यूट्युबलाई बच्चाहरुको गोपनियता उलङ्घन मामलामा १७ करोड डलर जरिवाना

विश्वको चर्चित भिडियो कम्पनी यूट्युब माथि अमेरिकाको फेडरल ट्रेडड कमिशन (एफटीसी) ले १७ करोड डलर जरिवाना लगाएको छ।
गूगलको सहयोगी र चर्चित भिडियो शेयररिङ कम्पनी यूट्युबमाथि गैरकानुनी रुपमा बच्चाहरुको डाटा संकलन गरेर तेस्रो पक्षलाई शेयर गरेको भन्दै बच्चाहरुको गोपनियता कानुनको उलङ्घन गरेको आरोप लागेको छ। आमाबाबुको बिना स्वीकृती कम्पनीले बच्चाहरुको डाटा संकलन गरेर अन्य कम्पनीहरुलाई दिएको थियो।
गूगलले एफटीसी र न्यूयोर्क स्टेट अटार्नीका सामुन्ने यूट्युबको गल्ती स्वीकार गर्दै जरिवाना भर्नका लागि सहमति जनाएको छ।
यूट्युब बच्चाहरुको रोजाईमा पर्ने हुँदा यस्तोमा बच्चाहरुको निजी जानकारी कुनै तेस्रो पक्षलाई दिनु अमेरिकी कानुनको सिधा उलङ्घन भएको बताइएको छ ।
बच्चाहरुको निजता उलङ्घनको मामलामा अमेरिकाको उपभोक्ता सुरक्षा नियामक निकाय एफटीसीद्धारा लगाइएको यो हालसम्मको सबैभन्दा ठूलो जरिवाना हो ।
यो भन्दा पहिले बच्चाको निजतासँग जोडिएको मामलामा एफटीसीले यसै वर्ष सोशल भिडियो शेयररिङ एप टिकटकका संस्थापकमाथि ५७ लाख डलर जरिवाना लगाएको थियो ।
गत महिना मात्र एफटीसीले उपयोगकर्ताहरुको निजी डाटाको गलत प्रयोग गरेको भन्दै फेसबुकमाथि ५ अर्ब डलर जरिवाना लगाएको थियो ।
-एजेन्सी