चर्चित र्यापर समिर लामा घिसिङ तामाङ ‘भिटेन’ रिहा
याम्बु – चर्चित र्यापर समिर लामा घिसिङ तामाङ उर्फ भिटेन प्रहरी हिरासतबाट रिहा भएका छन् ।महानगरीय प्रहरी परिसर ललितपुरले ‘भिटेन’लाई बुवाको जमानीमा रिहा गरिदिएको छ । शुक्रबार साँझ रिहा भएका उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परिसरमा हाजिर हुन डाकिएको छ।
ललितपुर प्रहरी परिसरका एसपी दुर्गा सिंहले बुवाको जमानीमा रिहा गरिएको बताएकी छन्। ‘हामी यस्तै त हो नि ब्रो!’बोलको गीतमा अश्लील शब्द प्रयोगका साथै लागुऔषध गाँजा खान उक्साएको आरोपमा लगाइएको थियो। म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँजासमेत खाएको दृश्य देखाइएपछि भिटेन बुधबार झम्सिखेलबाट पक्राउ परेका थिए।
भिटेनलाई प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा म्याद थपेर मुद्दा चलाउने जनाएको थियो। तर उनका बुवाले जमानीमा रिहा गर्न अनुरोध गरेपछि रिहा गरिएको एसपी सिंहले जानकारी दिइन्।
भिटेन विरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको अवस्थामा कसुर पुष्टि भए एक वर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था थियो |
यसअघि ‘ह्याप्पी तिहार, चिसो बियर…’ गीतको म्युजिक भिडियोमा उच्छृङ्खल शब्द प्रयोग गरेको अभियोगमा दुर्गेश थापा पक्राउ परेका थिए। उनले गल्ती स्वीकारेर सार्वजनिक रूपमा माफी नै मागेका थिए |