ताम्बा काइतेन सन्तवीर लामा पाख्रिन तामाङको जन्मजयन्ती मनायो

याम्बु – नेपाल तामाङ घेदुङ, भाषा, साहित्य तथा प्रशिक्षण विभागले ताम्बा काइतेन सन्तवीर लामा पाख्रिन तामाङको १२२ औं जन्मजयन्तीय मनाएको छ । नेपाल तामाङ घेदुङको संघीय सभाहल चुच्चेपाटी, काठमाडौंमा एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी स्वर्गीय सन्तवीर लामा पाख्रिन तामाङको सम्झना गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं संघीय सांसद हितबहादुर तामाङले मानिसको सामन्य चिन्तनले साहित्यको सिर्जना गर्न नसकिने बताउँदै स्वर्गीय सन्तवीर लामा पाख्रिन तामाङको असामन्य चिन्तन र असामन्य व्यक्तित्वकै कारण राजनीति, साहित्य र प्रशासनिक क्षेत्रमा सफलता हासिल गर्न सकेको मन्तव्य राखेका थिए ।
मानवशास्त्री डा. मुक्तसिंह लामा तामाङले बहुआयामिक व्यक्तित्वका धनी स्वर्गीय सन्तवीर लामा तामाङ रामेछापको तिल्पुङमा जन्मेर दश वर्षको उमेरमा दार्जिलिङ पुगेको र उनले तामाङ साहित्य क्षेत्रमा ‘ताम्बा काइतेन व्हाइ रिमठिम’, ‘स्येबुस्येम’ र ‘न्हाङबा साङ्गे’ पुस्तक प्रकाशन गरेको, राजनीतिमा राणा शासन विरुद्धको आन्दोलनमा लागेर दुईवटा जिल्ला झापा र इलामको बडाहाकिमसम्म भएको र व्यापारमा समेत सफलता हासिल गर्न सफल रहेको चर्चा गरेका थिए ।
‘सन्तवीर लामा राणा शासन विरुद्ध मात्र लागेन उनी भारत स्वतन्त्र संग्राममा पनि सामेल भएका थिए,’ मानवशास्त्री डा. लामाले भने, ‘उनी भारत स्वतन्त्र संग्रामको बेला दुई वर्ष जेल समेत बसेका थिए ।’
कार्यक्रममा लेखक प्रताप बलले तामाङ संस्कृतिका मर्मज्ञ लामाको व्यक्तिव्य माथि चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायल प्रवास शाखा द्वारा आयोजित प्रथम अन्तर्राष्ट्रीय तामाङ व्हाइखा प्रतियोगीतामा क्रमशःपहिलो,दोस्रो र तेस्रो उत्कृष्ट स्थान हाँसिल गर्न सफल कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरेको थियो ।