तामाङ समाज कतारले २८५६ सोनाम ल्होछार मनाउने

याम्बु – नेपाल प्रवासी तामाङ समाज कतारले मन्जुश्री सम्वत २८५६ सोनाम ल्होछार जिवा (नम्युङ) मुसा बर्ग बृहत् साँस्कृतिक कार्यक्रम-२०२० भव्यताको साथ् गर्ने भएको छ । बृहत् साँस्कृतिक कार्यक्रम आउदो २०२० जनवरी २४ तारिख (शुक्रबार)का दिन कतार स्थित रमणीय स्थान अम्वाज क्याम्प २ मिसाइदमा हुने भएको छ ।
कार्यक्रमको लागि नेपालबाट अतिथि चर्चित राष्ट्रिय कलाकारहरु प्रथम नेपाल आइडल बुद्ध लामा तामाङ,नेपाल तामाङ कलाकारसंघको वर्तमान अध्यक्ष तथा चर्चित सेलो गायक सन्जिव वाइबा तामाङ,तामाङ जातिको आफ्नै संस्कार संस्कृति भोगेको म्हेन्दोमाया गायक राम गोम्जा तामाङ र सेलो गायिका अन्जु लामा थोकर आउनु हुने तामाङ समाज कतारले जानकारी दिएको छ ।
तामाङ समाज कतारको कलाकारहरुले तामाङ जातिको संस्कृति झल्काउने टुंना र डम्फू, लामा, बोन्बो, गोडा नाच लगायतको प्रस्तुति रहने तामाङ समाज कतारले बताएको छ ।
“तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरण“ भन्ने मुल नारा लिएर सन् २००५ मा स्थापना भएको समाजले तामाङ समुदायको संस्कार, संस्कृति, रितिरिवाज परम्पराको संरक्षण सम्बर्द्धनको लागि महत्त्वपूर्ण भुमिका खेल्दै स्थापनाकाल देखि नै समय अनुकूल सोनाम ल्होछार लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेको छन् ।