हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तिमालका तामाङ राजासँग पृथ्वीनारायण शाहको युद्ध

याम्बु  — तिमाल क्षेत्रलाई तामाङहरुले आफूहरुको ऐतिहासिक महत्वको क्षेत्र मान्दै आएका छन् । झिंगु, रोशी र सुनकोशी नदीले छुने मध्यपहाडी बेँसी भेगमा रहेको तिमाल क्षेत्रले महत्वपूर्ण इतिहास र सांस्कृतिको विरासत बोक्दै आएको छ ।

हरेक वर्षका चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध स्तुपमा तामाङहरुको ठूलो तीर्थयात्रा हुन्छ। यसको भोलिपल्ट अर्थात् चैत पूर्णिमामा तीर्थालुहरु बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन् र उनीहरुको यो तीर्थयात्रा स्वयम्भूमा दीप प्रज्वलन, दानदक्षिणा र पूजापाठसम्म पुग्छ। यसरी दुई दिनसम्म लाग्ने यो तीर्थ यात्राको नाम ‘तिमाल जात्रा’ हो। तिमाल क्षेत्रका अन्तिम शासक रिन्छिन दोर्जेले पनि यो जात्रामा सहभागिता जनाएका हुनाले पनि तामाङहरुले यसलाई महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक विरासतको रुपमा लिँदै आएका छन्।

रिन्छेन दोर्जेः प्रामाणिक शासक

तामाङहरुले आफ्नो अन्तिम राजा मानेका तत्कालीन तिमालका स्थानीय शासक रिन्छिन दोर्जेका बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ। तर उनी स्थानीय शासक हुन् भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेको छ। पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ पूर्णाङ्क ९१ (पुस–माघ २०४२:६)मा चन्द्रप्रसाद त्रिपाठीले लेखेको ‘प्राचीन तामाङ बस्तीः तिमालको इतिहासमा प्रकाश’ शीर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले रिन्छिनको नाममा जारी गरेको एक ताम्रपत्र छापिएको छ। तिमाल कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेले सुरक्षित गरिराखेको यो ताम्रपत्रमा जग्गा विर्ता दिइएको भनी लेखक त्रिपाठीले उल्लेख गरेका छन्। विक्रम सम्वत १८१९ भाद्र सुदिमा हरिहरपुरबाट रिन्छिन दोर्जेका नाममा जारी गरिएको ताम्रपत्रको ब्यहोरा यस्तो छः

(विरु) दावली विराज मानन्नत श्री
मत्महाराजधिराज
श्री श्री श्री द्दिक्वन्धन सेन देवदेवाना सदा
समय विजइ नाम
आगे रिजिन मिझारको कल्या मटे
य मरि १० लाक्या मद्दे वाझो मुरि ६०९
…पहरो पश्चिम सालको …
ढलो उत्तर कोसी पूर्व डाडो ल्व (कि)
ल विर्ता गरि दियोको छ च…
वा गरि षातिरजामा सा वित
नु विर्ताका सरह सेवा गर्नु घडे
रि पाथि तिन विव जान्या…
मा गरि दियाको छ इति सम्वत १८
१९ भाद्र सुदि… हरि
हरपुरमा आगे सुक्रिविक्री सरिषानु

मकवानपुरका तत्कालीन राजा अर्थात् अन्तिम राजा दिग्वन्धन सेनले हरिहरपुरबाट रिन्छेन दोर्जेलाई यस्तो ताम्रपत्र पठाएको देखिएकोले उनी तिमाल क्षेत्रका स्थानीय शासक भएको प्रमाणित हुन्छ।

तिमाल हात लिने गोरखाली तयारी

पृथ्वीनारायण शाहले सुरुमा उपत्यका कब्जा गर्न वरिपरिका साना राज्यहरुलाई हात लिँदै उपत्यकालाई घेर्दै लैजाने नीति बनाएको देखिन्छ। यसका लागि तामाङहरुको आवाद रहेको र उनीहरुकै जातिको शासक रहेको तिमालकोट आक्रमण गरी त्यसलाई हात लिन पृथ्वीनारायण शाहले व्यवस्थित र गम्भीर तयारी गरेको देखिन्छ।

यहीँ अभियानअन्तरगत नेपाल राज्य अर्थात् काठमाडौं उपत्यकालाई घेर्दै जाने क्रममा गोरखाली सेना शिवरामसिंह बस्नेतको नेतृत्वमा साँगाभञ्ज्याङमा उत्रेको यियो। त्यो समयमा पलाञ्चोक आसपासका बगाले थापाहरु गोरखालीहरुको त्यो अभियानबाट सशंकीत भए। गोरखालीहरुलाई भगाउने जिम्मा काशीराम थापाले कान्तिपुरका राजा जयप्रकाश मल्लबाट प्राप्त गरे। बाबुराम आचार्यद्वारा लिखित ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी ‘ (२०६१:१७१–१७६)मा पलाञ्चोक क्षेत्रका बगाले थापाहरुलाई कसरी पृथ्वीनारायण शाहले हात लिए भन्ने प्रसङ्ग पढ्न पाइन्छ।

आचार्यअनुसार काशीराम थापाको नेतृत्वमा रहेको कान्तिपुरका सेनाले आक्रमण गर्दा साँगाभञ्ज्याङमा उत्रेको गोरखाली सेनाका सेनानायक भारदार शिवरामसिंह बस्नेतलाई नै मारिदिएपछि गोरखाली सेना नुवाकोट फर्क्यो। यसबाट जयप्रकाश मल्लको खुसीको सीमा रहेन। यता काशीराम थापा थप उत्साहित हुँदै नुवाकोट पनि कान्तिपुरलाई फिर्ता गरिदिने उद्योगमा लागे। तर उनी हारे। यता जयप्रकाश मल्ल उनीसँग रिसाए। नुवाकोट कान्तिपुरलाई फर्काउने उद्योगमा असफल भएपछि काशिरामलाई बोलाए।

जयप्रकाश मल्लले भन्नेबित्तिकै उनी कान्तिपुर आएनन्, पछि देउपाटननेरको कुटुम्बहीमा डेरा गरी बसे। जयप्रकाश स्नान गर्ने बाहनामा आएर काशिरामलाई मराए। काशिरामको हत्यापछि उनका भाई परशुराम थापा जयप्रकाशसँग क्रुद्ध भए। यो परिस्थिति बुझिरहेका पृथ्वीनारायण शाहले परशुरामलाई नुवाकोट बोलाए। त्यो बेला परशुराम जयप्रकाशसँग फुटेर भक्तपुरका राजा रणजीत मल्लको बफादार भएका थिए। पृथ्वीनारायणले उनैलाई साँखु र चाँगुमाथि आक्रमण गर्न लगाई त्यो कब्जा गरी आफ्ना मितबुवा रणजीत मल्ललाई सुम्पे।

यस्तै चालवाजीअनुसार पृथ्वीनारायण शाह पलाञ्चोकका थापाहरुलाई पनि हात लिँदै रहेका थिए। यता बगाले थापाहरु पनि पृथ्वीनारायण शाहसँग मिल्न लालायित थिए, यस घटनालाई पुष्टि गर्ने एक लालमोहर इतिहासकार मोहनप्रसाद खनालले आफ्नो पुस्तिका ‘पृथ्वीपत्र संग्रह भाग १’ (२०१८:१०)मा प्रकाशमा ल्याएका छन्। लछिमन थापाको नाममा पृथ्वीनारायण शाहले जारी गरेको लालमोहरको व्यहोरा यस्तो छः

स्वस्ति श्री गरिराज चक्रचूडामणि नरनारायणेत्या
दि विविध विरुदावलिविराजमानोन्नत श्री
मन्महाराजधिराज श्रीश्रीश्री मत्पृथ्वीनारायण साहदे
वानां सदासमरविजयिनाम्।
आगे लछिमन थापाके आसिषपूर्वक पत्रमिदं यहाँ कुु
सल तहाँ कुसल चाहिये पत्र आयो अर्थ मालुम भयो यहाँको
समाचार निको छ. उप्रान्त हिजो पनि मईले तेरो पिछा लि
याकै हो तैलेई कपट घाली विर्‍या धामिको नेल काट्न ला
ईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई
चमक्या छ अरु कौनै तेरो विराउ छैन धर्म भागि
पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा.तेरो जति
हो तति वकसुला. उप्रान्त तिमालको काज पुर्‍याऊ छु
भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आ
ट. भदउका दिन नसकी जैसिले साइत दियानन्
ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या काम
गर. अरु बाँकी काजिकै मोहर देषत गर. इति सम्वत्
१८१९ भाद्र शुदि १ रोज ६ शुभम्

