकारी दिइएकोले समुदायमा भ्रम पर्न गएको थियो । अब फेरि अर्को बर्ष पनि सोनाम ल्होछार फागुन महिना लाग्नुभन्दा एकदिन अघि मात्र माघ ३० गते पर्न जान्छ । फागुन छुन लाग्यो भनेर हामी के फेरि बिबाद गर्ने ? होइन । अब हामी आफ्नो लयमा हिड्नु पर्छ र समाजलाई एउटा दिशामा अगाडि बढाउनु पर्छ । यहाँहरुलाई सम्झना होला, यस सम्बन्धमा त्यतिबेला नेपाल तामाङ घेदुङले सबै तामाङ समुदायसामु आग्रह गरेका थियौ । वि. सं. को क्यालेण्डरमा लेखिएको समयदेखि नै सार्वजनिक उत्सव, साँस्कृतिक समारोहको कार्यक्रमहरु गर्न सकिन्छ तर चन्द्रपात्रो अनुसार आधिकारिक ल्हो फिरेको दिन घरमा पूजाआजा, लुङ्दर/दज्र्यु, खानपीन, भेटघाट, कोम्हेन्दोको टीका, आशिर्वाद, रमाइलो आदि गरौ । नेपाल तामाङ घेदुङको बैठकको निर्णय त्यस किसिमको थियो र त्यसै अनुसारको सर्कुलर गएको पनि थियो । धेरै साथीहरुले त्यसलाई अध्ययन गर्नु भएन । तर घेदुङले राष्ट्रिय रुपमा समुदायमा आधिकारिक तिथि एक महिना सरेको सूचना दिनुपर्छ भन्नाको लागि हामीले कार्यक्रम पनि सोही तिथिमा गर्ने हुँदा हलचल पैदा भयो । सुटुक्क विक्रम सम्वत्को क्यालेण्डर अनुसार नै कार्यक्रम गरेको भए केही हुँदैन थियो । तर एउटा सत्य सधैँभरि लुकिरहन्थ्यो । मैले त्यो सत्य लुकाउन चाहिन । भएको यति हो । त्यसैले मेरो भनाई के हो भने, पञ्चाङ्ग निर्णायक समितिको ५ जना बाहुनहरुको मण्डलीले तोकेको तिथि हाम्रो हुन सक्दैन । उनीहरुको पात्रोमा न हाम्रो तामाङको महिनाहरु ख्रेला, बेनेला भन्ने हुन्छ न जिवा, लाङ, ताक र पाँच खामहरु नै हुन्छन् । त्यस्तो हाम्रो परम्पराको कुनै छेउ, टुप्पो नछुएको सम्वत्, पात्रोमा तामाङ जीवन दर्शन खोज्ने र त्यसलाई ब्याख्या गर्ने काम नगरौ । यसले हामीलाई तामाङ बनाउदैन ।

अन्तमा, मार्कस गर्भेईले भनेका थिए– ‘आफ्नो इतिहास, उत्पति र संस्कृतिको ज्ञान नभएको मान्छे जरा बिनाको रुख जस्तै हो’ । साँच्चै आज ल्होछार परम्पराको बारेमा यसको महत्व बुझ्न नसक्दा गर्भेइले भने जस्तै हामी जरा बिनाको रुख जस्तै भइसकेका छौ । जो कुनैपनि बेला ढल्न सक्छ । जसरी ताम्सालिङ आन्दोलन हाम्रो खुट्टामा उभिएको आन्दोलन नहुँदा बागमती प्रदेश नामाकरण गर्ने बखत प्रदेशसभामा प्रस्तावक सांसद प्रेम तामाङले एकजना समर्थक समेत पाएन । यो ज्यादै दुखको कुरा हो । अब हामीले आफ्नै खुट्टामा उभिएको दीर्घकालीन आन्दोलनको विकास गर्नुछ । फेसबुकमा पोखिएको आक्रोश र भावनाको म सम्मान गर्छु तर त्यसले संघर्ष चल्दैन । यसको लागि सबैजना एकठाउँमा बसेर योजना बनाएर अघि बढौ । परिवर्तन हाम्रै पालमा सम्भव छ ।

सबैलाई सोनाम ल्होछार– २८५६ (जिवा/नाम्युङ ल्हो) को अवसरमा हार्दिक शुभकामना (ज्यावाडान्बा) । थुजेछे, फ्याफूल्ला ।।

(लेखक – नेपाल तामाङ घेदुङ , केन्द्रिय अध्यक्ष हुनुहुन्छ)






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution