संस्मरण : ल्होछारको दिन टुन्डीखेल मै किन र कसरी ल्होछार महोत्सव मानियो त ?

-सरोज मोहन लामा
ल्होछारलाई ल्होसोर भनेर सुनेको मैले करिब २०४७/०४८ साल तिर हो । त्यो बेला दोलखा जिल्लाका कम्युनिस्ट नेता क. जीत वीर लामा नेपाल तामाङ घेदुङको उपाध्यक्ष हुनुहुँदो रहेछ भने पशुराम तामाङ अध्यक्ष त्यो मैले धेरै पछि थाहा पाए । उहाँ जीतबिर लामा चाहि सामाजिक अभियन्त मात्रै नभएर एक संघर्षशील स्थापित राजनीतिक ब्यक्तित्व भएर पनि होला त्यो बेला दोलखा जिल्लाभर मात्रै नभएर नेपाल अधिराज्यभरी नेपाल तामाङ घेदुङ र ल्होछार पर्व भनेर म जस्ता जिज्ञासुहरुले थाहा पाए । सायद अरुलेनी त्यही बेला देखि नै थाहा पाए होलान् । पछि पछि त ल्होसोर नभएर ल्होछार रहेछ तामाङ भाषामा ल्हो भनेको बर्ष/साल/बर्ग र छार भनेको नयाँ अर्थात नयाँ बर्ष/साल/बर्ग ।
त्यसपछि म निरन्तर तामाङ विद्यार्थी घेदुङमा सक्रिय हुँदै आए । विद्यार्थी काल पछि नेपाल तामाङ घेदुङमा निरन्तर सक्रिय छु । जुन बेला मलाई म आफ्फै तामाङ जाती रहेछु र मेरो जाती शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सबै हिसाब अलि पछि परेको र पारिएको कुरा थाहा पाए त्यो बेला देखि नेपाल तामाङ घेदुङलाई तामाङ साझा संगठन/संस्था र ल्होछारलाई तामाङको राष्ट्रिय पर्व र नेपाल देशकै राष्ट्रिय पर्व बनाउन र प्रचार गर्न आजको दिनसम्म पनि लागिनै रहेको छु ।
ल्होछार भन्ने शब्द नै बिर्सी सकेका हामी तामाङलाई त्यो शब्द मगजमा पुनः घुसाउनको लागि धेरै मेहनत र रोटी पेल्नु परेको थियो । मेरो ख्याल, सम्झना र अनुभवमा । त्यस्तै राज्यका संचालकहरुको मगजमा घुसाउन त झन अझै नसकेको अवस्था देखिन्छ । शब्द गुसाउनकै लागि भए पनि तिथि मिति अनुसार ल्होछारको दिन कार्यक्रम गर्नुपर्ने अवस्था हुन्थ्यो त्यो बेला । शुरु शुरुमा कार्यक्रम सानो सानो हलमा जम्माजम्मी एक दिन मुस्किलैले हुन्थ्यो, त्यो पनि केन्द्रिय घेदुङले मात्रै । ल्होछार मान्ने विधि, थिती त परकै कुरा । पछि पछि बिस्तारै ल्होछार मान्ने विधि पनि संगसगै प्रचारप्रसार हुँदै गर्दै गयौ । त्यसपछि नेपाल तामाङ घेदुङ केन्द्रियले राष्ट्रिय सभागृह अर्थात ठुलो हल भित्र एक दिन कार्यक्रम गर्ने आट र साहस बटुल्दै गयो । टुन्टीखेल त परकै कुरा, सहभागीलाई जुटाउन यातायातका साधनको ब्यबस्था नै गर्नुपर्थ्यो सभा गृहमा कार्यक्रम गर्न समेत । पछि धेरै पछि देखि मात्रै घेदुङको भात्रीसंगठन र जिल्ला तिर, त्यसपछि अलि पछि देखि चाहिँ प्रबासतिर बिस्तारित प्रचार प्रसारित हुदै गएको हो ।
एबंरितले ल्होछार पर्बको प्रचारप्रसार र मनाउदै जाने लाने क्रममा २०६२/०६३ को दोस्रो जनआन्दोलन पछि भने केन्द्रिय घेदुङ अनि विभिन्न राजनीतिक पार्टीका तामाङ जातिको संगठन र विभिन्न तामाङ संग/संस्थाको सहकार्यमा पहिलो पटक टुन्डीखेलमा ल्होछार महोत्सव मनाउने हिम्मत गरेको हो । तर त्यो बेलासम्म पनि टुन्डीखेलमा हामी तामाङहरुलाई उतार्न धेरै गार्हो थियो । प्रत्येक राजनीतिक दलका तामाङ संगठन र तामाङ संघ/संस्थाले कार्यक्रममा सहभागी उतार्न आन्तरिक प्रतिस्पर्धा र जिम्मेवारी अनि भाग नै लगाउथ्यौ । तामाङ संघ/संस्थाले भन्दा जनसहभागिता जुटाउने क्षेमता र हैसियत राजनीतिक दल भित्रको तामाङ संगठनले गर्न सक्ने भएकाले त्यो बेला त्यस संगठनको साहारा लिएका थियौ । त्यसरी निरन्तर रूपमा ब्यबस्थापन, प्रचारप्रसार र आक्रमक रूपमा मान्दै र मनाउदै आउदा ल्होछारलाई नेपाल सरकारले राष्ट्रिय पर्बको रूपमा एक दिन सार्वजनिक बिदा दिन थाल्यो । त्यसपछि त झन उपस्थिति बाक्लो हुँदै गयो । तर अहिले सजिलो भएको छ टुन्डीखेलमा तामाङ लगायत ल्होछार प्रेमीहरुलाई उपस्थिति गराउन र ल्होछार महोत्सव गर्न । मात्रै कार्यक्रम टुन्डीखेलमा आयोजना गरेको छ भनेर घोषणा गरे पुग्छ । प्रचारप्रसार गर्नुनै नपर्ने स्थिति बनेको छ । त्यसरी अहिले यस्तो बेला मुखको स्वाद पर्ने केही डुकुलुन्ठकहरु चाहिँ टुन्डीखेलमा ल्होछार नमनाऔ भनेर कुर्लेको देख्दा दया लाग्छ । त्यो टुन्डीखेलमा हिजोआजको जस्तो मान्छे जुटाउन कति दु:ख, मेहनत गरेको थियो भन्ने टुन्डीखेलमा ल्होछार मान्ने होईन भन्नेहरूलाई के थाहा ?
यसरी टुन्डीखेलमा ल्होछार महोत्सव गर्न हिजोआज त टुन्डीखेल ल्होछारको दिन बुक गर्न गोजीभित्रको हरिकंगाल बिखारी पाराको विभिन्न तामाङ नामधारी संस्थाले पनि आट गर्छन र नेपाल तामाङ घेदुङ केन्द्रलाई अप्ठ्यारोमा पारिदिन्छन कहिलेकाही । अनि कहिले ल्होछार टुन्डीखेलमा होईन घर घरमा मान्नुपर्छ भनेर एक दुई जना माकाफुईहरु चिच्याउछन । अरे माकाफुई, डुकुलुन्ठकहरु तिमीहरुलाई घर घरमा ल्होछार मान्नुपर्छ भनेर अभियान र प्रचारप्रसार संचालन गर्न एकदम छुट छ र घर घरमा मान्न पनि छुट छ बन्देज कसैले गर्दैन र छैन । तर धेरै दु:ख, मेहनत गरेर टुण्डीखेलमा ल्होछारको एक दिन ल्होछार महोत्सव मनाउदा के टाउको दुख्यो त ? बरु भन्नू कि टुन्डीखेलमा एक दिन भब्य रूपमा ल्होछार महोत्सव मनाऔ र आ-आफ्नो घरमा पनि विधि र तिथि मिति मिलाएर मनाऔ भनेर । खुकुरीको चोट के थाहा छ ? टुन्डीखेलमा यसरी ल्होछारको दिन मान्छे उपस्थिति गर्न कति मेहनत र रोटी पेल्नु परेको थियो ? भन्ने ।
अन्तमा फेरि यसरी कार्यक्रम, नाचगान, रमाइलो महोत्सव गर्नुको मुख्य उदेश्य चाहिँ ल्होछारको एकैपटक धेरै जनामा प्रचारप्रसार, ल्होछार मान्ने बिधिको सिकाई एक्कै पटक धेरैमा प्रचारप्रसार, अनि ल्होछार शब्दको सबैमा छाप बसोस, मगजमा पसोस । राज्य सरकार र राज्य संचालक शासकले पनि देखोस भनेर नै हो ।
थुजेछे ।
(लेखक – केन्द्रिय सदस्य नेपाल तामाङ घेदुङ)