प्रदेश ३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा पारित

हेटौंडा । दुई वर्षपछि आइतबारबाट प्रदेश ३ ले स्थायी राजधानी र नाम प्राप्त गरेको छ । आइतबार बसेको प्रदेशसभाको बैठकले स्थायी राजधानी हेटौंडा र नाम वाग्मती पारित गरेको हो । प्रदेश ३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । दुई वर्षदेखि अन्यौलमा रहेको स्थायी राजधानी र नामाकरण आज आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाएको छ ।
प्रदेशसभामा रहेको १ सय १० मत मध्ये १ सय ५ मत स्थायी राजधानी हेटौंडको पक्षमा परेको छ । धुलिखेलको पक्षमा ३ मत मात्र परेको छ । १ सय १० जना सांसद रहेकोमा आइतबार १ सय ८ जना सांसद उपस्थित रहेका थिए ।
बैठकमा मकवानपुरको हेटौंडालाई राजधनी बनाउन पेश गरको प्रस्ताव फिर्त लिनका लागि सभामुख सानुकुमार श्रेष्ठले समय दिएका थिए । प्रस्ताव दर्ता गरेका मुख्यमनत्री डोरमणि पौडेलले फिर्ता नलिएपछि सभामुखले निर्णर्याथ पेश गरेका थिए । उक्त मतदानमा हेटौंडाको पक्षमा १ सय ५ र विपक्ष धुलिखेलको पक्षमा ३ मत परेको थियो ।
हेटौंडाको पक्षमा १ सय ५ मत परेपछि सभामुख सानुकुमार श्रेष्ठले दुईतिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा कायम भएको घोषणा गरे । संसदमा रहेको १ सय १० मत मध्ये नखसेको दुई मतमा एक मत सभामुख श्रेष्ठ र अर्को मत स्वतन्त्र सांसद प्रेमबहादुर तामाङको रहेको थियो । सांसद तामाङले राजधानी र नामाकरणको प्रक्रियामा सामेल नहुने घोषणा गरिसकेका थिए ।
यसअघि प्रदेशसभाको बैठकमा सभामुख श्रेष्ठले काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रस्ताव पेश गरेका विवेकशिल साझा पार्टीका रमेश पौडेललाई फिर्ता लिन समय दिएका थिए । पौडेलले प्रस्ताव फिर्ता नलिएपछि सभामुखले निर्णर्याथ पेश गरेका थिए । उक्त मतदान प्रक्रियामा १ सय ४ जना सांसदले मात्र सहभागिता जनाएका थिए । धुलिखेलको पक्षमा ३ र हेटौंडाको पक्षमा १ सय १ मत परेको थियो । प्रदेशसभामा नेकपाका सांसद ७९ जना रहेका छन् । यस्तै नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १–१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत पुग्दछ ।
प्रदेशसभाको चारवटा अधिवेशनले टुंगो लगाउन नसकेको राजधानी र नामाकरणको विषय पाँचौ अधिवेशनले टुंगो लगाएको छ । यो सँगै अब स्थायी राजधानी र नामको विवाद अन्त्य भएको छ । अब सरकारले स्थायी मानसिकताबाट काम गर्नुपर्ने सांसदहरुले बताएका छन् ।
प्रदेशसभाको आइतबारै बसेको अर्को बैठकले ३ नम्बर प्रदेशको नाम वाग्मती पारित गरेको छ ।
सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम वाग्मतीको पक्षमा १ सय ८ मत खसेको छ । नामाकरण वाग्मतीको विपक्षमा कुनै पनि सांसदले मतदानमा सहभागी भएनन् । राजधानीमा फरक प्रस्ताव दर्ता गरेका विवेकशिल साझा र विवेकशिल नेपाली दलले पनि नामाकरणमा वाग्मतीमै सहमति जनाएका थिए ।
यसरी जुट्यो सहमति
प्रदेश ३ मा २०७४ माघ २९ गते सरकार गठन भएको थियो । नेकपाको दुई तिहाइ (८०) मत रहेपनि स्थायी राजधानीमा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको थिएन् । १३ पुसमा नेकपा सचिवालय बैठकबाट प्रदेश–३ को नाम बाग्मती र राजधानी हेटौँडा राख्न प्रदेश कमिटी र संसदीय दललाई निर्देशन दिएपछि यसले व्यापकता पाएको थियो ।
सचिवालयको निर्देशन नमान्ने भन्दै सांसदहरुले असन्तुष्टि जनाएपछि नेकपा प्रदेश ३ संसदीय दलको बैठक पाँच दिनसम्म बसेको थियो । पाँचौ दिनको बैठकले राजधानीमा हेटौंडा र नामाकरणमा वाग्मतीमात्र प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । दलको निर्णयपछि मुख्यमन्त्री डोरमणि पौडेलले सबै दलको साझा प्रस्ताव लैजानका लागि बैठक आव्हान गरेका थिए ।
मुख्यमन्त्रीको आव्हान पछि नेपाली कांग्रेस, नेमकिपा, राप्रपा र राप्रपा संयुक्तले नेकपाकै निर्णयलाई समर्थन जनाएका थिए । विवेकशिल साझा र विवेकशिल नेपाली दलले भने नाममा सहमती जनाएपनि राजधानी काभ्रेको धुलिखेल हुनुपर्ने भन्दै प्रस्ताव दर्ता गरेका थिए । धुलिखेल राजधानी प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलको राजधानीमा एउटामात्र प्रस्ताव दर्ता गर्ने प्रयास विफल भएको थियो । अन्ततः नेकपाकै निर्णय अनुसार प्रदेशसभाले राजधानी र नाम पारित गरेको छ ।
पाँच जिल्ला सिफारिस
सडकदेखि संसदसम्म प्रदेश ३ को राजधानीबारे व्यापक चर्चा, आलोचना हुन थालेपछि प्रदेशसभाले सांसद दीपक निरौलाको सभापतित्वमा २०७५ बैशाख १४ गते १० सदस्यीय विशेष समिति गठन गरेको थियो । प्रदेश सभामा स्थायी राजधानी कायम गरियोस् भन्दै दर्ता गरिएका काभे्र, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुरको सम्भाव्यता अध्ययनका गर्न गठन गरिएको समितिलाई प्रतिवेदन बुझाउन ४५ दिन समय तोकिएको थियो ।
४५ दिनको समय दिइएको समितिले थप १५ दिन अध्ययन गरी सभामुख सानुकुमार श्रेष्ठलाई २०७५ असार २६ गते प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन सभामुख श्रेष्ठले २०७५ असार २६ गते प्रदेशसभामा टेबुल गरेका थिए । यो नै प्रदेश राजधानी टुङ्ग्याउने सवालमा थालिएको पहिलो प्रयास थियो ।
समितिले राजधानीको लागि सिफारिस गरेको जिल्लाहरुमा वर्णानुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर रहेका थिए । समितिले जिल्लाको भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम प्रतिवेदनमा उल्लेख छ ।
यस्तो थियो मतको अवस्था
प्रदेश ३ मा १ सय १० जना सांसद रहेका छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि १ सय ९ जना रहेका छन् । १ सय ९ जना मध्ये नेकपाका सांसद ७९ जना रहेका छन् । यसैगरी नेपाली कांग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १÷१ मत रहेको छ । यस्तै विवकशिल साझा पार्टी र विवेकशिल नेपालीको ३ मत रहेको छ । एक मत स्वतन्त्र सांसद प्रेम तामाङको रहेको छ ।