किन गरे एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नवौं विश्व सम्मेलन बहिष्कार ?

काठमाडौं। काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उद्घाटन गरेको सम्मेलन महतोले बहिस्कार गरेका हुन् ।
संघको स्थापनाको उद्देश्य विपरीत राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनले सम्मेलन बहिस्कार गरेका हुन् । डा. महतोले भने, ‘अनावश्यक राजनीतिक हस्तक्षेप भएपछि सम्मेलनमा अनुपस्थित भएको हुँ ।’ ‘चुनाव नै गर्नु हुँदैन भन्ने मेरो भनाइ होइन’ महतोले भने, ‘यस पटक बढी नै हस्तक्षेप भएजस्तो लाग्यो ।’ अनलाइनखबरमा समाचार छ ।
विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै उनीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यले स्थापना भएको संघलाई राजतीतिक संगठन जस्तो बनाउन नहुनेमा जोड दिए । उनी भन्छन्, ‘सबै क्षेत्रमा राजनीतिक दवदवा छ, कमसेकम एनआरएनए त्यसबाट मुक्त हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’
डा. महतोले आठौं विश्व सम्मेलनमा पनि अध्यक्षको लागि आफू चुनावको पक्षमा नरहेको सन्देश प्रवाह गरेका थिए । त्यतिबेला आफूले चुनाव हुँदा विभाजन आउने र भावनामा चल्ने संस्थामा भोेट गन्ने काम गर्न नहुने तर्क गरेको स्मरण गरे । उनी भन्छन्, ‘कम्तीमा एनआरएनएको गर्विलो इतिहासमा दाग लगाउने काम कसैबाट हुनुहुँदैन ।’