आज देखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याइँदै : ओली र मोदीले ‘भिडियो कन्फ्ररेन्स’मार्फत उद्घाटन गर्ने
काठमाडौं : नेपाल र भारतका प्रधानमन्त्रीले आज (मंगलबार) अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको संयुक्त उद्घाटन गर्ने भएका छन् । अपरान्ह १२ः१५ बजे दुवै देशका प्रधानमन्त्रीले आ–आफ्नो कार्यालयबाट स्वीच थिचेपछि मोतिहारीबाट पाइपलाइन हुँदै पेट्रोलियम पदार्थ अमलेखगन्ज आउनेछ ।
नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्न लागेका हुन् ।
दुई देशका प्रधानमन्त्रीहरुले उदघाटन गरेसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिने छ । पहिलो चरणमा पाइपलाइनबाट डिजेल मात्र ल्याइनेछ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइने जानकारी दिइएको छ । मोतिहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६.२ र भारततर्फ ३३.६९ किलोमिटर छ ।
पाइपलाइनबाट दैनिक झन्डै ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रिन थालेपछि वार्षिक अर्बौ रुपैयाँ बराबरको ढुवानी खर्च जोगिने छ । यो परियोजना सम्पन्न गर्न ४ अर्ब ४० करोड रुपैयाँ खर्च लागेको हो ।