यस लालमोहरमा व्यक्त गरिएको भाकाअनुसार लछिमन थापाले बिरे धामी नामका व्यक्तिको नेल काटेर भगाएको, बीरे पारी अर्थात् तिमाल क्षेत्रमा गई भोटे अर्थात् तामाङहरुलाई उक्साएको र उनीहरु पनि आवश्यक परे युद्ध लड्न तयारी अवस्थामा रहेको बुझिन्छ। साथै यस लालमोहरबाट तिमालको युद्धमा लछिमन थापाले पृथ्वीनारायण शाहलाई आवश्यक सहयोग गर्ने खबर पठाएको र उनलाई पृथ्वीनारायण शाहले तिमालका तामाङहरुलाई सम्झाउँदै बुझाउँदै गर्न पनि आदेश दिएको बुझिन्छ।

तिमालको त्यो युद्ध

पृथ्वीनारायण शाह कुनै पनि क्षेत्रमा युद्ध वा आक्रमण गर्नुअघि ज्योतिषलाई साइत हेराउन लगाउँथे। माथि उल्लेखित लालमोहरअनुसार तिमाल क्षेत्रमा आक्रमण गर्न भदौ महिनाभर ज्योतिषले साइत दिएनन् भन्ने स्पष्ट हुन्छ। असोज लाग्नासाथ गोरखालीहरुले तिमाल क्षेत्रमा आक्रमण गरे। यस युद्धमा त्यो समयमा नाम चलेका गोरखाली भारदार र सैन्य अधिकारीहरुले त्यो आक्रमणमा भाग लिएका थिए। ‘भाषा वंशावली’ लाई उद्धृत गर्दै इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क १४(श्रावण, भाद्र, आश्विन २०२४:१४४)मा पृथ्वीनारायण शाहको भाकामा यस्तो छापिएको छः

मकवानपुर सर भयो। तिमाल र सिन्धुली फत्ते भयो। अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्ना मन्त्रीवर्गसित सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर प्रभृति नजिकी, द्वार्‍या, उमराव गैह्रथरघर मालमानिस समेत फौज विदा गर्नुभयो, लस्कर। लिई भाइभारदारले तिमालकोट हान्या। हान्दा ३०० गीड पर्‍याका।

भाषा वंशावलीको यो वर्णनबाट तिमालको त्यो युद्धमा तीन सय जना मारिएका स्पष्ट हुन्छ। यसबाट तत्कालीन तामाङ राजा अर्थात् स्थानीय शासक रिन्छिन दोर्जे पनि मारिए भन्ने अनुश्रुति तिमाल क्षेत्रमा पाइन्छ। उनलाई शान्ति सम्झौता गर्ने बाहनामा सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाइएको र त्यहीँ सर्तअनुसार उनी त्यहाँ पुगेका तर गोरखालीहरुले सुनकोशी किनारमा बालुवामा लुकाएर राखिएको हतियार झिकी रिन्छिन दोर्जे लगायत उनका मानिसहरुको हत्या गरिएको अनुश्रुति बटुलेर तिमाल क्षेत्रकै स्थानीय बासिन्दा लेखक लिलाबहादुर दोङ तामाङले आफ्नो पुस्तक ‘तेमाल दरबार र तामाङ राजाहरु’ (२०६०:३०–३४)मा यस्तो उल्लेख गरेका छन्ः

