हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ संस्कृति र इतिहास विमर्श

काठमाडौँ — गर्भवती तामाङ महिलाले गाईबस्तुको दाम्लो नाग्दैनन् । कुनै जन्तु काटमार गर्दैनन्, काटेको–मारेको हेर्दैनन् । जीव जनावर काटमार गर्दा जुन गतिले मर्छ, त्यस्तै सकलमा जन्मिन्छ भनिन्छ । गाईबस्तुको दाम्लो नाग्दा र शव बाँधेको हेरेमा पेटभित्रको शिशुलाई आन्द्राले बेर्छ भन्ने धारणा छ । जुनसुकै फलफूल राम्रो नफुली नपाकी टिप्दैनन् । सुनचाँदी गालेको हेर्दैनन् । बाँसको टुसा पनि भाँच्दैनन् ।

तामाङ समाजमा गैरतामाङ युवती बिहे गर्ने छुट छ । केटाले गैरतामाङ कन्यासँग बिहे गरेमा, केटीलाई लामा वा ताम्बाद्वारा एक समारोह गरी चल्दोमिल्दो कुटुम्ब थर (क्लान) प्रदान गरिन्छ । थर प्रदान गर्ने यस्तो समारोहमा कोही कसैले चेलीको माइतीको रूपमा उभिदिनुपर्छ । त्यस्ती चेलीलाई भेदभाव, छोइछिटा वा हेयको दृष्टिले हेर्न पाइँदैन ।

मृत्यु संस्कारको बेलामा पनि तामाङ समुदायमा गीत गाउने चलन छ । थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्दछ । यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ । यसरी ज्वाइँले गीत गाएमा मृतकले जीवनमा पापै गरेको रहेछ भने पनि मुक्ति मिल्छ भन्ने मत पाइन्छ ।

तामाङहरू तिब्बतलाई मात्रै भोट क्षेत्र मान्दैनन् । नेपालमा मनाङ भोट, मुस्ताङ भोट, तिनगाउँ भोट, लार्के भोटलगायत कैयौं भोटहरू छन् । काभ्रेको बनेपालाई नेवारहरू ‘भोट’ (बोंद) भन्छन् । त्यही भोट बस्नेलाई (भोट्पा) र बोंदपा भनिँदै बनेपा बनेको हो ।

तामाङ समुदायसित जोडिएका यस्ता थुप्रै रोचक, ऐतिहासिक र सांस्कृतिक नालीबेलीसहित परशुराम तामाङले चार कृति एकसाथ ल्याएका छन् । झन्डै दुई दशकअघि अनुसन्धानमूलक रूपमा निकालिएका यी कृतिहरू परिमार्जनसहित उनले हालै नयाँ संस्करण ल्याएका हुन् । ‘तामाङ जाति’, ‘तामाङ वंशावली’, ‘तामाङ संस्कार’ र ‘ताम्बा काअीतेन’ नामक खोज अनुसन्धानमुलक कृतिहरू आफंैमा तामाङ संस्कृति र इतिहास विमर्शका लागि अर्थपूर्ण स्रोत सामग्री बनेका छन् ।

सीमाविहीन खुला बजार र चर्को रूपमा हावी हुँदै गइरहेको उपभोक्तावादी संस्कृतिका कारण नेपालभित्रको मौलिक ज्ञान, अभ्यास र परम्पराहरू धराशायी बन्दै गइरहेको बेला तामाङ समुदायको संस्कृति, इतिहास र जीवनचर्चाको मसिना विश्लेषणहरूसहित आएका यी कृतिहरू आफैंमा अर्थपूर्ण छन् । लेखक परशुराम तामाङले यी कृतिहरूमार्फत तामाङ समुदायप्रति मात्रै हैन, सिंगो नेपाली मौलिक पहिचानको अभिलेखीकरणमा समेत योगदान पुर्‍याएको मान्न सकिन्छ ।

नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय तामाङ परिषद्को संस्थापक अध्यक्ष, संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मञ्चका सदस्यसमेत रहिसकेका परशुरामको लेखन व्यक्तित्व हुन त संस्कृति र इतिहास विमर्शभन्दा पर र निकै फराकिलो पनि छ । लामो समय अर्थशास्त्र र तथ्याङ्कशास्त्रको प्राध्यापनमा बिताएका उनले राजनीतिक विश्लेषण, आदिवासी जनजाति अधिकार, पहिचान, अर्थ–राजनीतिक बहसलगायतका सन्दर्भमाथि डेढ दर्जनभन्दा बढी पुस्तकहरू पनि लेखेका छन् । यी पुस्तकहरूको तुलनामा हालै सार्वजनिक चार कृतिको भिन्न महत्त्व छ ।

तामाङ जीवन, दर्शन र संस्कारमा मुख्यतया तीन सांस्कृतिक निकाय लामो समयदेखि प्रचलनमा छ । बोन्बो, लामा र ताम्बा । बौद्ध सम्प्रदायमा बदलिनुअघि तामाङहरू प्राकृत बोन थिए । पछि लामावाद पनि मिसियो । त्यसअघि नै मौखिक इतिहासविद्, संस्कृतिविद्को रूपमा ताम्बा (कथा भन्ने मान्छे) तामाङ समुदायमा अस्तित्वमा थिए । तामाङ संस्कृतिको तीन खम्बा मानिने यी सांस्कृतिक धरोहरको कार्य, अर्थ र महत्त्वसहितको संस्कृति सविस्तार ‘तामाङ संस्कार’ पुस्तकमा लेखकले उतारेका छन् । त्यस्तै विवाहका प्रकार, सम्बन्धविच्छेददेखि मृत्युसंस्कार, त्यसको सामाजिकीकरण र तामाङ संस्कारका चुनौतीहरू पुस्तकमा छन् । संस्कृतिविहीन आधुनिक शिक्षा, धर्म परिवर्तन, तान्त्रिक पद्धति र सुधारवादी बौद्धधर्मबीचको तनाव, बसाइँ सराइजस्ता समस्याहरूका कारण चेपुवा पर्दै आएको तामाङ संस्कृतिको दस्ताबेज बुझ्न पुस्तकले सघाउँछ ।

‘ताम्बा काअीतेन’ भने तामाङ समाजमा प्रचलित ताम्बा संस्कृति, दर्शन र कार्यहरू आधारित पुस्तक हो । यसमा तामाङ समुदायमा जन्मदेखि न्वारान, छेवर, विवाह र मृत्य संस्कारसम्ममा ताम्बाले गर्ने कार्य, उनीहरूले गाउने गीत, पूजा विधिसमेत समेटिएको छ । संस्कृति मर्मज्ञ, प्रतिपादक, वंशावलीकार, सामाजिक–धार्मिक कर्मकाण्डका अगुवा,निरीक्षक र मूल्यांकनकर्ताको रूपमा समेत मानिने ताम्बाहरू अचेल तीव्र सहरीकरण र सांस्कृतिक विचलनका कारण लोपोन्मुख छ । उनीहरूले गाउने गीतहरू पनि फ्युजन भएर क्षयीकरणतिर गएकाले मौलिकता संकटमा छ । यस्तो परशुरामको ‘ताम्बा काअीतेन’ ले नयाँ पुस्तालाई राम्रै खुराक दिन्छ । यद्यपि यसअघि नै सन्तविर पाख्रिनले विसं २०१६ मा ‘ताम्बा काअीतेन व्हाई रिमठिम’ ल्याइसकेका थिए । रत्न पुस्तकबाट प्रकाशित सन्तवीरको यो पुस्तक सर्वाधिक बिक्री हुने तामाङ पुस्तक पनि मानिन्छ । परशुरामले भने काभ्रे, सिन्धुपाल्चोक लगायतका ताम्बा र स्रोतव्यक्तिहरूको सहयोगमा ‘ताम्बा काअीतेन’ तयार पारेका हुन् ।

‘तामाङ वंशावली’ मा परशुरामले थरको उत्पति र विभाजनदेखि तामाङ समुदायमा ‘स्वाँगे भाइ’ (सहगोत्री) को महत्त्वबारे पनि प्रकाश पारेका छन् र केही विभिन्न २२ वटा थरको वंशावली, उनीहरूको किपट र कुलदेउतासमेत उतारेका छन् । तर, यो कृति भने अपुरो लाग्छ । केही थरको वंशावली नितान्त व्यक्ति केन्द्रित र साँघुरो देखिन्छ । यसमा बृहत् अध्ययन, खोज र विश्लेषण खट्किन्छ ।

चौथो पुस्तक ‘तामाङ जाति’ मा एकमुष्ट रूपमा तामाङ इतिहास, सामाजिक संरचना, संस्कृति, भाषा, लोक साहित्यदेखि अर्थतन्त्रसम्मको सविस्तार व्याख्या पाइछ । चित्र, नक्सा र सन्दर्भ तस्बिरहरूसहितको ४१६ पेजको यो पुस्तक उत्तिकै गहन छ । यसमा समग्र तामाङ जातिको चित्र पाइन्छ । सन्दर्भसूची र फुटनोट्सहरूको प्रयोगले पुस्तकलाई विश्वसनीय र वैज्ञानिक बनाएको छ । पुस्तक पढ्दै जाँदा नेपाल एकीकरणपछि तामाङ समुदायमाथि भएको विभेद, कानुन बनाएर गरिएको दमन, तामाङहरूले गरेको ऐतिहासिक विद्रोहजस्ता तथ्यहरू मात्र नभई थकाली, गुरुङ, ह्योल्मो, छन्त्याललगायतका समुदायसित तामाङ समुदायको भाषिक निकटताका रोचक तथ्यहरू पनि परख गर्न पाइन्छ । यद्यपि यो पुस्तकमा अन्य तीन पुस्तकका केही सामग्रीहरू दोहोरिएको अनुभूति हुन्छ ।

जनसंख्याको हिसाबले प्रदेश नम्बर ३ को पहिलो समुदायको तामाङ । राजधानी छेउछाउ घनाबस्ती भएको यो समुदाय यतिबेला सबैभन्दा बढी सांस्कृतिक संक्रमणमा छ । मौलिक ज्ञान, जीवनदर्शन, धार्मिक आस्था, खानपान, संस्कृतिदेखि जीवनशैलीमा तीव्र विचलन आइरहेको यो समुदायको सुन्दर सांस्कृतिक विगत भने परशुरामका चार कृतिमा कैद छ । किताबमै उल्लेख भएजस्तो शुद्ध सांस्कृतिक जीवन अम्ंभव भइरहेको बेला सांस्कृतिक अभ्यासको संक्रमित र नयाँ आयामका केही सन्दर्भहरूसहित पुस्तक परिमार्जन गरिएको भए सुनमा सुगन्ध हुने थियो । सबै पुस्तक सैलुङ प्रकाशनले छापेको हो ।

लेखक -फूलमान वल / कान्तिपुर (प्रकाशित : श्रावण १९, २०७५)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution