सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, ११ जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको पुष्टि भैसकेको र अरु दुईजनाको पनि मृत्यु भएको खबर दुर्घटनास्थलमा रहेका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
घाइते ४७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको पनि उनले जानकारी दिए । मृतकको सनाखत हुनसकेको छैन ।
आइतबार दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको शैलुङश्वरी यातायातको बस दुर्घटना भएको हो ।
बस सडकबाट सुनकोसी नदीको बीचमा खसेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ । नदीले केही यात्रु बगाएकोसमेत प्रत्यक्षदर्शीले बताएका छन् ।
बस नदीबाट किनारमा निकालिएको छ । उद्धारको काम भइरहेको छ । आइतबार दिउँसो सवा १ बजेतिर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन ।