इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण,८० अमेरिकी सैनिक मारिएको दाबी
इरानले आफ्नो मिसाइल आक्रमणमा ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार ‘इरानले ८० अमेरिकी आतंकवादी’ मिसाइल आक्रमणमा मारिदिएको छ।
आफ्ना सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि इरानले अमेरिकासँग बदला लिने बताएको थियो।
मंगलबार मात्र इरानले अमेरिकी सेनालाई आतंकवादी घोषित गरेको थियो। बुधबार बिहानै इरानले इराकस्थित दुई अमेरिकी सैन्य बेसमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपतिले त्यहाँ भएको मानवीय तथा अन्य क्षतिको अध्ययन भइरहेको र त्यसको जवाफ छिटै दिने बताएका थिए।
ट्रम्पले ट्वीटमा भनेका थिए,‘हामीसँग संसारमैं सबैभन्दा शक्तिशाली र अत्याधुनिक सैन्यशक्ति छ, निकै नै बढी भोलि सबेरै म आफ्नो धारणा दिनेछु।’
ट्रम्पले आक्रमणको जवाफ दिने बताइरहँदा इरानले अमेरिकी सेना मारिएको दाबी गरेको हो। रोयटर्स