तेस्रो विश्व युद्ध हुन लागेको हो ?

डा. दिनेश भट्टराई
काठमाडौं । मध्यपूर्वमा अहिले तनाव भइरहेको छ । गएको शुक्रबार अमेरिकी आक्रमणमा इरानका सैनिक कमान्डर कासिम सुलेमानीको इराकमा मृत्यु भएपछि यो तनाव बढ्दै गएको हो । आज मात्रै इरानले इराकस्थित अमेरिकी अखडामा आक्रमण गरेको छ । त्यसैले अलि होशियार हुनुपर्ने समय भएको छ ।
त्यहाँ हुने तनावले नेपाल र नेपालीलाई पनि असर गर्छ । सबैभन्दा पहिलो कुरा त्यहाँ के कति नेपाली छन् उनीहरुको सुरक्षामा ध्यान दिनुपर्छ । अर्को कुरा त्यहाँको तनावले गर्दा हामीलाई गाडी चलाउन पनि गाह्रो पर्न सक्छ । किनकि उतैबाट पेट्रोलियम पदार्थ आउने हो । भारतलाई त्यसको असर पहिला पर्छ र भारतलाई परेपछि हामीलाई पनि पर्छ ।
पेट्रोलियममा मूल्य बृद्धि भएपछि अन्य कुरामा पनि मूल्यबृद्धि हुन सक्छ । अहिले तेस्रो विश्वयुद्धको खतरा आउन लाग्यो कि भन्ने चर्चा चलेको पनि देखिन्छ । तर, त्यति पर नगई यो समस्या सल्टाउनेतर्फ नै सबै लाग्नु जरुरी रहेको छ । सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि अमेरिका अफगानिस्तान र इराक युद्धमा लागेको थियो । त्यहाँको परिणाम कस्तो छ सबैलाई थाहा छ ।
अमेरिका त्यतातिर लागेको बेलामा चीनले भने आफ्नो विकासलाई तीब्र गतिले अघि बढाएको छ । त्यसैले अमेरिकीहरुले पनि यो कुरा बुझ्नु जरुरी हुन्छ ।
अर्को खतरनाक कुरा भनेको अहिले इरान, चीन र रसिया एकैतिर छन् ।
तर, त्यतिकै भरमा हामीले तेस्रो विश्व युद्धको कुरा चाहिँ गर्नु हुँदैन । यसलाई सल्ट्याउनेतिर लाग्नुपर्छ । अहिले युद्ध गर्ने बेला होइन । विकास गर्ने बेला हो । त्यसैले सबैले विकासतर्फ चासो दिनुपर्छ ।
सुलेमानीको हत्याका क्रममा दुवै कोणबाट हेर्न मिल्ने अवस्था छ । जस्तो कि इरानले पनि इराकमा गुप्तचर पठाएर जाल बिच्छ्याउनका लागि त्यसरी मान्छे खटाउनु हुने थिएन ।
किनकि त्यहाँको मामिला इराकको आन्तरिक मामिला हो । अनि अमेरिकाले पनि त्यसरी आक्रमण गर्नु हुने थिएन । त्यसैले दुवैपक्षबाट गल्ती भएको छ । सबै सच्चिएर अघि बढ्नु जरुरी छ ।
(पूर्वराजदूत डा. भट्टराईसँग कुराकानीमा आधारित)