त्यो समयमा राजा रिन्छिन दोर्जे आफूसँग बाँकी रहेको राज्यलाई जोगाउन सैनिक दस्ता तयार पार्दै थिए। उनलाई शान्ति सम्झौताका लागि झिंकु खोला र सुनकोशी नदीको बगरमा आउन गोरखाली पक्षबाट बोलाइयो। रिन्छिनका भाईभारदारहरुले गोरखाली पक्षप्रति अलि शंका व्यक्त गरे, तर भाईभारदारको कुरा रिन्छिनले सुनेनन्। उनी बिना हातहतियार वार्ता स्थलमा पुगे। उनी घोडामा चढी वार्तास्थलमा पुगेका थिए।

उनलाई पलाञ्चोके काजीले स्वागत गरे। वार्ताका लागि बस्दै उनले सोधे, ‘राजा चाहिँ वार्ताका लागि किन नआएको?’

षडयन्त्रको आभास भएपछि आफ्नो घोडामा चढेर उनी त्यो ठाउँबाट भाग्न खोज्दा बालुवामा यसअघिनै लुकाएर राखिएको हतियार गोरखाली पक्षबाट झिकियो, भाग्दै गरेका रिन्छिन दोर्जेमाथि भोगथुम्का भन्ने ठाउँमा प्रहार भयो र उनी ढले। उनको टाउको सुनकोशी नदीमा बगाइयो।

यस युद्धमा तामाङ सैन्यमा ठूलो क्षति पुग्यो। यता गोरखाली पक्षले पनि सानोतिनो क्षति बहोर्न पर्‍यो। जंगबहादुर राणाको जिजुबुवा र बलभद्र कुँवरका ठूला हजुरबुवा त्यो समयको चर्चित सेनानायक रामकृष्ण कुँवरका एक जना भाईले यस युद्धमा ज्यान गुमाए। यस विषय खुल्ने एक लालमोहर रेग्मी रिसर्च सेरिज वर्ष ४ अङ्क ५ (डिसेम्बर, सन् १९७२:९४–९५) मा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरको नाममा लेखेको लालमोहरमा उल्लेख छ। ‘किरात राज्य जित्नका लागि म तिम्रै भर परेको छु, तिम्रा बुद्धि र तरबार बिना किरात फत्ते गर्न सक्दिनँ, तिम्रा भाई जब तिमालमा मारिए, त्यो बेला म निक्कै दुःखी भएको थिएँ’ भन्दै किरात फत्ते गर्न रामकृष्ण कुँवरलाई लालमोहरमा उत्साहित गरिएको छ।

कीर्तिपुरबाट बुधबार आश्विन ५ मा लेखिएको यो लालमोहर विक्रम सम्वत् १८२९ लेखिएको हुन सक्ने इतिहासशिरोमणि आचार्यको अनुमान छ। किरात जित्न १८२९ भदौ १३ मा रामकृष्ण दूधकोशी तरिसकेको आधारमा आचार्यले यस्तो अनुमान गरेका हुन्।

मित्रताको नाममा धोका

तिमाल क्षेत्रमा प्रचलित अनुश्रुतिअनुसार तामाङ शासक रिन्छिन दोर्जेको षडयन्त्रमूलक ढङ्गले कसरी हत्या गरियो भन्ने प्रसङ्ग माथि परिसकेको छ। यसबारे मूलधारका भनिने इतिहासकारहरुले छर्लङ्ग हुने गरी लेखेको हालसम्म पाइएको छैन। तर आधिकारिक मानिने सरकारी निकाय, स्वयम् राजदरबारले प्रकाशित गरेको तथा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेको इतिहासहरुमा पृथ्वीनारायण शाहका पूर्खा तथा उनी स्वयम्ले मित्रताको नाममा अघिल्लै समय हतियार जमिनमुनि गाडिराख्ने र जोसँग मित्रता गाँस्ने हो, त्यो पक्षलाई बिनाहतियार बोलाउने तथा अन्तिममा हतियार झिकेर निशस्त्र आएकाहरुलाई मार्ने गरेको उल्लेख भएको पाइन्छ।

पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २८(श्रावण २०३१:२०)मा प्रकाशित ‘गोरखा वंशावली’को राम शाह प्रकरणमा यस्तो एउटा तथ्य पढ्न पाइन्छ।

