राजा महेन्द्र र कांग्रेस नेतृ शैलजा आचार्यको रोचक संयोग

प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले १ पुष २०१७ मा पञ्चायती व्यवस्थाको सुरुवात गर्दा राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु आतंकित थिए। सेनाको बलमा राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गर्दा राजधानीमा कांग्रेसका केही कार्यकर्ताले राजधानीमा प्रदर्शन गरे।
प्रदर्शन गर्नेमध्येमा अग्रणी थिइन्, १५ वर्षीया किशोरी शैलजा आचार्य। नातामा प्रधानमन्त्री कोइरालाकी भाञ्जी पर्ने शैलजा नेपाली कांग्रेसको चारतारे झण्डा सहित पक्राउ परिन्। राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थाविरुद्ध उनले आजीवन संघर्ष गरिन्।
८ बर्ष जेल जीवनपछि कोइराला २०२५ मा रिहा गरिए। रिहा गरिएको केही समयपछि बीपी भारततर्फ लागे। र, प्रवासमै रहेर राजा महेन्द्रविरुद्ध सशस्त्र संघर्ष सुरु गरे। हतियार संकलनदेखि लिएर मुक्ति सेना गठनसम्ममा शैलजा सक्रिय रहिन्।
राजा महेन्द्रको कदमविरुद्ध किशोरवअस्थादेखि नै सक्रिय रहेकी र सशस्त्र संघर्षमा समेत भाग लिएकी तिनै शैलजा आचार्यको निधन भएको आज ९ बर्ष पुरा भएको छ। स्व शैलजालाई सम्मान गर्ने कांग्रेसजनहरुले विभिन्न माध्यमबाट आज उनको स्मरण गरिरहेका छन्।
किशोर र युवावयमा राजा महेन्द्रको अप्रजातान्त्रिक कदमको विरोध गर्ने शैलजा आचार्यको निधन भएको ११ बर्ष पुगेकोमा कांग्रेसजनहरुले बुधबार शैलजाको स्मृति दिवस मनाइरहँदा राजावादीहरुले चाहिँ तिनै राजा महेन्द्रको १ सयौँ जन्मदिन मनाइरहेका छन्।
नेपाली कांग्रेसको उपसभापति र उपप्रधानमन्त्रीसम्म भएकी स्व आचार्यको विभिन्न रोगका कारण आजकै दिन अर्थात् २९ जेठमा २०६६ मा काठमाडौँमा निधन भएको थियो। राजा महेन्द्रको कमदको विरोध गरेपनि जीवनको उत्तरार्धमा भने राजतन्त्रको उन्मुलन गरिएकोमा असन्तुष्ट थिइन्।
संयोगपनि कस्तो, जीवनभर प्रजातन्त्रका लागि संघर्ष गरेकी शैलजाको निधन भने प्रजातन्त्र हरण गर्ने राजा महेन्द्रकै जन्मदिनमा हुन पुगेको थियो। राजा महेन्द्र २९ जेठ १९७४ मा जन्मेका थिए। उनको निधन २०२८ माघ २८ मा चितवनमा भएको थियो।
मुलुकमा गणतन्त्र नआएको भए सम्भवतः दरवारले नै भव्यरुपमा उनको १ सयऔँ जन्मदिवस मनाउने व्यवस्था गर्दाे हो। त्यसैले, पञ्चायती व्यवस्थाको सूत्रपात गर्ने राजा महेन्द्र जन्मेको १ सय बर्ष पुगेको कुरा आम मानिसका लागि चासोको विषय बनेको छैन।
तर, राजतन्त्र पुनःस्थापनाको मुद्दा बोकेको कमल थापा नेतृत्वको राप्रपाले भने यसै अवसरमा आज राजधानीमा ‘राष्ट्रियता, विकास र अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा राजा महेन्द्रको व्यक्तित्व’ विषयमा प्रबचन गोष्ठी आयोजना गर्दैछ।नेपालखबर |