ट्रम्पले पहिलो पटक उत्तर कोरियामा पाइला टेक्दै भने ‘यो विश्वका लागि विशेष दिन हो’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार उत्तर कोरिया पुगेका छन्। दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका हुन्। उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन्।
‘यो विश्वका लागि विशेष दिन हो’, भेटपछि संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले भने, ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो।’ उनले भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको बताए। ‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’, ट्रम्पले भने। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सीमामा पाइला टेक्न पाउँदा ‘गर्व’ लागेको बताए।
ट्रम्पले किमसँग पहिलो पटक सिंगापुरमा २०१८ जुन १२ र दोस्रो पटक भियतनाममा त्यसै वर्षको फेब्रुअरीमा भेटवार्ता गरेका थिए। उनी जापानमा सम्पन्न जी–२० सम्मेलनपश्चात् दक्षिण कोरिया हुँदै किमलाई भेट्न त्यहाँ पुगेका हुन्।