बारपाकका घले राजा चाग्या र उनका भाई सुर्तानले मित्रताको मनसुवा राखी राम शाहलाई पत्र पठाए। यसबारे राम शाहले ६ थर प्रभृति भारदारहरुलाई सुनाए। भारदारहरुले चाग्या र सुर्तानको फौज धेरै भएको, उनीहरु शारीरिक बलमा पनि बलियो भएकाले उनीहरुलाई हराउन कठिन हुने हुँदा छल गरी मार्नुपर्ने सुझाव राम शाहलाई दिए। यसका लागि चाग्या र सुर्तानलाई हतियार नलिई बालुवाबेंसीमा मित लगाउन बोलाए। यता गोरखालीहरुले भने मित लगाउने अघिल्लो दिन नै बालुवाबेंसीमा गई खुँडा, खुकुरी, तरवार आदि लुकाइ राखे।

ती भारदारहरु राम शाहजस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरी विदा भएर बालुवाबेंसी गए। चाग्या र सुर्तान पनि पूर्वसर्तअनुसार हात हतियार नलिई आफ्ना लस्करका साथ बालुवाबेंसी आइपुगे। गोरखालीहरुले आफ्नो अनुकुल ठाउँमा उनीहरुलाई राखे। दुवैतर्फ आराम कुशल विषयमा कुराकानी भए। मितेरी लगाउने काम सुरु भयो। त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंक भएर मितेरी समारोह हेर्न लागे। त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकी चाग्या र सुर्तानमाथि प्रहार गरे। चाग्या त्यही मारिए। सुर्तान भाग्न सफल भए।

यस्तो काम पृथ्वीनारायण स्वयंले पनि गरेका थिए भने इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ महाराजधिकार संवाद सचिवालय राजदरबारबाट छापिएको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ यस्ता प्रसङ्ग छापेका छन्।

आचार्य (२०६१:२०८)अनुसार पृथ्वीनारायण शाह भक्तपुरका राजा रणजीत मल्लको पाहुना भएर बसेको समय उनले रणजीत मल्लबाट एक युवती मैजुकन्या सेवासुसाराका लागि सौगात पाएका थिए। पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या भित्रिनी बनिन्। उनलाई क्षयरोगले समात्यो। उनीलाई देवघाटको बाटो गरी बनारसतिर पठाउँदा तनहुँका राजा त्रिविक्रम सेनले ती मैजु बसेको डोलीको झापन झिकेर उनको मुख हेरिदिए। यो घटनाले पृथ्वीनारायण शाह रिसले चुर भए।

आचार्य (२०६१:२११)अनुसारनै यो घटनाको बदला लिन पृथ्वीनारायण शाहले लमजुङ राज्यलाई फुटाएर आधाआधा गरी बाँड्ने भनी त्रिविक्रम सेनलाई सम्झौताका लागि निशस्त्र आउन भनी ज्यामिरघाटमा बोलाए। तर पृथ्वीनारायण शाहले आफ्ना भारदारहरुलाई अघिल्लै रात बगरका बालुवाभित्र आफ्ना अङ्गरक्षकहरुको हतियार लुकाएर ठीक गरेका थिए।

त्यहाँ पृथ्वीनारायण शाहको भित्रिनीको झपन खोली मुख हेरेको कुरा उठ्यो, विवाद चल्यो। त्यहीँ बेला गोरखालीहरुले बालुवाको लुकाइराखिएको हतियार झिके अनि त्रिविक्रम सेनलाई पक्रिएर नेल हाली गोरखा ल्याए। पछि रिस ठण्डा भएपछि पृथ्वीनारायण शाहले त्रिविक्रम सेनलाई छाडिदिए।

यस्तो षडयन्त्रमूलक घटनाहरुको पृष्ठभूमी भएका कारण भन्न सकिन्छ, तिमाल क्षेत्र पनि त्यहाँका शासक रिन्छिन दोर्जेलाई मारे र, गोरखालीहरुले त्यो क्षेत्र आफ्नो राज्यमा गाभे।

साभार – कान्तिपुर / कार्तिक २७, २०७५






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution