हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रत्यक्षदर्शी भन्छन्ः आलम र एसपी मिलेर बोरामा हालेर इँटाभट्टामा मान्छे जलाए

दुवईबाट छुट्टीमा आएका थिए, महम्मद ओसी अख्तर । २०६४ साल चैतमा संविधानसभा निर्वाचन हुन लाग्दा उनी आएको दुई महिना भइसकेको थियो र करिब छुट्टीको समय सकिइसकेको थियो । मताधिकारको प्रयोग गरी उनी दुवई फर्किने योजनामा थिए ।

तर, उनीमाथि अरु नै केही हुनेवाला थियो । यो कुरा न उनलाई थाहा थियो न उनको परिवारलाई । हुन पनि भविष्य कसलाई पो थाहा हुन्छ र ?

रौतहट निर्वाचन क्षेत्र नम्बर २, चैतको घाम र निर्वाचनको सरगर्मीले तातेको थियो ।

मतदानको अघिल्लो दिन अर्थात् २७ चैत २०६४ मा घरमा बसिरहेका थिए, ओसी अख्तर । घरमा उनकी श्रीमती आमना खातुन पनि थिइन् ।

२/४ जना मान्छे आए र उहाँ (ओसी अख्तर)लाई जाउँ भने,’ १२ वर्षअघिको त्यो दिन सम्झँदै आमनाले भनिन्, ‘मैले उहाँलाई नजानुस् भनेकी थिएँ, तर, मोहम्मद अफताव आलमका मान्छेले जबरजस्ती लिएर गए ।’

दुई छोराकी आमा हुन् आमना । २०६४ सालमा उनको पेटमा २ महिनाको गर्भ थियो । जेठो छोरा भने २ वर्षको थियो ।

समसुल मियाँ आमनाका बुबा हुन् । २७ चैतमा उनी तरकारी बेच्न लालबन्दी जाँदै थिए ।

चन्द्रनिगाहपुर पुगेपछि उनले छोरी (आमना)लाई फोन गरेर ज्वाइँलाई मोटरसाईकल लिएर आउनु भनेर अह्राए । आमनाले जवाफ फर्काइन्, ‘ओसी त चुनाव प्रसारमा गएका छन् ।’

समसुललाई अचम्म लाग्यो, ‘चुनावको अघिल्लो दिन के–को प्रचार ?’

त्यसपछि उनी चन्द्रनिगाहपुरबाट ३५ किलोमिटर टाढा रहेको यमुनामाई गाउँपालिका (त्यतिबेला सरुअठा गाविस)स्थित आफ्नो घर पुगे । घर पुगेपछि उनले थाहा पाए–भर्खरै कतै बम विस्फोटन भएको छ ।

त्यसपछि उनी बम पड्केका ठाउँ राजपुरतिर गए । तर, केही मान्छेले उनलाई गाउँमा छिर्नै दिएनन् । ‘हामीलाई राजपुर चोकभन्दा अगाडि जान दिएनन्,’ समसुलले सम्झिए, ‘गाउँभित्र छिर्न नदिएपछि मेरो मनमा चिसो पस्यो ।’

उनी राति फेरि राजपुरतिर लागे । मूल बाटो छाडेर खेतको बाटो हुँदै राजपुर पुगे । रातको ११ बजे उनले देखे, बोरामा कोचिएका मान्छेका लास कसैले ट्याक्टरमा हालेर इँटा भट्टातिर ओसार्दै थियो ।

‘अल्लाह ! त्यो दृश्य मेरा लागि निकै भयानक थियो,’ समसुल भन्छन्, ‘तिनीहरु त मान्छे होइनन् जल्हाद हुन्, जल्हाद ।’

ती सबै आलमका मान्छे भन्दै सुमसुल भन्छन्, ‘आलमको कर्तुत लुकाउन सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामाले भूमिका खेलिरहेका थिए, लामा र आलम एउटै गाडीमा थिए । ट्याक्ट्ररबाट १८ वटा बोरामा मान्छे इँटा भट्टातिर लगेको देखेपछि डरले म फर्केँ ।’

आफ्ना ज्वाइँ त्यही बोरामा हालेर इँटा भट्टाको भूंग्रोमा हालेको देखेका उनको मन भतभती पोलिरहेको थियो । अनि उनी प्रहरीमा आलमविरुद्ध जाहेरी दिन हिँडे ।

तर, प्रहरीले जाहेरी लिन मानेन । प्रहरीले घटना भएकै छैन भनेर टार्न खोज्यो ।

प्रहरी नै मिलेको जस्तो लागेपछि समसुल मानव अधिकारकर्मीको ढोका ढकढक्याउन पुगे । वैशाख २०६५मा प्रहरीसहित मानव अधिकारकर्मीको टोली राजपुर छिर्यो ।

बम आलमका काका शेख इद्रिस खल्यानको घरमा विस्फोटन भएको थियो । टोली त्यहीँ पुग्यो । विस्फोटनपछि चर्किएको भित्ता देखियो । भित्तामा नयाँ इँटा, छानामा नयाँ खबटा देखिए । अध्ययनका लागि भन्दै वैशाखमा घटनास्थल पुगेको प्रहरीसहितको मानव अधिकारकर्मीको टोलीमाथि राजपुरवासीले आक्रमणको प्रयास गरे ।

अनौपचारिक सेवा केन्द्र इन्सेकको एक प्रतिवेदनमा लेखिएको छ, ‘घटनाको बारेमा १७ वैशाखसम्म प्रहरीलाई जानकारी नहुनु र अध्ययनको क्रममा पीडितले १८ वैशाखमा प्रहरीलाई समेत लिएर गएको मानवअधिकारकर्मीको टोलीमाथि आक्रमणको प्रयास हुनुले घटनालाई थप रहस्यमय बनाइदिएको छ ।’

रौतहट प्रहरीले जाहेरी लिन नमानेपछि समसुलले हुलाकबाट जाहेरी दिए । प्रहरीले मानव अधिकाकर्मीको दबाबमा जाहेरी लियो । 

‘तर केही भएन,’ समसुल भन्छन्, ‘बरु प्रमाण छैन भनेर अदालतले मुद्दा चलाएन ।’

तर, आफ्ना ज्वाइँ मार्ने हत्यारालाई त्यसै छाडेर बस्न समसुलको मनले मानेन । न्यायका लागि उनले जोडबल गरिरहे । तर, अपराध गर्ने व्यक्ति शक्तिशाली हुनु र न्याय दिने निकाय त्यही व्यक्तिसँग मिल्नुले समसुलको केही लागेन । बरु उनले सम्धिनी अर्थात् छोरीकी सासु गुमाउनुपर्यो ।

माघ २०६७ मा माइतीबाट घर फर्कँदै गरेकी रोक्सनालाई नकावधारी समूहले गोली हानी मारिदियो ।

‘दुर्गा भगवती पुगेपछि ३/४ जना नकाव लगाएका मान्छे आए,’ रोक्सनासँगै फर्कँदै गरेकी सम्धिनी साहजहाँ खातुनले भनिन्, ‘तीमध्ये एउटाले गोली चलायो ।’

श्रीमान र सासुको हत्यापछि आमना झन् एक्लै भइन्, अझ डराइन् । आमनाका ससुराले अर्को बिहे गरे । त्यसपछि आमना धेरैजसो माइतीमै बस्न थालिन् । उनलाई पनि डर लाग्न थाल्यो, म बोलेँ भने कतै मलाई पनि मार्ने हुन कि !

अहिले पनि आमनाको मनबाट यो डर हटेको छैन । कोही नयाँ मान्छेसँग उनी हत्तपत्त बोल्न मान्दिनन् । बोलिहाले पनि एकदुई शब्दमै कुरा सक्न खोज्छिन् ।

मारिनुअघि रोक्सनाले वैशाख २०६५ मा दिएको बयानअनुसार, विस्फोटनमा ओसी अख्तर घाइते मात्रै भएका थिए । ‘मेरो छोरा जिउँदै थियो । पानी खान मागिरहेको थियो भने उपचारका लागि अस्पताल लान भनेको रहेछ । मेरो छोरा घाइते अवस्थामा ल्याइदिएको भए म उपचार गराउथेँ । अपाङ्ग भएको भए मेरै छोरा थियो, म पाल्न सक्थेँ,’ रोक्सनाले बयानमा भनेकी थिइन् ।

घटनालाई लिएर रोक्सना, समसुल र अन्य पीडित सर्वोच्च अदालतसम्म पुगेका थिए । उनीहरुमाथि आलम र उनी पक्षीय मान्छेले धम्की दिइरहेका थिए ।

सुरुमा आलमले रोक्सनासँग भने, ‘गल्ती भयो यसका लागि खेत र २ लाख ५० हजार रुपैयाँ दिन्छु, काठमाडौं नजाउ ।’

तर, रोक्सनाले नमानेपछि आलमले आगो लगाएर मारिदिने धम्की दिएको पीडित परिवार बताउँछन् ।

रोक्सनाको हत्यापछि पनि समसुलले न्यायको लडाइँ जारी राखे । उनलाई पनि ज्यान मार्ने धम्की आएको थियो । प्रलोभन पनि आएको थियो । ‘मलाई पनि बारम्बार धम्की, प्रलोभन देखाइयो,’ छोरीलाई हेर्दै उनी प्रश्न गर्छन्, ‘अब के मेरो ज्वाइँ आउँछन् ? हेर्नुहोस्, छोरीको अनुहार कतै यस्तो हुन्छ ?’

छोरीतिर हेरेपछि समसुलका आँखा आँसुले भरिन्छन् । बुबाका आँखामा आँसु देखेपछि आमना भक्कानिँदै कोठाभित्र पस्छिन् । समसुल पुकार्छन, ‘अल्लाह, रहम कर ।’

अहिले दीपावलीले गाउँठाउँ सजिएका छन् । सबैतिर उत्सव छ । तर, आमना र उनका बुबालाई १२ वर्षयता दीपावली लागेको छैन । ‘चाडबाड आउँदा छोरीको चिन्ता लाग्छ । अनि दौडिएर उसको घर पुग्छु,’ समसुल बोल्दाबोल्दै रोकिन्छन् ।

समसुलले अधुरो छाडेको वाक्य पूरा गर्छन्, उनका छोरा सद्धामले । ‘एक्लै भयो कि दिदी रुन थाल्छे । त्यही भएर हामी उसलाई सकेसम्म एक्लै छाड्दैनौ,’ सद्धामले भने ।

आमनाको सबै आर्थिक भार अहिले माइतीले बेहोर्छ । आमनाका दुई छोरा अहिले मदरसामा पढ्छन् ।

५२ वर्ष पुगे समसुल । ‘अब धेरै बाँच्छु जस्तो लाग्दैन । म नभएपछि छोरीको के हुने हो चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘लौ हजुर छोरीलाई कतैबाट सहयोग गरिदिनुपर्यो ।’

जिम्दारी र राणा शासनजस्तो शासन गरेका आलमसँगको लडाइँ जित्छुजस्तो लागेको छैन समसुललाई । ‘यो मधेस हो हजुर, यहाँ आलमजस्ता मान्छे र त्यस्तालाई जोगाउनेहरुको कुनै कमी छैन ।’

आमनालाई भने अझै न्याय मिल्छजस्तो लागेको छैन । त्यसैले त उनी अझै आलम र उनका मान्छेले आफूलाई मार्ने भयमा बाँचिरहेकी छन् । ‘अब कौनो उपा नबा,’ नेपाली बोल्न नजान्ने उनी भोजपुरीमै भन्छिन् । अर्थात् अब कुनै उपाय छैन । उनीसँग कुरा गर्दा उनका बुबाले उल्था गरिदिन्छन् ।

कान्छो छोराले बुबाको मुख देख्न पाएन । ११ वर्षीय अब्दुल शाहीलले आफ्नो बुबालाई नागरिकताको तस्वीरमा मात्रै देखेको छ । जेठो २ वर्षको थियो । उसले पनि बुबालाई सम्झन शायदै सक्ला । श्रीमानको सम्झनामा आमनासँगै भएका यी २ छोरा र उनको यही नागरिकता मात्रै हो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution