बाबा रामदेवका प्रमुख सहयोगी आचार्य बालकृष्ण (नेपाली)लाई पेंडामा विष मिसाएर मार्ने षड्यन्त्र

काठमाण्डौ । चर्चित योगगुरु बाबा रामदेवका प्रमुख सहयोगी तथा भारतस्थित पतञ्जली योगपीठका आचार्य नेपाली मूलका आचार्य बालकृष्णलाई बिष खुवाएर मार्ने षड्यन्त्र भएको छ ।
भारतीय मिडियाहरुको अनुसार गत साता श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनबाट उपलब्ध पेंडामा विष मिसाएर खुवाई कसैले उनको हत्या षड्यन्त्र गरेको हो । तर, उनी बाँच्न सफल भएका उनको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै मिडियामा जनाइएको छ ।
भक्तजनले उपलब्ध गराएको पेडा खाएपछि बेहोस भएका आचार्यलाई तत्काल अस्पताल भर्ना गरिएको बताइएको छ । सुरुमा पतञ्जलीकै स्वामित्वको अस्पतालमा भर्ना गरिए पनि थप षड्यन्त्र हुने ठानेर उनलाई त्यहाँबाट अर्को अस्पताल सारिएको थियो ।
चिकित्सकहरुले आचार्य बालकृष्णले खाएको पेंडामा कसैले विष मिसाएर दिएको दाबी गरेका छन् । बाबा रामदेवले सोमबार नेपाल फर्कनुअघि पतञ्जली योगपीठ नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै बालकृष्णलाई कसैले विष मिसाएर खुवाएको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएका थिए ।